एनआरएनएको आठौं विश्व सम्मेलन शुरू, थप लगानी भित्र्याउनुपर्नेमा जोड



 

नेपाल समाचारपत्र
काठमाडौं
गैरआवसीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन शनिबारदेखि राजधानीमा शुरू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गर्दै राष्ट्र निर्माणमा सबै गैरआवासीय नेपालीको साथ सहयोग र लगानी गर्न अनुरोध गर्नुभयो।

गैरआवासीय नेपाली संघले विकासका लागि सारथी भएर अगाडि बढिरहेको र आउने दिनमा थप लगानीको अपेक्षा राख्नुभयो। उहाँले नेपालसँगको एनआरएनएको नाता भावनात्मक मात्र नभए रगत र मातृभूमिप्रतिको सम्बन्ध भएकाले आफ्ना सन्तानलाई रीतिरिवाज र भाषा सिकाएर नेपालप्रतिको सम्बन्ध सधैं कायम राख्न आग्रह गर्नुभयो। राष्ट्रपतिले विश्वमा छरिएर रहेका नेपालीलाई एकै समूहमा गठबन्धन गर्न संस्थाको ठूलो भूमिका रहेको बताउनुभयो।

अपार सम्भावनाको अवस्था रहेकाले कृषि, पर्यटन, ऊर्जा, शिक्षा स्वास्थ्य, पूर्वाधारमा नेपालको प्रचारप्रसार गरेर पर्याप्त लगानी गर्न समेत आग्रह गर्नुभयो। सम्मेलनमा भाग लिनका लागि विश्वका ७७ राष्ट्रमा रहेका गैरआवासीय नेपालीे उपस्थित भएका छन्।

राष्ट्रपति भण्डारीले भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवम् पुनर्निर्माणमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले एनआरएनमा भएको ज्ञान सीप र पुँजीलाई नेपालमा भित्र्याएर देश निर्माणको गतिमा टेवा पुर्याउन अनुरोध गर्नुभयो। मन्त्री महराले सरकार लगानीमैत्री वातावरण बनाउन तयार रहेकाले लगानी बढाउन जोड दिनुभयो।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले लगानीमैत्री वातावरण बनाएर एनआरएनएसँग सहकार्य गरी लगानी भित्र्याउनु पर्नेमा जोड दिनुभयो। राणाले एनआरएनएसँग सहकार्य गरी उद्योग स्थापना गरेर रोजगार सिर्जना गरी युवा पलायनलाई रोक्नुपर्ने बताउनुभयो।

एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले बाध्यता र अवसरको खोजी गर्दै संसारको जुनसुकै कुनामा भए पनि मातृभूमिको माया सधैं हुने भएकाले उचित वातावरण भए आफूहरू लगानी गर्न तत्पर रहेको बताउनुभयो। लामिछानेले एनआरएनएसँग भएको क्षमताअनुसारको साधन स्रोत लगाएर राष्ट्र निर्माणमा सबै तयार रहेको बताउनुभयो।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनएमा कुनै गुट उपगुट नरहेकाले सबैको साझा उद्देश्य संसारभर रहेका नेपालीले मातृभूमि समृद्ध देख्न चाहेको बताउनुभयो। देशलाई उत्पादनशील बनाएर आयातमुखीभन्दा निर्यातमुखी बन्नुपर्नेमा जोड दिनुभयो। पूर्वअध्यक्ष देवमान हिराचनले देश राजनीति परिर्वतन भए पनि विकास निर्माणले गति लिन नसकेकाले सबैलाई परिस्कृत भएर काम गर्नुपर्ने बताउनुभयो।
उक्त कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले मिनी राष्ट्र संघ बनाउने अठोट रहेको बताउनुभयो। अध्यक्ष घलेले ७० हजार नेपाली सदस्य रहेको एनआरएनएमा संघले राख्दै आएको मुद्दा दोहोरो नागरिकता र खुला विश्वविद्यालयको माग यथावत रहेको बताउनुभयो। वैदेशिक लगानी आकर्षित गर्ने गरीे नीतिहरु परिमार्जन गर्न सकेको खण्डमा हौसलाका साथ लगानी गर्ने बताउनुभयो। संस्थालाई रूपान्तरण गरेर महिला, युवाहरुको समावेशी समतामूलक बनाउने काममा केन्द्रित भएको उहाँको धारणा थियो।

मंगलबारसम्म चल्ने सम्मेलनमा उपाध्यक्षमा भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ। नेतृत्व छनोटका लागि विश्वका ७७ देशबाट करिब दुई हजार प्रतिनिधि नेपाल आएका छन्।

व्यवस्थापन झुर प्रतिनिधि आक्रोशित

काठमाडौं, (नेस)
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा व्यवस्थापकीय पक्ष कमजोर देखिएको छ। सम्मेलनमा भाग लिन आएका प्रतिनिधिलाई समयमा व्यवस्थापन गर्न नसक्दा आयोजनास्थल हयात होटेलमा केही बेर तनावको स्थिति सिर्जना भएको थियो।

दुई दिनसम्म घण्टौ लाइनमा बस्दा समेत आफ्नो सदस्यता कार्ड नपाएको भन्दै केही प्रतिनिधिहरुले आक्रोश पोख्न थालेपछि धकेला धकेलको स्थिति सिर्जना भएको थियो। सहभागीहरु आक्रशित भएपछि कुटाकुटको अवस्था सिर्जना हुन नदिन प्रहरी र केही उम्मेदवारले उनीहरुलाई सम्झाई बुझाई गरेका थिए। व्यक्तिको नाममा प्राविधिक गल्ती भएका कारणले भनाभनको स्थिति सिर्जना भएको सहभागीले जनाएका छन्। नामकै विषयमा विवाद देखिएपछि चर्को घाममा लामो लाइन लागेका प्रतिनिधिहरुले आक्रोश पोखेका थिए।

व्यवस्थापनमा पर्याप्त कर्मचारीको अभाव तथा सहभागी सदस्यहरु अन्तिम समयमा नाम दर्ता गर्न आउँदा व्यवस्थापन गर्न गाह्रो भएको एनआरएनए सिनियर प्रोग्राम अफिसर अनिल ढुंगानाले बताउनुभयो। सम्मेलन व्यवस्थापनको जिम्मा इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई दिइएको छ भने एनआरएनए आवद्ध स्वयम्सेवकहरु पनि खटिएका छन। सम्मेलनमा भाग लिन आएका करिब २ हजार प्रतिनिधिको व्यवस्थापन नहुँदा सहभागी आक्रोशित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्