किम जोङद्वारा आफ्नी बहिनीको पदोन्नोति



 

सोल, (एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नी २८ वर्षीया बहिनी किम यो जोङलाई सत्तारुढ वर्कर्स पार्टीको राजनीतिक विभागको शक्तिशाली पदमा बढुवा गरी सत्तामा आफ्नो परिवारको पकड बलियो पार्न खोजेका छन्।

राजधानी प्योङयाङमा शनिबार बसेको पार्टीको बैठकमा किम योलाई बढुवा गरिएको थियो। सो बैठकमा जेना किम जोङले अमेरिकी साम्राज्यवादीहरूको आयाविक ब्ल्याकमेलविरुद्ध आफ्नो आणविक हतियार विकास कार्यक्रम जारी राख्ने बताएको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।

उक्त बैठकमा किमले भनेका छन्– ‘अहिलेको परिस्थिति निकै जटिल छ, हामीले परीक्षणकालको सामना गरिरहेका छौं।’ सो पार्टीको केन्द्रीय राजनीतक समितिको बैठकमा दर्जनौं अधिकारीलाई बढुवा गरिएको छ।

किम जोङ उनको अध्यक्षतामा रहेको यस समिति पार्टीको निर्णायक निकायको रूपमा लिइने गरिएको छ। पार्टीको प्रोपोगान्डा विभागका उपनिर्देशक रहेकी किम यो जोङलगायत अन्य ६ जना वरिष्ठ उत्तर कोरियाली अधिकारीलाई गत जनवरीमा संयुक्त राज्य अमेरिकाको विदेश विभागले मानव अधिकार उल्लंघन हुने गतिविधिहरूमा संलग्न रहेको आरोपमा नाकाबन्दी लागाएको थियो।

किम जोङ उन र किम यो जोङ एउटै आमा योङ हुईको कोखबाट जन्मेका हुन्। तिनीहरूका सौतेनी आमाका छोरा किम जोङ नामलाई गत फेब्रुअरीमा एक जना आक्रमणकारीले खतरनाक रसायनिक हतियार भीएक्स प्रयोग गरी मलेसियाको विमानस्थलमा हत्या गरेकी थिइन्।

त्यति बेला उत्तर कोरियाली सरकारले अरूले आरोप लगाएजस्तै सो हत्याकाण्डमा आफ्नो कुनै पनि संलग्नता नरहेको जनाएको थियो। तर, सन् २०११ मा आफ्नो पिता किम जोङ इलको निधनपछि किम जोङ उन सत्तामा पुगेयता मारिने किम जोङ नाम किम परिवारका पहिलो सदस्य भने होइन। सन् २०१३ मा किम जोङ उनले आफ्नै फुपाजु जाङ सोङ ठायकलाई राजनीतिक गुटबन्दी गर्न खोजेको अभियोगमा मृत्युदण्ड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्