करिब दुई सय उद्योग थपिए



 

हेटौंडा, (नेस)
मकवानपुरमा पछिल्लो समय उद्योग तथा व्यवसाय दर्ता गराउनेको संख्यामा वृद्धि भएको छ। घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७२⁄७३ मा घरेलु उद्योग तथा वाणिज्यतर्फ गरी ५ सय ७८ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७३⁄७४ मा ७ सय ५६ वटा उद्योग दर्ता भएको पाइएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय ७८ वटा उद्योग बढी दर्ता भएको देखिन्छ। ‘उद्योग दर्ता क्रम बढेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ,’ कार्यालयका प्रमुख नारायणप्रसाद खनालले भन्नुभयो–‘कार्यालयले आर्थिक वर्ष २०७२⁄७३ मा १ करोड १५ लाख रुपियाँ राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७३⁄७४ मा करिब १ करोड ५८ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयमार्फत् प्रदान गरिने उद्योग दर्ता, व्यापार–व्यवसाय दर्ता, नवीकरण, नामसारी, ठाउँसारीलगायत प्रशासनिक सेवाबाट राजस्व संकलन भएको खनालले बताउनुभयो। ‘घरेलु तथा साना उद्योग कार्यालयमा लघुवित्त उद्योग १ सय २३ वटा, घरेलु उद्योग ३५ वटा र सानाउद्योग दर्ता ४ हजार ९ सय ५८ गरी ४ हजार ९ सय ९३ वटा दर्तामा छन्। उहाँले भन्नुभयो–‘आर्थिक वर्ष २०७३⁄०७४ मा घरेलुतर्फ ६ सय ४७ वटा नवीकरण, ३२ वटा नामसारी, २७ वटा ठाउँसारी भएको छ भने ३९ वटा खारेज भएको छ भने २९ वटा प्रतिलिपि रहेको छन्।

वाणिज्यतर्फ नवीकरण संख्या ९ सय १६ वटा, नामसारी १ सय ३ वटा, ठाउँसारी ५१ वटा, उद्देश्य थप ६४ वटा र १ सय १३ वटा खारेजी भएको छ। वाणिज्य फर्म पुँजी वृद्धि ५ सय ४ वटा छन्। चालू आर्थिक वर्षमा तीनवटा कार्यक्रममध्ये एउटामात्र कार्यक्रम घरेलु तथा साना उद्योग विकासबाट आएको उहाँले बताउनुभयो। आर्थिक वर्ष २०७३⁄७४ मा कार्यालयमा चालू खर्चअन्तर्गत् भएका कार्यक्रमहरु सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम, युवा उद्यमशीलता विकास तथा औद्योगिक जनशक्ति सिर्जना, सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन भएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्