निर्वाचन आयोग अझै चनाखो बनोस्



देशैभरि निर्वाचनको माहोल निकै तातिएको छ। माहोल तातिएसँगै अब निर्वाचन आचारसंहिता उल्लंघनका चर्चा–परिचर्चा पनि शुरु भएका छन्। निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउनुपर्ने सबैको दायित्व बराबर रहेको भन्दै निर्वाचन आयोगले पटक–पटक सजग बनाएको छ।

अन्य समयभन्दा यसपालिको निर्वाचनलाई अलि विशेषरुपमा हेरिएको छ। विभिन्न गठबन्धनसँगै वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनावी चर्चा देशैभर रहेझैँ दैलेखमा पनि यसको चर्चा निकै बढेको छ। चुनावका बेलामा हुने सानातिना समस्यालाई विशेष गरेर ठूला दलहरुले समझदारी कायम गर्ने वातावरण तयार गर्न सके चुनावमा अझै शान्ति कायम हुनसक्छ।निर्वाचन आयोगले निर्माण गरेको आचारसंहितामा गाडी वा मोटरसाइकल प्रयोगमा देखिने तामझामलाई नियन्त्रण गर्ने अभियानसँगै कोटा निर्धारण गरिदिएको छ। यति मात्र हैन, उम्मेदवारी दर्ताका बेलामा हरेक उम्मेदवारले सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेजस्ता धेरै कुरा उल्लेख गरिएको छ। देश र जनताका लागि काम गर्छु भनेर मैदानमा होमिएका नेताहरुले कत्तिको आचारसहिंता पालना गर्नेहुन्, त्यो भने हेर्न बाँकी नै छ। यो विषयमा आयोग अझै चनाखो बन्नु जरुरी छ।

– सिर्जना शाक्य, ललितपुर
पुष्करलाल श्रेष्ठको लेखले मन छोयो
‘राजनीति नीच व्यक्तिको अन्तिम आश्रय स्थल’ शीर्षकमा पुष्करलाल श्रेष्ठले लेखेको लेख अर्थात् उहाँको विचारले मेरो मन छोयो। मलाई निकै घत लाग्यो। त्यो वास्तविकतालाई उतारिएको अक्षरमा डुबुल्की मार्दा साँच्चै देश र यहाँका दलको चरित्र उदाङ्गो भएको छ। केही इमानदार नेतृत्व पनि उनीहरुसँगै मुछिएका छन् भने केही त्यो भीडमा च्यापिएर हराइरहेका छन्। उनीहरु यति बेला गुमनाम छन्। उनीहरुलाई पर्दापछाडि पारिएको छ।

वि.सं. २०३० असारमा सिंहदरबारमा आगलागी भएपछि नैतिकताका कारण प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए। राजा वीरेन्द्रसमक्ष त्यो राजीनामा पुगेपछि राजाले आश्चर्यचकित हुँदै प्रधानमन्त्री विष्टलाई राजीनामाबारे प्रश्न गर्दा विष्टको जवाफ यस्तो थियो– ‘राष्ट्रको जिम्मेवारी लिएर पदमा बसेको मानिस जनताप्रति जिम्मेवार हुन जान्नुपर्छ सरकार। मुलुक चलाउने ठाउँ नै जलेपछि नैतिकताका कारण म यो पदमा बस्न अयोग्य भैसकेको छु।’ उहाँले आफ्नो भनाइमा राखेको मर्मस्पर्शी यो विचारले साँच्चै कसको मन नछोला र ? अहिले सत्ताका लागि मरिहत्ते गर्नेले यो कहिले बुझ्ने ? कहिले मनन गर्ने ? निकै गम्भीर कुरा छ यो समयमा।

नेपालमा छुट्टै क्रान्ति ल्याउने भनेर बन्दुक बोकेको माओवादी पनि सत्ताका लागि कतिसम्म गिर्दो रहेछ भन्ने हाम्रा सामु छ। यसले जनतामा जुन आए पनि उस्तै भन्ने भान भएको छ। नैतिकवान् नेतृत्व नहुँदा र भएकाहरु पर्दापछाडि भएर केही गर्न नसक्दा यो देशको अवस्था के हुने हो ? चिन्ता लागेर आउँछ।

