गाउँको साबुन जापानमा लोकप्रिय



नेपाल समाचारपत्र
प्युठान
प्युठानको मरण्ठानास्थित झिमरुक हर्बल साबुन उद्योगले उत्पादन गरेको साबुन हाल जापान निर्यात भइरहेको छ। घरेलु तथा स्थानीय श्रोतसाधनको प्रयोग गरि बनाइने यो साबुन पछिल्लो केहि वर्षयता जापान निर्यात हुन थालेको हो।

प्युठानमा उत्पादित साबुन ललितपुरको महागुठीमार्फत् जापान पुर्याउने गरिएको छ। गाउँमै पाइने प्राकृतिक जडिबुटिबाट उत्पादन गरिएको साबुनले गाउँदेखि जापानसम्म बजार पाएको उद्योग सञ्चालिका दुर्गा केसीले बताउनुभयो। मरन्ठानाको गरिगाउँमा रहेको उद्योगले गाउँमै पाइने निम, घिउकुमारी, चिउरीको घिउ तथा तेल प्रयोग गरि साबुन बनाउने गरेको केसीको भनाई छ।

साबुन उत्पादनमा लाग्ने केस्टर तेल, जैविक सुगन्धित कस्टिक सोडाजस्ता केही आवश्यक कच्चा पदार्थ भने जिल्ला बाहिरवाट ल्याउने गरिएको छ। मानव स्वास्थ्यका लागि उपयोगी मानिने प्राकृतिक जडिबुटिबाट बन्ने उक्त सावुनको स्थानीय बजारमा समेत प्रयोग बढेको छ। साबुनले छालाको चाउरी, खस्रोपन, दाग, चाया हराउने र कपाल चम्किलो पार्नुका साथै नरम बनाउने भएकाले जापानमा माग बढेको उहाँको भनाई छ। यो साबुनबारे थाहा पाएर देश तथा विदेशबाट अवलोकनका लागि उद्योगमा आउने गरेका छन्। जापानीहरू ३–४ पटकसम्म आफ्नो उद्योगमा आएको उहाँले बताउनुभयो।

कक्षा आठ सम्म पढेकी केसीले २०५९ सालमा ४० हजारको लगानीमा साबुन उद्योग खोल्नुभएको थियो। शुरुमा लघुउद्यमको परामर्शमा तालिम लिएर उद्योग खोलेकी उहाँले जापानमा साबुन पुगेपछि उनीहरूकै सल्लाहमा अझै गुणस्तरिय उत्पादन गरिरहेको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्