एसियन इन्डोर गेम्स, नेपालको उपलब्धिविहीन सहभागिता



 

फिरोज राजोपाध्याय
अस्गाबात, तुर्कमेनिस्तान
मार्बलको शहर भनेर विश्वमा चर्चित तुर्कमेनिस्तानको राजधानी अस्गाबातमा जारी पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा बुधबारसम्म पनि उपलब्धि शून्य रह्यो। मुआथाई, तीन गुणा तीन बास्केटबल, तेक्वान्दो खेलमा नेपाली खेलाडीको सहभागितामा मात्रै सीमित रह्यो। उपलब्धि केही पनि भएन। दोस्रो दिन नेपालले पहिलो खेलमा सहभागिता जनाउने क्रममा मुआ थाईका नवराज गुरुङको पालो थियो, तर नवराजले किक बक्सिङ एरेनाको रिङमा उत्रन पनि नपाउँदै खेल गुमाए। उनलाई वाकओभर दिएको भन्दै रेफ्रीले उनको प्रतिद्वन्द्वी मकाउका खेलाडी ली का लनलाई विजय घोषित गरे। पहिले ५ बजे गरिने भनेको खेल ४ बजे नै प्रतिस्पर्धा गराएपछि नै नवराज खेल्न वञ्चित भएका हुन्।

आफू हारेको कुरा नवराजलाई पत्तो पनि थिएन। जति बेला रेफ्रीले लनको हात उठाएर विजेता घोषित गरिरहँदा उनी रिङमा उत्रनका लागि वार्म अप गरिरहेका थिए। उनलाई उनकै साथी खेलाडीले तिम्रो नाम रिंगमा एनाउन्स भएको छ भनेर भन्दा मात्रै नवराज झसंग भएका थिए। मुआ थाईअन्तर्गत पुरुष ६७ केजीतर्फको खेल हुन अगाडि नवराज बिहानै पनि वेगिङ (तौल नाप्ने) मा पनि माथ खाइसकेका थिए। उनलाई ८ बजेर ३० बजे वेगिङ गर्न जाँदा समय सकिएको भनेर तौल पनि नाप्न दिएन आयोजकले।

खेल्न नपाउनु भनेको राष्ट्रकै बेइज्जतको विषय बन्यो। अर्को खेलाडीमाथिको लगानी समेत खेर गएको छ। नेपालदेखि यति टाढा आएर खेल्न आएका नवराजको कथा स्वस्थानीको कथाको जस्तो सकारात्मक भएन। स्वस्थानी कथामा उल्लेख गरेअनुसार उनी गाउँबाट शहर पस्दा राजा नै बनेको कथामा उल्लेख छ। तर यो नवराज आफ्नै पैसाले नेपालदेखि तुर्कमेनिस्तानमा पुग्दा कुनै नाम कमाउने काम पनि गर्न सकेनन्। उल्टो गैरजिम्मेवारीको आरोप सहनुपर्यो। तर दोष कसैले लिन चाहेनन्। न ओलम्पिक कमिटीका पदाधिकारीले लिए न मुआ थाई संघकै पदाधिकारीले लिए। न त प्रतियोगिताका सेफ द मिसन बनेका राखेपका सदस्यसचिव केशवकुमार विष्टले नै लिए। उनले त आफूसँग नआएकोमा कुनै वास्ता नभएको जस्तो प्रतिक्रिया दिएका थिए।

नवराज आफ्नै पैसा खर्च गरेर अस्गाबाट आएका हुन्। उनी पनि जिम्मवारी बन्नुपर्ने थियो। साँझ ५ बजेको समय भनेर उनी वार्म अपमै व्यस्त भए। ठूला–ठूला स्पिकरमा चर्को आवाजमा एरेना नै थर्किने गरी आयोजकले एनाउन्स गर्दा पनि उनले नसन्नु उनको पनि ठूलै भूल थियो। अर्को विना प्रशिक्षक नेपालबाट खेलाडी पठाउने निकाय वा व्यक्तिले पनि खेल सेड्युल नबुझ्नु महागल्ती बनेको थियो। किनभने खेलाडीलाई प्रतियोगितामा सहभागी मात्रै गराउने अनि सेड्युलबारे अनभिज्ञता राखिँदिदा कस्तो परिणाम निस्कन्छ। पक्कै पनि नराम्रो निष्कर्ष नै निस्कन्छ भन्ने यिनीहरूले किन बुझ्दैनन्। सँधै आयोजकले गल्ती गर्यो भनेर ढाकछोप लगाउनु व्यर्थको कुरा छ।

