नेपाली मिलमा भारतीयको भीड



मौर्यको मिलमा गहुँ पिसानी हुँदै । तस्बिर: कुमार श्रेष्ठ/बाँके

नेपाल समाचारपत्र, बाँके । भारत मनोरियाका बाबादिन यादव तीन किलोमिटर टाढाबाट गहुँ मिसाउन हिरमिनियाको कालाबन्जारस्थित राधेश्याम मौर्यको मिलमा आए । भारतले दशगजामा बनाएको सडकजस्तो बाँध भएर साइकलमा आएका यादव गहुँ पिसाएर फर्किए ।
मौर्यको मिल दशगजाछेउमै रहेको छ । मिलमा भारतीय किसानमात्रै सेवा लिन आउँछन् । यसले मौर्यको व्यवसाय पनि राम्रो चलेको छ । मौर्यको घरदेखि एक किलोमिटर टाढा नेपालीबस्ती भंघोट्ना गाउँ रहेको छ । भंघोट्नामा दुई वटा मिल छन् । ‘एउटा मिल हुँदासम्म यताका मान्छे पनि आउँथे, अहिले त गाउँमै दुई वटा मिल छ । उनीहरु आउँदैनन्, मौर्यले भन्नुभयो, मेरो मिल त भारतीय किसानले चलाइदिएका छन् ।’
भारतले सीमानामा सडकजस्तो बाँध निर्माण गर्दाको शुरुवात दुई वर्षसम्म घर, मिल डुवानमा परेर मौर्य पीडित बनेका थिए । तर पनि मौर्यले व्यवसाय छोडेनन् । न त घर नै अन्तै सारे । दशगजामा एक्लो रहेको मौर्यको मिलमा भारतीय किसानको चापले राम्रो आम्दानी दिएको छ ।
मौर्यको मिलमा ५÷६ किलोमिटर टाढा रहेको भारतीय चर्दागाउँबाट समेत किसानहरु गहुँ पिसाउन आउने गर्दछन् । भारतीय नरैनापुर, लक्ष्मणपुर, निमनगरा, बन्जेरियागाउँबाट किसानहरु मौर्यको मिलमा आउँछन् । नेपाली मिलमा आउँदा भारतीय किसानलाई सस्तो पर्छ । प्रतिकिलो दुई रुपैया भारतीयमा उता गहुँ पिसाइन्छ भने यता प्रतिकिलो दुई रुपैया नेपाली पर्छ । ‘एउटा त नेपालमा सस्तो पर्छ, अर्को उता बत्ती नभएर गहुँ पिसाउन मिलले गाह्रो मान्छन्, भारतीय किसान यादवले भन्नुभयो ।
मौर्यको मिलमा दैनिक ५ क्वीन्टलबढी गहुँ पिसानी हुन्छ । प्रतिक्वीन्टल दुई सय रुपैया लाग्छ । उक्त मिलमा भारतीय किसानहरु धान कुटाउन भने कम आउँछन् । ‘गहुँ जत्ति धान कुटाउन आइदिए त मेरो कमाई धेरै राम्रो हुन्थ्यो, मौर्यले भन्नुभयो, गहुँमा त्यति फाइदा हुँदैन, तैपनि चलेकै छ ।’
दशगजामा रहेको मौर्यको मिलले भारतीय किसानलाई सुविधा भएको छ भने उनको पनि व्यवसाय राम्ररी चलेको छ । उपचार र किनमेलका नाममा दैनिक लाखौं रुपैया भारतमा गइरहेका बेलामा मौर्यले थोरै भएपनि भारतीय पैसा नेपाल भित्र्याएका छन् । भारतीय किसानको चापले गर्दा मौर्यको मिलमा भारतीय रुपैया नै आउने गर्दछ । ‘भारु चाहिएमा तपाईकहाँ आउनुपर्ला, मौर्यले जवाफ दिनुभयो, थोरै–थोरै हुन्छ, आउनु होला ।’
कालाबन्जार डुडुवा गाउँपालिकाको वडा नं. ६ हिरमिनियाअन्तर्गत पर्छ । भारतले कलकलवा तटबन्धलाई पश्चिमतिर सडकजस्तो बाँधको रुपमा बिस्तार गरेपछि हिरमिनिया डुवानको चपेटामा परेको छ ।  दशगजामा एक्लो घर रहेपनि मौर्य परिवारलाई सुरक्षा चुनौती छैन । उनको घर अगाडि नै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोष्ट रहेको छ । ‘लुटपाट, चोरीजस्ता समस्या छैन, भारतले बनाएको सीमाजस्तो सडकले वर्षामा डुवानमा पार्छ कि भन्ने डरमात्रै छ, मौर्यले भन्नुभयो, घर नजिकै तीन वटा कल्भर्ट बनेपछि डर कम भएको छ ।’

प्रतिक्रिया दिनुहोस्