संविधान संशोधन र पहिचानका लागि उम्मेदवारी



विजयप्रकाश सैंजु
उम्मेदवार, काठमाडौं क्षेत्र नं. ७ ‘क’
राष्ट्रिय पार्टी

प्रदेशको ऐतिहासिक पृष्ठभूमि, सामाजिक वनोट र जातीय जनसंख्याको आधारमा त्यहाँको पहिचान र सभ्यता र इतिहासको सम्मान गर्दै पहिचानको जगेर्ना गर्ने उद्देश्यले प्रदेशसभातर्फ उम्मेदवारी दिएको विजयप्रकाश सैंजुले बताउनुभएको छ।

नेपाल समाचारपत्रसँग
कुराकानी गर्दै नेपाः राष्ट्रिय पार्टीका अध्यक्षसमेत रहनुभएका उम्मेदवार सैंजुले प्रदेशको भाषा, संस्कृति, कलाको संरक्षण र समतापूर्वक विकास गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो। ‘विकसित समुदाय संस्कृति र वातावरणमैत्री हुनुपर्दछ। सडक विस्तारको नाममा यहाँका बासिन्दा र सम्पदालाई अतिक्रमण गर्ने विकास चाहिएको होइन। समतामूलक संस्कृति र पर्यावरणमैत्री विकास चाहिएको हो। यसैका लागि मेरो उम्मेदवारी हो’, उहाँले भन्नुभयो– ‘कुनै पनि व्यवस्थाको स्थायीत्वका लागि समाजमा देखिएका विभेदको अन्त्य हुनुपर्दछ। सबै प्रकारको विभेदविरुद्ध संघर्षका रूपमा उम्मेदवारी दिएका छौं।’

आदिवासी, जनजाति, मधेसी, दलित समुदायको अधिकार सुनिश्चित गर्ने, प्रदेश नं. ३ मा नेपालभाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिलाउनुपर्ने पर्ने उहाँको भनाइ रहेको छ।

आर्थिक समृद्धिका लागि विभेदरहित समाज निर्माण गर्ने, स्वदेशमा नै रोजगारी सिर्जना गर्ने, कृषिमा आधारित अर्थतन्त्र निर्माण, चीन र भारतको आर्थिक पुलको रूपमा काम गर्ने राज्यको निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने मुख्य एजेन्डा रहेको पनि उम्मेदवार सैंजुको भनाइ रहेको छ।

वाम र लोकतन्त्रवादी मुलुकमा दुई दलीय अधिनायकवाद लाद्ने खतरा उत्पन्न भएको भन्दै त्यसविरुद्ध उभिएको पनि उहाँले बताउनुभयो। ठूला दलको गठबन्धनले विविध विचार र आस्थालाई निषेध गर्द खोजेको पनि उम्मेदवार सैंजुको आरोप रहेको छ। वाम र लोकतन्त्रवादी दुवै अलग–अलग विचारधाराको गठबन्धन भए तापनि आदिवासी जनजाति, मधेसीलगायत उत्पीडित समुदायको मुद्दाको सवालमा यी दुईवटै गठबन्धनको विचारमा खासै फरक नभएको पनि उहाँको धारणा रहेको छ। ‘यो गठबन्धनले दुई दलीय तानाशाह लाद्ने खतरा छ। बहुल जाति, बहुल विचार भएको मुलुकमा दुई वटा दलले मात्र शासन चलाउने भनेको अरू जाति र विचारलाई नष्ट पार्ने खतरनाक षड्यन्त्र हो’ –उहाँले भन्नुभयो।

हरेक प्रदेशमा भएको मौलिक पहिचानलाई जीवन्त राख्न र प्रदेशभित्रको स्वरलाई उँचो राख्नका लागि उम्मेदवारी दिएको पनि उहाँले जानकारी दिनुभयो। संविधान संशोधनमार्फत पहिचान, जातीय, भाषिक समानता सम्बोधन गर्ने
लक्ष्यका रहेको पनि उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्