नेपालमा लगानी भित्त्याउन यूएई सकारात्मक



 

नेपाल समाचारपत्र
काठमाडौं
संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालको स्वास्थ्य, शिक्षा, व्यापार, पर्यटन, कृषि, वैकल्पिक ऊर्जा, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चासो व्यक्त गरेको छ। नेपालको प्राथमिकताका क्षेत्रमा लगानी गर्न सो मुलुक सकारात्मक बनेको हो। यूएईको भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटवार्ताका क्रममा त्यहाँका राजकुमार शेख मोहम्मद विन अल जाहेद नाहिदले नेपालमा लगानी बढाउन चासो व्यक्त गर्नुभएको हो। यूएईले गर्ने सहयोग, लगानी र नेपालका प्राथमिकता काठमाडौंमा छिटै बस्ने द्विपक्षीय संयन्त्रको बैठकले टुंगो लगाउन दुवै मुलुक सहमत भएका छन्।

सो भेटवार्ताका अवसरमा राजकुमार नाहिदले यूएईमा रहेका नेपाली कामदारको लगनशीलता र मेहनतको प्रशंसा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीले पनि सो मुलुकको आधुनिक विकासमा नेपालीको योगदान रहेको स्मरण गराउनुभएको थियो। सोही अवसरमा राष्ट्रपति भण्डारीले राजकुमार नाहिदलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो।

उहाँहरूबीच दुवै मुलुकको आपसी हित, नेपालको पछिल्लो राजनीतिक अवस्था, राजनीतिमा महिला सहभागिता जस्ता विविध विषयमा छलफल भएको बताइएको छ। राजकुमार नाहिद एवं सो मुलुकका सशस्त्र बलका नायव सर्वोच्च कमान्डर नाहिदको औपचारिक निमन्त्रणमा राष्ट्रपति भण्डारी सोमबार सो मुलुकको भ्रमणमा जानुभएको हो। यो उच्चस्तरीय भ्रमण नेपाल–यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भएको अवसरमा भएको हो। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीसँगसमेत साक्षात्कार गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्