क्रिसमसलाई लक्षित गर्दै उत्तर कोरियामा रक्सी र गायन प्रतिबन्धित



सोल, (एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले इसाईहरूको महान् पर्व क्रिसमसलाई लक्षित गर्दै गाउने र पिउने कार्यमाथि नयाँ प्रतिबन्ध लगाएका छन्। किमले क्रिसमसविरुद्ध युद्ध नै छेड्ने हिसाबले रक्सी पिउँदै र गीत गाउँदै कतै जमघट गर्न नपाउने नियम बनाएका हुन्।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले यस पछिल्लो प्रतिबन्धबारे सार्वजनिक गरेको हो। सरकारी सूत्रबाट कुनै पनि सूचना चुहिन नदिने उद्देश्यले यो प्रतिबन्धको कदम उठाइएको बताइएको छ।

अन्तर्राष्ट्रिय जगतबाट अलग्एिको कम्युनिस्ट मुलुक उत्तर कोरियामाथि विवादास्पद आणविक हातहतियार विकास कार्यक्रमको कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्द्वारा नयाँ नाकाबन्दी लगाइएको थियो। विशेषज्ञहरूले यस प्रतिबन्धले आगामी दिनमा उत्तर कोरियाको अर्थतन्त्रमा नराम्रो असर पार्ने अनुमान गरेका छन्।

यद्यपि उत्तर कोरियामा क्रिसमसलाई ठूलो उत्सवका रूपमा मनाइने गरिँदैन। विगतमा केही इसाईमूलका नागरिकहरूले यसलाई पवित्र दिवसका रूपमा मनाउने गरेका थिए। किम जोङले उक्त परम्परालाई पनि गत वर्षदेखि औपचारिक रूपमा नै बन्द गर्ने आदेश दिएका थिए।

उनले बरु सम्पूर्ण जनताले क्रिसमसको दिन सन् १९१९ को २४ डिसेम्बरमा जन्मेकी आफ्नी हजुरआमाको जन्मदिनको उपलक्ष्यमा बिदा मनाउन आदेश दिएका थिए। किमले यसअघि पनि सिमापारी अर्थात् दक्षिण कोरियाबाट क्रिसमसको कुनै गन्ध नै नछिरोस् भनी विभिन्न प्रयास गर्ने गरेका थिए।

वर्षौंसम्म दक्षिण कोरियाले उत्तर कोरियाबाट देखिने गरी असैनिक क्षेत्रनजिकको एउटा पहाडमा ३० फुट अग्लो क्रिसमस रूख ठडइएर त्यसमा झिलिमिली बत्ती बाल्ने गरेको थियो। धेरै वर्षअघि त उत्तर कोरियामा यसरी कुनै पनि रूखमा बत्ती बाल्दा अप्रिय परिणाम निस्कने हल्लासमेत फिँजाइएको थियो।

प्रतिक्रिया दिनुहोस्