करियरद्वारा उपाधि रक्षा



काठमाडौं, (नेस)
करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी १२औं फेकाकप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार उपाधिको रक्षा गरेको छ।

लगातार दोस्रोपटक उपाधि जित्ने क्रममा करियरले गोल्डेन बडलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराएको हो। फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएन (फेका) को आयोजनामा पेप्सीकोला टाउन प्लानिङ मैदानमा भएको फाइनल खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गर्नुपरेको थियो। यसअघि गोल्डेन बडका विजय थापा मगरले टोलीलाई अग्रता दिलाएका थिए। तर, करियरका सविन कोइरालाले गोल फर्काएपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो।

उपाधिसँगै करियरले २० हजार र गोल्डेन बडले १५ हजार नगद पुरस्कार प्राप्त गर्यो। त्यस्तै तेस्रो स्थानमा रहेको श्रमशीलले १० हजार रुपियाँ हासिल गरेको थियो। प्रतियोगितामा गोल्डेन बडका उमेश खत्री उत्कृष्ट खेलाडी चुनिए भने प्रतियोगिता अवधिभर ७ गोल गरेका हाइली क्रिएटिभका निरज कार्की सर्वाधिक गोलकर्ता बने। मंसिर ८ गतेदेखि शुरु भएको नकआउट प्रतियोगितामा २० टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्