छक्का पञ्जा २ ले मनायो ५१ दिन, ग्रस कलेक्सन १५ करोड रुपियाँ



विदुर गिरी

हास्य कलाकारहरुको निर्माण र सहभागितामा बनेको छक्का पञ्जा २ केही हिन्दीका साथ नेपाली फिल्मसँगै भिडन्त गर्दै अन्ततः प्रदर्शनको ५१ दिन मनाउन सफल भएको छ।

बलियो मानिएको हिन्दी फिल्म जुडुवा २ साथमा सँगसँगै चलेको नेपाली फिल्म मेरो पैसा खोइ तथा अन्य साता रिलिज भएका रुद्र प्रिया, ऐश्वर्यजस्ता फिल्मको व्यापारलाई उछिन्दै छक्का पञ्जा २ ले बिहीबार राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरको बिग सिनेमामा ५१ दिन मनाएको हो। बिग सिनेमा, गोपीकृष्ण मुभिज, गुण सिनेमा, अष्ट नारायण हलबाट यो फिल्मले ५१ दिन प्रदर्शनको रेकर्ड कायम गरेको छ। ५१ दिनसम्म पुग्दा छक्का पञ्जा २ ले १५ करोड रुपियाँ ग्रस कलेक्सन गरी नेपाली फिल्मको व्यापारका क्षेत्रमा दोस्रो ठूलो व्यापारको रेकर्ड कायम गर्न सफल भएको छ। नेपाली फिल्ममै सर्वाधिक व्यापार पनि यसको अघिल्लो संस्करण छक्का पञ्जाले गरेको थियो। डेब्यु फिल्मबाटै उत्कृष्ट निर्देशकीय क्षमता प्रस्तुत गरेकी दीपाश्री निरौलाद्वारा निर्देशित यसअघिको छक्का पञ्जाले १६ करोड रुपियाँ ग्रस कलेक्सन गरेको थियो भने सो फिल्मले प्रदर्शनको सय दिनको रेकर्ड कायम गरेको थियो।

फिल्मले ५१औं दिन मनाएको अवसरमा आयोजित कार्यक्रममा यसमा संलग्न कलाकार तथा प्राविधिकलाई मायाको चिनोका साथ सम्मान गरिएको छ। सोही अवसरमा एम्बुलेन्स प्रदान गर्ने घोषणा पनि गरिएको छ। यसअघि छक्का पञ्जाले सय दिन मनाउँदा पनि निर्माण संस्थाका तर्पmबाट सुटिङ गरिएको स्थल पनौतीलाई एम्बुलेन्स उपलब्ध गराइएको थियो। फिल्मका प्रमुख कलाकारमध्येका एक दीपकरा गिरीले यसपालिको सफलताको खुसियाली मनाउन पनि एम्बुलेन्स प्रदान गर्ने घोषणा गरे।

कार्यक्रममा बोल्दै गिरीले टिमवर्कका कारण छक्का पञ्जा २ प्रदर्शनको ५१ दिन मनाउन सफल भएको बताए। ‘यो टिमले बनाएको फिल्मले हाइट क्रियट गर्छ भन्छन्, तर यो हाइट यसै क्रियट भएको होइन।

हाम्रो टिमले लामो मेहनत गरेर यो सम्भव भएको हो। पहिलो हप्तामै १० करोड कलेक्सन गर्ने पहिलो फिल्म पनि छक्का पञ्जा २ बन्यो, यो सबै हाम्रो टिमवर्कले सम्भव भएको हो’, कार्यक्रममा बोल्दै दीपकले भने– ‘छ एकान छबाट शुरू भएको हाम्रो फिल्म निर्माण अहिलेसम्म आउँदा हामीले सबैको माया पाएका छौं। छक्का पञ्जा २ को जति क्रिटिसाइज भए पनि हामी एक ढिक्का भइरह्यौं।’ उनले सम्झँदै भने– ‘छ एकान छ बनाउँदा हिरो नभएको कमेडी फिल्म कसरी चल्ला र भन्ने सोचिन्थ्यो। त्यो फिल्म निर्माण गर्दा हामी दुःखको समयमा थियौं। तर आज खुसी मनाउन पायौं। दीपाजीलाई थ्याक्यु, सेकेन्ड फिल्म पनि राम्रो बनाइदिनुभयो। धेरैले सोध्ने गर्छन् दीपाजी नाम मात्रको डाइरेक्टर हो भनेर। तर उहाँ डमी डाइरेक्क्टर होइन, दीपाजी कमान्डिङ पावर र १२⁄१३ वर्ष टेलिभिजनमा गरेको कामको अनुभवले सफल हुनुभएको हो। उहाँ आपैmमा सफल डाइरेक्टर हो।’

त्यसै गरी ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यले छ एकान छबाट शुरू भएको फिल्म निर्माण वडा नम्बर छ हुँदै छक्का पञ्जा २ सम्म आइपुग्दा यो टिमसँग जोडिन पाएकामा खुसी व्यक्त गरे। हरिवंश मदनकृष्णका साथ मह सञ्चारबाट यो टिमका साथ शत्रु गते नामक फिल्म निर्माण गरिहेका छन्। उनले फिल्मका एक सशक्त पात्रका रूपमा देखिएका केदार घिमिरे ‘माग्ने बुढा’को प्रशंसामा ‘माग्ने बुढा होइन, पैसा कमाउने बुढा हो’ भन्दै थपे– ‘आगामी दिनमा नेपाली फिल्मले विदेशी फिल्मलाई विस्थापित गर्न सकोस्।’ त्यस्तै निर्देशक दीपाश्री निरौलाले फिल्म मन पराइदिएकामा धन्यवाद ज्ञापन गरिन्। ‘तपाईंहरूकै साथ र मायाका कारण आज हामीले यो सफलता पाएका हौं। तपाईंहरूकै कारण म राम्रो निर्देशक बनेको हँु। यस्तै साथ र माया पाएँ भने अर्को राम्रो फिल्म अवश्य बनाउनेछु।’ –दीपाश्रीले भनिन्।

सामीप्यराज तिमल्सेनाको कथा, दीपकराज गिरीको पटकथा र संवादले बलियो बनाएको फिल्म दीपक, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, बुद्धि तामाङ, स्वस्तीमा खड्का, लक्ष्मी गिरी, जयनन्द लामा, रवि शर्मा, आयुषमान जोशी, किरण केसी, टीका पहाडी, गौरव पहाडी, सरोज खनाल, विमला गिरी, राजाराम पौडेल, रवि डंगोल, कविता शर्मा, स्वरुपपुरुष ढकाललगायतको स्वाभाविक र सशक्त अभिनयका कारण दर्शकले मन पराएका छन्।

प्रतिक्रिया दिनुहोस्