मुलुकमा हुने हरेक चुनावअघि आफ्नो पदबाट राजीनामा दिएर चुनावमा होमिने तथा लामो समयदेखि नेपालमा रहँदै आएको भारतीय सैनिक चेकपोस्ट र सैनिक मिसन हटाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रवादी नेता पूर्वप्रधानमन्त्री विष्टको शनिबार बिहान निधन हुँदा उनलाई सरकारबाट कुनै राजकीय सम्मान नदिई बिदा गरिएको कुरा पनि उहाँले आफ्नो विचारमा राख्नुभएको रहेछ। पक्कै पनि मुलुकमा तीन–तीनपटक प्रधानमन्त्री भइसकेका स्वर्गीय विष्टको शवयात्रा र दाहसंस्कार एकजना साधारण मान्छेको जस्तै अत्यन्त सादगीपूर्ण नै भएको थियो। हिजो नेपाल एकीकरण गर्ने राष्ट्र निर्माताको शालिक ढाल्नेहरुले यतिसम्म गर्नुलाई खासै ठूलो त मैले मानेको छैन। तर भोलि अर्को राज्य व्यवस्था आएमा यिनी पनि त्यति बेला राष्ट्रघाती भएर कलंकित हुनु नपरोस् भन्ने मात्र हो। परिवर्तन समयसँगै हुने कुरा हो। कुन समयमा कुन शासन उत्तम भन्ने कुराले पनि ठूलै हेक्का राख्ने गर्छ। यो विषयमा यहाँका दलले सोच्नै जरुरी छ। यसरी सबैलाई जे मन लाग्यो त्यही गर्ने हो भने, यसले उनीरुलाई नै घात गर्ने निश्चित छ। ठण्डा दिमाग लगाऊँ। नेतृत्वलाई मेरो सोनो सुझाव मात्रै।

– रविशरण आचार्य, भक्तपुर
चुनावमा दल फेर्ने किन बढ्छन् ?
नेपालमा निर्वाचनका बेला होस् या दलहरुका भेला, सभा वा कुनै कार्यक्रममा नै किन नहोस्, फरक आस्था र विचार राख्ने भनिएकाबाट राजनीतिक दल नै फेर्ने प्रवृत्ति बढिरहेको छ। राजनीतिक संक्रमण र दलहरुका स्वार्थले गर्दा राजनीतिप्रति आमबुझाइ र मान्यता नै नकारात्मक बन्दै गएको छ। पछिल्लो समय नागरिकमा राजनीतिक चेतना जागृत हुँदै आए पनि दलका कतिपय पात्रका कारण वितृष्णा बन्न पुगेको छ। दल बदल्नु भनेको आफ्नो निष्ठा, आदर्श र मूल्यमान्यतालाई बलि चढाउनु हो, आफूले आर्जन गरेको राजनीतिक छविलाई तिलाञ्जली दिनु हो। तर, निर्वाचनको मुखमा आएर नेपालका केही दल अर्को दलमा विलय भएका छन् भने व्यक्तिगतरुपमा एउटा दल छाडेर अर्को दलमा रातारात प्रवेश गर्नेहरुको संख्या पनि कम छैन। यस्तो प्रवृत्तिले गर्दा व्यक्तिगत साख गुम्नुको साथै प्रवेश गरेको दलमा पनि विश्वास आर्जन गर्न कठिन भएका दृष्टान्त छन्।

नेपालमा जोसुकैलाई कुनै पनि दलमा प्रवेश गर्ने, उसका मूल्यमान्यता र नीति अंगिकार गर्ने छुट छ। तर, छेपारोले रंग फेरेजस्तो होइन दल फेर्ने कुरा। यसले नागरिकको विश्वास टुट्नुका साथै वितृष्णासमेत पैदा गर्दछ। नेपालमा छेपारे प्रवृत्ति देखाउने व्यक्तिहरु थुप्रै छन्। विजयकुमार गच्छदार सत्तामा छाइरहने एक पात्र हुन्। उनी फोरम लोकतान्त्रिक, कांग्रेस, फोरम हुँदै पुनः कांग्रेसमा प्रवेश गरे। साथै मधेसका अनेकौ व्यक्तिहरु आफू संलग्न दल छाडेर अर्को दलमा समाहित भएका छन्। दल बदल्नेहरु विनास्वार्थ अर्को दलमा प्रवेश गरेको उदाहरण कहीँ छैन।

यस्ता छेपारे प्रवृत्तिले गर्दा नै व्यक्तिले निष्ठा र आदर्शको राजनीति छाड्दै गएको भन्न कन्जुस्याइँ गर्नुपर्दैन। दल फेर्नेहरुको भीडमा एउटा यस्ता पात्र थपिएका छन्, जो चितवनका हार्डलाइनर पञ्च अर्थात् राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना हुन्। उनी ३१ जना कार्यकर्तासहित माओवादी केन्द्रमा प्रवेश गरे पनि चितवन तरंगित भएको छैन। यसले ‘प्रोपोगान्डा’ बाहेक कुनै सन्देश सिर्जना गरेको पनि छैन।

स्मरणीय छ, छिमेकी भारतमा यस्तो प्रवृत्तिलाई ‘आयाराम गयाराम’ भनेर चित्रण गरिन्छ। अवसर र क्षणिक लाभका लागि आफ्नो आदर्शबाट विचलित हुने प्रवृत्ति पक्कै पनि घातक हुन्छ। राजनीतिक विचलनले अवसरवादी चरित्र निर्माण हुन्छ, जुन समाज र राष्ट्रका लागि घातक हुनसक्छ। व्यक्तिका लागि त अभिशाप नै बन्ने कुरामा कुनै द्विविधा छैन।
– प्रशान्त शर्मा, उदयपुर

प्रतिक्रिया दिनुहोस्