तेक्वान्दो
खेलाडीलाई सहभागी गराएपछि प्रतियोगितामा सबै कुरा हेर्न एउटा टिम हुनुपर्छ। अस्गाबाट यस्तो देखिएन। यस्तै लापरबाहीले गर्दा नवराजले खेल्न पाएनन्। तर खेल्न पाएका खेलाडीले पनि गुनासो गर्छन् हारेपछि।

उदाहरणका लागि तेक्वान्दो खेलाडीलाई नै लिऊँ। तेक्वान्दो खेलाडी दुई जना निमा गुरुङ र वीरबहादुर महराले पनि हारेपछि दोष दिए सेन्सर प्याडलाई। यदि सेन्सर प्याड नै छैन भने वीरबहादुरले दोस्रो चरण यानि दोस्रो बाउट ६–१ अंकले आफ्नो पक्षमा कसरी राखे त। जबकि उनी पहिलो बाउटमा ८–० ले पछि थिए। तेस्रो बाउटमा ६–६ अंकको नतिजा निस्केको थियो। अब यसमा खेलाडीदेखि प्रशिक्षक हरिहरप्रसाद पाण्डेले सेन्सर प्याड नभएको कमजोर बहाना बनाउन अलि मिलेन कि ?
निमा भने इरानको खेलाडीसँग २२–२ अंकले पछि परेकी थिइन्। उनले चार घण्टा सुतेर कसरी खेल्न सकिन्छ भनेर उही घिसिपिटी कारण दर्साइन्। नेपाली खेलाडीहरूको यही बहानाले जित हुन नसकेको हो।

पहिलो त खेलमा जित्नका लागि दिमाग त्यतैतिर ढल्काउनुपर्ने हो। उनले यो कुरा पनि बुझ्नुपर्छ कि मैले यो खेल जित्नैपर्छ वा जित्न सकिन्छ भनेर आत्मविश्वास पाल्नुपर्छ। यदि यस्तो गरेको भए वीरबहादुरले हातमा आइसकेको खेल गुमाउनुपर्ने थिएन।

बास्केटबल
मंगलबारै भएको तीन गुणा तीन बास्केटबलमा पनि यस्तै कहानी दोहोरियो। नेपालले उज्बेकिस्तानसँग १८–१६ ले हारेको थियो। १० मिनेटको खेलमा अन्तिम दुई मिनेट बाँकी हुँदासम्म नेपाल १६–१२ ले अगाडि थियो। नेपाली खेलाडीले त्यही दुई मिनेटमा ६ अंक गुमाएर खेल पनि गुमाएको थियो। अर्को खेलमा किर्गिस्तानसँग नेपाल १९–१५ ले हारेको थियो। नेपालको क्वार्टरफाइनलको सम्भावना हुँदाहुँदै पनि खेलाडीले खेलमा आफ्नो नियन्त्रण बनाउन नसकेपछि नै यो दुवै खेल हारेको थियो।
भारोत्तोलन
भारोत्तोलन प्रतिस्पर्धामा पनि नेपालको प्रदर्शन कमजोर रह्यो। यद्दपि महिला ५८ केजीतर्फ कमला श्रेष्ठले आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्। तर सुधार भए पनि उनको प्रदर्शन आशलाग्दो थिएन। स्नाचमा ६८ केजी उठाएर एक केजी बढी भार उठाइन्। तर क्लिन एन्ड जर्कमा उनले ८० केजी मात्रै उठाइन्। उनले ८६ केजीको भार उचाल्न खोज्दा भार उठाउनै सकिनन्। उनले दुईपटक कोसिस गरेकी थिइन्। उनले आफ्नै ८५ केजी तौलको कीर्तिमान भंग गर्न सकिनन्।

पुरुष ६९ केजीमा प्रकाश केसीको प्रदर्शन पनि त्यति उत्साहजनक भएन। पाँच प्रतिस्पर्धीमा उनी चौथो स्थानमा रहे। प्रकाश केसीले स्नाचमा १ सय र क्लिन एन्ड जर्कमा १ सय २५ गरी कुल २ सय २५ केजी तौल भार उचालेका थिए। सो समूहबाट बंगलादेशका सिमुल कान्ती सिंगा अर्को चरणमा पुगे। समूह विजेता भएका उनले स्नाचमा १ सय १७ तथा क्लिन एन्ड जर्कमा १ सय ४२ गरी कुल २ सय ५९ केजीको तौल उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्