अमेरिका र टर्कीबीच कूटनीतिक विवाद’



अँकारा, (एजेन्सी) ।
टर्की र संयुक्त राज्य अमेरिकाबीच कन्सुलरस्तरको विवाद चर्किएपछि दुवै मुलुकले भिसा सेवा बन्द गरेका छन्। टर्कीको अँकारास्थित अमेरिकन मिसनले आफ्ना कर्मचारीहरूको सुरक्षा सम्बन्धमा पुनर्विचार गर्न आग्रह गर्दै आफूले सम्पूर्ण गैरआप्रवासी भिसा सेवा रोकेको जनाएको छ।

त्यसै गरी अमेरिकाको वासिंगटनस्थित तुर्केली दूतावासले पनि सम्पूर्ण भिसा सेवा रोकिएको जनाएको छ। टर्कीमा गत वर्ष राष्ट्रपति तायिप रिसिप एर्दोगानविरुद्ध भएको असरफल सैनिक विद्रोहमा संलग्न रहेको आरोप लगाइएका एकजना धर्माधिकारीसँग सम्बन्ध रहेको आशंकामा इस्तानबुलमा अमेरिका कन्सुलेटमा कार्यरत एकजना कर्मचारीलाई हिरासतमा लिइएपछि अमेरिका र टर्कीबचि कूटनीतिक विवाद शुरू भएको थियो।

वासिंगटनले सो घटनाको भत्सर्ना गर्दै उक्त आधारहीन कदमको कारण द्विपक्षीय सम्बन्ध बिग्रेको जनाएको छ। गिरफ्तार गरिएका अमेरिकी कन्सुलेटका कर्मचारी तुर्केली पुरुष नागरिक भएको टर्कीको सरकारी समाचार निकाय अनादोलुले जनाएको छ। कूटनीतिक समस्याको कारण टर्कीको सेयरको मूल्य नै ४ प्रतिशतले घटेको थियो।

अँकारास्थित अमेरिकी दूतावासले आइतबार जारी गरेको एक विज्ञप्तिमा पछिल्लो घटनाको कारण अमेरिकी सरकारले टर्की सरकारलाई अमेरिकी मिसनको सुरक्षाको ग्यारेन्टीको माग गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्