६२वर्षपछि नकआउटमा पाँच इंग्लिस टोली



लन्डन, (एजेन्सी)
जारी सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भइसकेको छ। केही साताअघि भएको समूह चरणका खेल समाप्तिपछि नकआउट चरणको ड्र सार्वजनिक गरिएको हो। जहाँ पाँच इंग्लिस टोलीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन्। यसपटक पाँच इंग्लिस क्लब नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। च्याम्पियन्स लिगमा ६२ वर्षपछि पाँच इंग्लिस टोलीले नकआउट चरण प्रवेश गरेको यो पहिलो अवसर हो। सन् १९५५ मा स्थापना भएको च्याम्पियन्स लिग प्रतियोगितामा यसअघि पाँच इंग्लिस टोली एकैसाथ नकआउटमा प्रवेश गरेका थिएनन्। समूह चरणको खेलमा इंग्लिस फुटबल क्लब लिभरपुलले रसियाको स्पार्टक मस्कोलाई ७–० को फराकिलो गोल अन्तरले हराएसँगै पाँच इंग्लिस टोलीको नकआउट यात्रा पक्का भएको हो।

चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपरले भने त्यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेका थिए। नकआउटमा छनोट भएका लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनह्याम समूह विजेता बनेका थिए। यस्तो समीकरण सन् २००६–०७ पछिको पहिलो नै हो।
समूह चरणमा लिभरपुल सर्वाधिक गोल गर्ने टोली बन्यो। लिभरपुलले ६ म्याचमा २३ गोल गरेको थियो। समग्रमा सर्वाधिक गोल गर्ने टोली भने पेरिस सेन्ट जर्मेन (पीएसजी) बन्यो। पीएसजीले २५ गोल गरेको छ।

च्याम्पियन्स लिगको नकआउट ड्र
गत साता जारी सिजनको यूएफा च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक गएिको थियो। अन्तिम १६ को ड्रअनुसार डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रतिद्वन्द्वी पाएको छ। यस्तै गरी अन्य इंग्लिस महारथीहरु म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले भने तुलनात्मकरूपमा कमजोर प्रतिद्वन्द्वी पाएका छन्। सिटीले स्विजरल्यान्डको एफसी बासेल, युनाइटेडले स्पेनको सेभिया तथा लिभरपुलले पोर्चुगलको एफसी पोर्टोविरुद्ध अन्तिम १६ मा खेल्नेछ।

यसै गरी अर्काे स्पेनिस महारथी बार्सिलोनाले भने इंग्लिस क्लब चेल्सीको सामना गर्ने पक्का हुँदा टोटनह्यामले इटालियन सिरी ए च्याम्पियन युभेन्टस्लाई प्रतिद्वन्द्वी पाएको छ। यसै गरी जर्मन क्लब वायर्न म्युनिखले टर्कीको बेसिक्टास तथा इटालियन क्लब रोमाले युक्रेनको शाख्तर डोनेस्कविरुद्ध खेल्नेछ।

२१ म्याचपछि सिटीको पहिलो हार
जारी सिजनको इंग्लिस प्रिमियर लिगमा १६ खेलमा अपराजित नै रहेको म्यानचेस्ट सिटीले सिजनकै पहिलो हार बेहारेको थियो। च्याम्पियन्स लिगको समूह चरणको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले जारी सिजनको पहिलो हार बेहोरेको हो। उक्त खेलमा सिटीलाई युक्रेनी क्लब शाख्तर डोनेत्सकले २–१ ले घुँडा टेकाएको थियो। २१ म्याचपछि सिटीले पहिलोपटक हारको स्वाद चाख्दा शाख्तारलाई भने उक्त परिणाम फलिफाप बन्यो। सिटीको पराजयले शाख्तर डोनेत्सकको नकआउट चरणमा ढोका खुलेको हो। यसअघि गत अप्रिलमा सम्पन्न एफए कपको सेमिफाइनलमा आर्सेनलसँग पराजित भएयता सिटी अपराजय बन्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्