कमजोर कांग्रेसलाई अवसर



दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी छ । प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अघि देखिएको छ भने नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निकै पछि परेको छ । सो पार्टीका ‘हेबी वेट नेताहरू’ रामचन्द्र पौडेल, डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, डा. शेखर कोइराला पराजित भएका छन् । नवीन्द्रराज जोशी, मोहन बस्नेत, बलबहादुर केसी, रामहरि खतिवडालगायतका युवा नेता पनि निर्वाचनमा पराजित बनेका छन् ।

यसअघिका विभिन्न निर्वाचनमा पटक–पटक दोस्रो दल बने पनि राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण मियो बनेको कांग्रेस इतिहासमा पहिलोपटक कमजोर बनेको छ । मुलुककै पहिलो संसदीय निर्वाचन २०१५ सालमा दुई तिहाइ बहुमत ल्याएर इतिहास रचेको सो दलको अवस्था यो निर्वाचनमा यति धेरै खस्किन्छ भन्ने अनुमान धेरैले गरेका थिएनन् । तर, अनुमानलाई गलत सावित गर्दै वामपन्थी गठबन्धनले दाबी गरे जसरी नै वर्षौं पुराना कांग्रेसका गढ तोडिएका छन् । मुलुककै पुरानो दल कांग्रेसको नेतृत्व इतिहासमा पहिलोपटक निकै कमजोर भएको छ ।

‘सुशासन र समृद्धिका लागि वामपन्थीको दिगो सरकार’ को नारा अघि सार्दै चुनावमा होमिएका एमाले र माओवादी नेतृत्वमा नयाँ सरकार गठन हुने प्रारम्भिक चुनावी नतिजाले पुष्टि गरेको छ । कांग्रेस प्रतिपक्षी भूमिकामा रहने निधो भएको छ । चुनावी परिणामले कांग्रेसलाई रचनात्मक, जिम्मेवार र सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्छ भन्ने पाठ सिकाएको छ । यस्तो भूमिका संसद्मा मात्रै होइन, सडक, मतदाता, कार्यकर्ता, पार्टीका शुभेच्छुकले पनि महसुस गराउन सक्नुपर्छ । वैचारिक दृष्टिकोणलाई समेत समय सापेक्ष परिस्कृत गर्दै अघि बढेको अवस्थामा मात्रै पुरानो र लोकतान्त्रिक पार्टीको परिपक्वता झल्किन्छ । अहिलेको निर्वाचनमा कांग्रेस असफल बन्ने कारणहरू धेरै छन् ।

त्योमध्ये पार्टीको कमजोर आन्तरिक संगठन पनि एक हो । कांग्रेसमा नेता हावी भएको र संगठन फितलो भएको भनेर पटक–पटक आलोचित हुँदै आएको थियो, त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभावसमेत अहिलेको निर्वाचनमा परेको छ । प्रायः निर्वाचन र महाधिवेशनको समयमा मात्रै स्थानीय तहमा पुग्ने सो दलका नेतालाई यो निर्वाचनले पार्टी संगठन सवल र बलियो बनाउनुपर्छ भन्ने पाठसमेत सिकाएको छ । सो दलको नेतृत्व, नेता सबैलाई प्रस्ट थाहा छ, पार्टीमा पुनर्संरचनाको खाँचो छ । तर, वर्षौंसम्म सत्ताको वरिपरि रहँदा यो कुरामा कांग्रेस नेतृत्व कहिल्यै गम्भीर भएन । त्यसैले पार्टीले त्यो मौका पाएको छ । बीपी कोइराला, गणेशमान र अन्य नेताको योगदान र गुणगान दोहोर्याएर मात्रै पार्टी पुरानो लयमा फर्कंदैन भन्नेमा वर्तमान पार्टी नेतृत्व र सो दलका नेताले मनन गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्