भारतको क्यासिनोदेखि मोडलिङसम्म छाउँदै हेरुका



रश्मी थापा

भारतको क्यासिनोदेखि नेपालको आधुनिक तथा मौलिक गीतका म्युजिक भिडियोमा मोडलिङ र नृत्य। देशदेखि विदेशका रंगमञ्चसम्म नृत्य प्रस्तुतिदेखि फिल्मी अभिनयसम्म। सानैदेखि नृत्यमा रुचि राख्ने मकवानपुरका हेरुका लामाले संगालेको अनुभव हो यो। ३२ वर्षीय मकवानपुरे ठिटो हेरुका १६ वर्षदेखि कलाकारिता क्षेत्रमा यसरी नै सक्रिय भएर लागिपरेका छन्। प्लस टुसम्मको अध्यन गरेका उनले कोरस डान्सरबाट आफ्नो करियर शुरू गरेका थिए। एक्सन हिरो निखिल उप्रेतिद्वारा निर्मित तथा दिनेश डीसीद्वारा निर्देशित फिल्म सावधानबाट कोरस डान्सरका रूपमा करियर शुरू गरेका हेरुकाले लोक तथा दोहोरी गीतमा पनि शुरूमा साइड डान्सरका रूपमा काम गरे। सहायक द्वन्द्व निर्देशकका रूपमा समेत काम गरेका हेरुकाले द्वन्द्व कलाकारिता र सहायक निर्देशनमै पनि करिब ८ वर्ष बिताए। एसएलसी सकेपश्चात् थप अध्ययन र कलाकारिता प्रवेशको सपना बुनेर मकवानपुरबाट काठमाडौं आएका उनी पारिवारक कारण भारत पुगे।

नेपालको क्यासिनोमा डान्सरका रूपमा काम गर्दागर्दै भारत लागेका उनले भारतको गोवास्थित गोवा क्यासिनो प्राइडमा ३ वर्षसम्म कोरियोग्राफर र डान्सरका रूपमा काम गरे। ‘कार्यक्रमका लागि अहिले पनि गोवा आउने जाने भइरहन्छ। तर अहिलेचाहिँ करियर निर्माणका लागि धेरैजसो यतै बसेर काम गरिरहेको छु। कमाइका हिसाबले हेर्ने हो भने उताको क्यासिनोबाटै राम्रो थियो। खान बस्नको राम्रो सुविधा हुन्थ्यो। ७० हजार रुपियाँ स्यालरी हुन्थ्यो’, हेरुका शेयर गर्छन्– ‘तर पनि म आफ्नो कला यात्रालाई स्वदेशबाटै बढाउँ भनेर धेरैजसो समय नेपालमै रहने गर्छु।’ गोवा बसाइँका क्रममा सुकविन्दर सिंहको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मौकासमेत पाएका रहेछन् उनले।

‘सुकविन्दर सिंहको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झन्छु। त्यो भिडियोमा सन्दीप भुजेल, रेणुका लामा बम्जन, लक्ष्मी प्रजापतिका साथमा बलिउड एक्ट्रेससँग काम गर्न पाउनु मेरा लागि ठूलो कुरा होे’ –उनले भने।
खास मोडलिङ यात्रा भने भारतबाट फर्केपछि शुरू गरेका उनले हालसम्म ४० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ र नृत्य गरेका छन्। रामचन्द्र काफ्ले र सुनिता गुरुङको पानी पानी, प्रमोद खरेलका आधुनिक गीतको साथमा अन्य सालैजु भाका, लोक दोहोरी, आधुनिक, पप गीतका म्युजिक भिडियोमा अभिनय, नृत्य र मोडलिङ गर्दै आएका उनले हालै एक फिल्ममा खलभूमिकामा अभिनयसमेत गरेका छन्। ‘मैले भर्खरै मात्र उफ यो मन नामक फिल्ममा नेगेटिभ एक्टरको भूमिका गरेको छु।

पछि गएर राम्रो एक्टर बन्ने सोच छ, हेरौं के हुन्छ। कलाकारिता क्षेत्र भनेको यस्तो हो कि शुरूमा आउनेलाई आफ्नो खल्तीबाट पैसा हालेर काम गर्नुपर्ने हुन्छ। राम्रो परिवारबाट आएकाहरूको लागि समस्या हुँदैन। तर हामीजस्तो मिडियम फ्यामलीबाट आएकाहरूले काम गर्दै आफ्नो लक्ष्यलाई पनि अगाडि लानुपर्ने हुन्छ’ –उनी भन्छन्।

कार्यक्रमका लागि हङकङ तथा दुबईको भ्रमण गरेका उनी फेरि कार्यक्रमकै सिलसिलामा केही समयका लागि दुबई जाँदैछन्।

प्रतिक्रिया दिनुहोस्