निर्वाचन तोकिएकै मितिमा गरियोस्



 

संविधान कार्यान्वयनअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएर सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुटेको छ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवार छनोट र सिफारिस गरिरहेका छन् । मुलुकभर एकै पटक हुने यस निर्वाचनमा सबै राजनीतिक दलहरु होमिएका छन् । निर्वाचनप्रति कुनै पनि राजनीतिक दलहरुले असहमति राखेका छैनन् । निर्वाचन आयोगले चुनावको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । सबै तयारीमा जुटिसकेको यस अवस्थामा चुनावको कार्यतालिका हेरफेर गर्नुपर्ने आवश्यकता देखिँदैन ।

राजनीतिक दलहरुले प्रत्यक्षसँगै समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न पनि गृहकार्य तीव्र बनाएका छन् । निर्वाचनको कार्यतालिका नै सार्वजनिक गरेको अवस्थामा सरकारले निर्वाचन सार्ने तयारी गरेपछि तोकिएकै मितिमा निर्वाचन नहुने हो कि भन्ने आशका पनि जन्माएको छ । निर्वाचनमा जीत र हार हुन्छ नै । जीत–हारको परिणाम निर्वाचनपछि मात्र आउँछ । जुन परिणामलाई लोकतान्त्रिक दलहरुले स्वीकार पनि गर्नुपर्छ । राजनीतिक दलहरुले आ–आफूले जित्ने दाबी गर्नु अस्वाभाविक होइन । राजनीतिक दलहरुको मूल्याङ्कन निर्वाचनबाट नै हुन्छ । अतः निर्वाचनबाट भाग्ने र निर्वाचन सार्ने खेल देश र जनताको हितमा हुँदैन ।

निर्वाचनलाई जोड–घटाउको रुपमा हेर्नुभन्दा पनि समग्र देशको हितलाई केन्द्रमा राखेर हेर्नुपर्छ । घोषणा भएकै मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको दायित्व र कर्तव्य हो । जनताको चाहना र भावनामाथि खेलबाड गर्नुहुँदैन । निर्वाचनमार्फत देश समृद्धिको बाटोमा अगाडि बढ्दै छ । संवैधानिक व्यवस्थाअनुसार पनि तोकिएकै समयसीमाभित्र निर्वाचन सम्पन्न गराउनुको अर्को विकल्प छैन । त्यसैले सरकारले निर्वाचनको मिति सार्ने विषयमा सोच्नुहुँदैन । निर्वाचनका क्रममा हुने तालमेलकै कारण निर्वाचनको मिति परिवर्तन गर्नु घातक हुन्छ ।

सबै राजनीतिक दलहरु निर्वाचनमा जुटेका छन् । निर्वाचनमार्फत देशले विकासको गति लिने अपेक्षासहित आमजनता आफ्ना जनप्रतिनिधिहरु चुन्न आतुर रहेको अवस्थामा निर्वाचनको मिति परिवर्तन गर्नु सरकारको कायरता मात्र हुनेछ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन लाग्नुपर्ने सरकार नै निर्वाचनको मिति परिवर्तन गर्ने खेलमा लाग्नुले सरकारप्रति नै आशंका उत्पन्न हुन्छ । यस्तो अवस्थामा सरकारले निर्वाचन तोकिएको मितिमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्