पूर्वबोस्नियाली सर्व कमान्डर रात्कोलाई आजीवन कैद



सरायभो, (एजेन्सी)
नब्बे दशकमा बोस्नियाली युद्धको दौरान जातीय सफाया र अन्य हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोगमा पूर्वबोस्नियाली सर्व कमान्डर रात्को म्लादिकलाई बुधबार आजीवन कारावास सुनाइएको छ। ‘बोस्नियाको कसाही’को उपनामले समेत चिनिने रात्कोले सरायभो कब्जा गर्दा र सेव्रेनिकामा बोस्नियाली मुस्लिमहरूको आम संहार गर्दा फौजको नेतृत्व गरेका थिए।

नेदरल्यान्डको हेगस्थित संयुक्त राष्ट्रसंघीय न्यायालयमा उनीमाथि लगाइएका एघारमध्ये दसवटा अभियोग सावित भएको थियो। आफूविरुद्ध उक्त सजाय सुनाइँदा ७४ वर्षीय रात्को अदालतमा उपस्थित थिएनन्। न्यायाधीशहरूप्रति चिच्याएका कारण उनलाई अदालत कक्षबाट बाहिर पठाइएको थियो।

रात्को उच्च रक्तचाप पीडित रहेको भन्दै उनका सहयोगीहरूले कानुनी प्रक्रिया रोक्न गरेको अनुरोध ती न्यायाधीशहरूले अस्वीकार गरेका थिए। तर अदालतको कारबाही थाल्दा भने शान्त अवस्थामा रहेका उनले मुस्कुराउँदै उपस्थित पत्रकारहरूले तेर्साएका क्यामरातर्फ हेर्दै हात हलाएका थिए।

रात्कोले आफूविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गरेका थिए। उनी बोस्नियाली क्रोट र बोस्नियाक सेनाविरुद्धको बोस्नियाली सर्व फौजका कमान्डर रहेका थिए। उनलाई सन् १९९५ सेव्रेनिकाको आम नरसंहारमा महत्त्वपूर्ण संलग्नता रहेको ठहर गरिएको छ। दोस्रो विश्व युद्धयताको सबैभन्दा भयावह हिंसाको रूपमा लिइएको सो घटनामा ७ हजार जनाभन्दा बोस्नियाक पुरुष बालक मारिएका थिए।

तर उनलाई अन्य महानगरमा भएका आमहत्याको अभियोगमा भने सफाइ दिइएको छ। त्यसैगरी उनीविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको पनि अभियोग लगाइएको हो। १९९५ मा युद्धको अन्त्यतिर उनी परिवार र सुरक्षाफौजको सहयोगमा सर्वियामा भूमिगत हुन पुगेका थिए। उनलाई सन् २०११ मा सर्वियाको उत्तरी ग्रामीण क्षेत्रमा आफ्नो काकाको छोराको घरमा लुकिरहेको अवस्थामा गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्