यी हुन विश्वकप फुटबलमा सहभागी हुने ३२ राष्ट्रहरु



एजेन्सी, आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ राष्ट्रको टुंगो लागेको छ ।

बिहीबार बिहान भएको छनोट चरणको अन्तिम प्लेअफमा न्युजिल्याण्डलाई हराउँदै पेरु रुस विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बन्यो । अन्तरमहादेशीय प्ले अफको दोस्रो लेगको खेलमा पेरुले न्युजिल्याण्डमाथि २–० को जित निकाल्यो ।

पेरुको राजधानी लिमामा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेफर्सन फारफान र क्रिश्चियन रामोसले एक–एक गोल गरे । जितसँगै पेरु ल्याटिन अमेरिकी क्षेत्रबाट विश्वकपमा पुग्ने पाँचौं राष्ट्र बन्यो ।

पेरु दक्षिण अमेरिकी छनौटमा पाँचौं बन्दै विश्वकपको प्लेअफमा पुगेको थियो भने न्युजिल्याण्ड ओसियाना क्षेत्रको समूह विजेताको रुपमा प्लेअफमा पुगेको हो ।

यो सँगै आगामी विश्वकपमा पुग्ने ३२ राष्ट्रको टुंगो लागेको छ । यस पटक पनि सबैभन्दा बढी युरोपबाट १४ राष्ट्रले विश्वकपमा स्थान बनाएका छन् । युरोपबाट आयोजक रुससँगै इंग्ल्यान्ड, जर्मनी, स्पेन, फ्रान्स, क्रोएसिया, सर्विया, स्विडेन, डेनमार्क, आईसल्याण्ड, पोर्चुगल, पोल्याण्ड, बेल्जियम र स्विट्जरल्याण्ड विश्वकपकाम लागि छनौट भएका छन् ।

यसैगरी एसियाबाट पाँच राष्ट्र जापान, ईरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया विश्वकपका लागि छनौट भएका छन् भने दक्षिण अमेरिकाबाट पाँच राष्ट्र ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु विश्वकपमा पुगेका छन् ।

यसैगरी अफ्रिकाबाट ५ राष्ट्र नाईजेरिया, सेनेगल, ट्युनिसिया, मोरक्को र ईजिप्टले रुस विश्वकपको यात्रा तय गर्दा उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोष्टारिका र पानामा विश्वकपमा छानिएका छन् ।

यसपटक चार पटकको विश्वकप विजेता इटाली, युरोपको अर्को महत्वपूर्ण राष्ट्र नेदरल्याण्ड, उत्तर अमेरिकी क्षेत्रबाट अमेरिका, अफ्रिकाको बलियो राष्ट्र क्यामरुन, आइभरी कोस्टजस्ता राष्ट्र विश्वकपमा छनोट हुन सकेनन् । शुक्रबार विश्वकपको ड्र सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्