क्युबा यात्रा गर्ने अमेरिकी नागरिकमाथि नयाँ प्रतिबन्ध



वासिङ्टन, (एजेन्सी)
अमेरिकाले आफ्ना नागरिकहरूलाई क्युबासँगको व्यापारलाई लिएर नयाँ प्रतिबन्ध लगाएको छ। यस प्रतिबन्धले अमेरिकी नागरिकलाई क्युबाको सरकारी कम्पनी वा संस्थानसँगको व्यापारमाथि रोक लगाएको छ। यसमा सरकार सञ्चालित होटल र पसलहरू पनि परेका छन्। अब अमेरिकी नागरिक व्यवस्थित पर्यटक समूहसँग मात्र क्युबा भ्रमण गर्न सक्नेछ।

उक्त नयाँ कदम पूर्वराष्ट्रपति बाराक ओबामाको क्युबासँग सम्बन्ध विस्तार गर्ने नीति फिर्ता लिने ट्रम्प सरकारको नीतिअन्तर्गत रहेको जनाइएको छ। गत जुनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको मामिलामा ओबामा प्रशासनको नीतिहरू निस्तेज पार्ने बताएका थिए।

अधिकारीहरूले नयाँ प्रतिबन्ध हवानामा अमेरिकी दूतावासका अधिकारीहरूमाथि भएका सैनिक हमलासँग कुनै सम्बन्ध नरहेको बताएका छन्। यस घटनालाई लिएर अमेरिका र क्युबाको सम्बन्ध पूर्वराष्ट्रपति जर्ज बुसको कार्यकालपछि सबैभन्दा खराब स्थितिमा पुगेको बताइएको छ। अमेरिकी प्रशासनका तर्फबाट जारी नयाँ नियम बिहीबारदेखि लागू हुने जनाइएको छ। सरकारका तर्फबाट जारी विज्ञप्तिमा उक्त प्रतिबन्धको उद्देश्य ‘अमेरिकीहरूलाई क्युबा जानका लागि आधिकारिक यात्रा गर्न प्रोत्साहित गर्नु र क्युबाको निजी क्षेत्र तथा साना उद्योगीहरूलाई मद्दत गर्नु’ रहेको उल्लेख गरेको छ।

नयाँ नियमअन्तर्गत अमेरिकी नागरिकले क्युबाका १ सय ८० सरकारी तथा सैन्य स्वामित्वमा रहेका कम्पनीहरूसँग व्यापार गर्न पाउनेछैनन्। यसमा कयौं ठूला होटल, बुटिक, ट्राभल्स एजेन्सीहरू र दुई ठूला रम डिस्टिलरी परेका छन्। अब क्युबा घुम्न जाने अमेरिकी नागरिक क्युबाका परिवारसँग बस्न पाउने छैन। यस प्रकारको सुविधा अमेरिकी न्यायक्षेत्रमा पर्ने संस्थानका तर्फबाट आयोजित यात्राका क्रममा संस्थानका सदस्यलाई मात्र उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्