अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार



स्टकहोम, (एजेन्सी) ।
अमेरिकी अर्थशास्त्री रिचर्ड एच थेलरलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरेको घोषणा गरिएको छ। उनलाई यो पुरस्कार अर्थशास्त्र र मनोविज्ञानबीचको खाडल कम गर्न योगदान पुर्याएकोमा दिइएको नोबेल कमिटीले जनाएको छ।

यसअघि उक्त कमिटीले साहित्य, रसायनशास्त्र, भौतिकशास्त्र, चिकित्साशास्त्र र शान्तिका लागि नोबेल पुरस्कार विजेताको घोषणा गरिसकेको छ। पुरस्कारस्वरूप विजेताले ९० लाख स्विडिस क्रोनर प्रदान गरिनेछ।

रोयल स्विडिस एकेडमी अफ साइन्सेजले सोमबार भने–थेलरलाई अर्थशास्त्र ढाँचाको मनोवैज्ञानिक विश्लेषणका लागि नोबेल पुरस्कार दिइएको हो। उनले अर्थशास्त्र र मनोविज्ञानबीच पुल बनाउने काम गरेको छ। नोबेल कमिटीका अनुसार थेलरले मानसिक सीमा, सामाजिक प्राथमिकता र आत्मनियन्त्रणमा हुने कमीबीचको सम्बन्धको व्याख्या गरेका छन्। यी तीनैवटा पक्षले व्यक्तिगत र बजारको स्थितिमा लिने निर्णयमा असर पार्छ।

थेलर युनिभर्सिटी अफ सिकागो बुथ स्कुल अफ बिजनेसमा बिहेवियर साइन्स र इकोनोमिक्सका प्रोफेसर हुन्। उनी सन् २००८ मा प्रकाशित ‘नज’का सह–लेखक हुन्। थेलरले उक्त किताब क्यस आर सस्टिनसँग मिलेर लेखेका थिए। उक्त पुस्तकमा व्यवहारिक अर्थशास्त्रका माध्यमबाट समाजको कयौं समस्या समाधान गर्न सक्ने विषयमा चर्चा गरिएको छ। गत वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ओलिवर हार्ट र बेन्ट होल्स्ट्रामलाई कन्ट्र्याक्ट थ्योरीका लागि दिइएको थियो।

विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेलले गरेका हुन्। अल्फ्रेड नोबेल स्विडिस वैज्ञानिक थिए। उनको प्रमुख खोज भनेको डाइनामाइट थियो। यो खोजबाट उनले पर्याप्त पैसा कमाएका थिए। उनी फ्रान्समा बस्दै आइरहेका थिए। एक पटक त्यहाँका स्थानीय अखबारले नोबेलको निधन भएको गलत समाचार प्रकाशित गरेका थिए।

वास्तवमा त्यतिबेला नोबेलका भाइको निधन भएको थियो। उक्त समाचारमा नोबेललाई मृत्युको व्यापारी बताइएको थियो। उक्त समाचारबाट दुःखी बनेका नोबेलले आफनो सबै सम्पत्ति दान गर्ने निर्णय गरेका थिए।

उनले सन् १८०६ मा जन्मेका नोबेलको निधन सन् १८९६ मा भएको थियो। उनको निधन भएको ५ आंै वार्षिकीको अवसर पारी पहिलो पटक चिकित्साशास्त्र, रसायनशास्त्र, भौतिकशास्त्र, साहित्य र शान्तिको विधामा नोबेल पुरस्कार प्रदान गरिएको थियो। नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा र बाँकी विधाका पुरस्कार स्विडेनको स्कटहोममा प्रदान गरिन्छ।

प्रतिक्रिया दिनुहोस्