ब्याटिङ नचल्दा नेपाल पराजित



नेपाल समाचारपत्र
काठमाडौं
ब्याटिङ सशक्त नहुँदा नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा पनि पराजित भएको छ।

शुक्रबार अबु धाबीमा भएको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो खेलमा नेपाल ६३ रनले हारेको हो। डिभिजन २ मा घटुवा भइसकेको नेपालको यो च्याम्पियनसिपमा अन्तिम खेलसमेत थियो। नेपालको च्याम्पियनसिपमा यो नवौं हार थियो। नेपालले सोमपाल कामीको घातक बलिङको सहयोगमा घरेलु टोलीलाई १ सय ९५ रनमा रोकेको थियो। सोमपालले १० ओभरमा २७ रन दिएर पाँच विकेट लिएका थिए। तर अन्य बलर त्यति नचल्दा यूएईका सातौं नम्बरका ब्याटसम्यान अदनान मुफ्तीले १ सय ४ रन बनाइदिँदा लक्ष्य पनि बढेको थियो। लक्ष्य सहज भए पनि नेपालको ब्याटिङ दयनीय बनेको थियो। कुनै पनि विकेटमा ठूलो साझेदारी हुन सकेन र नेपाल १ सय ३२ रनमा अलआउट हुन पुग्यो। नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ४२ रन, विनोद भण्डारीले २५ रन र सागर पुनले २१ रन बनाए। तर भरोसामन्द ब्याटसम्यान कप्तान पारस खड्का १० रनमा र शरद् भेषवाकर १३ रनमा पवेलियन फर्कनु नै नेपाल हारतिर अग्रसर भएको थियो।

नेपाल र यूएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका हुन्। विश्वकपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ। जसका लागि नेपालले फेबु्रवरीमा डिभिजन २ मा खेल्नेछ। नामिबियामा हुने डिभिजन २ मा नेपालसहित यूएई, नामिबिया, केन्या, ओमान र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। यी छवटा टिममध्ये शीर्ष दुईमा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्