रोहिंग्या मुसलमान नरसंहार रोक्ने अधिकार सेना प्रमुखसँग



 

यांगुन, (एजेन्सी)
म्यान्मारका सेना प्रमुख मिन आङ लेंगले रोहिंग्या मुसलमानको जरा उनको देशमा नभएको बताएपछि विवाद बढेको छ। उनले नागरिकहरूलाई उक्त मुद्दाको सामना गर्न अपिल पनि गरेका थिए। म्यान्मार सेनामाथि सुनियोजित तरिकाबाट रोहिंग्या मुसलमान जातीय नरसंहारको आरोप लागेको छ।

शनिबार जनरल मिन आङ लेंगले आफ्नो फेसबुक पेजमा म्यान्मारका नागरिक र सञ्चारमाध्यमसँग रोहिंग्या मुसलमानको मुद्दामा एकजुट हुन अपिल गरेका थिए। जनरल लेंगले रोहिंग्या मुसलमानलाई ‘कट्टरपन्थी बंगाली’को संज्ञा दिँदै उनीहरूसँगको ९३ झडपपछि मात्र सेनाले कारबाही शुरू गरेको बताए।

लेंगले ‘रोहिंग्या कहिल्यै पनि एक जातीय समूह होइन’ लेखेका छन्। रोहिंग्या मुसलमानविरुद्ध हिंस्रक कारबाहीको अन्तर्राष्ट्रियस्तरमा आलोचना र बंगलादेशलाई हजारौं शरणार्थी स्वीकार्न बाध्य भइरहेका बेला म्यान्मारका जनरल आफ्नो सेनाको समर्थनमा देखिएका हुन्।

म्यान्मार सेनाले उत्तरी रखाइनमा अगस्ट २५ मा प्रहरी चौकीमाथि रोहिंग्या विद्रोहीको हमलापछि प्रत्याक्रमण शुरू भएको बताएका थिए। सन् २०११ मा म्यान्मारमा सैनिक नेतृत्वले देशको जुन्ता सरकार भंग गर्दै चुनाव गराएको थियो। उक्त चुनावमा आङ सान सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसीले भाग लिएको थियो र सन् २०१६ अप्रिलमा उनको सरकार बनेको थियो। यद्यपि लेंगले धेरैजसो शक्ति आफूसँगै राखेका छन् र म्यान्मारको एक चौथाइ प्रतिनिधिको नियुक्ति सैन्य प्रमुख आफै गर्छन्। यसले म्यान्मार सेनाले कुनै पनि ठूलो परिवर्तन रोक्ने क्षमता राख्छ भन्ने देखाएको छ।

आङ सान सुकीको सरकारसँग तीनवटा महत्त्वपूर्ण मन्त्रालय गृह, रक्षा र सीमामाथि कुनै अधिकार छैन। हिंसा प्रभावित रखाइनमा जनरल लेंगले आफैले नेतृत्व सम्हालेको छ।

‘बर्मा क्याम्पेन युके’का मार्क फ्रेमनरले जनरल मिन ओङ लेगका सैनिकले नै रोहिंग्या मुसलमानको हत्या गरिरहेकाले बेलायती विदेश मन्त्रीले म्यान्मारको सेना प्रमुखको आलोचना गर्नुपर्ने बताए।

जनरल लेंग म्यान्मारका एक मात्र व्यक्ति हुन् जसले रोहिंग्या गाउँमा हमला गरिरहेका सैनिकलाई रोक्ने आदेश दिने अधिकार राख्ने उनले बताए। बेलायतको द गार्जियनले एक सम्पादकीयमा रोहिंग्यामाथि भइरहेका अत्याचार सुकीले रोक्न नसक्ने लेखेको थियो।
अखबारले लेखेको छ– ‘अन्तर्राष्ट्रिय समुदायका समर्थनको फाइदा उठाउने एक सनकी जनलर सुकीको प्रभाव खारेज गर्न सक्दैन। उनी आफ्नो विदेशी समर्थनको प्रयोग म्यान्मारको सेनामाथि दबाब दिनका लागि गर्न सक्छ।’

रोहिंग्याको समर्थनमा बोल्दा निलम्बित
म्यान्मारका रोहिंग्या शरणार्थीको समर्थनमा बोलेकामा भाजपाले आफ्नो एक मुस्लिम नेता बेनजिर आरफानलाई पार्टीबाट निलम्बित गरेको गरेको छ।
बेनजिर भाजपा असम राज्य कार्यकारी समितिका सदस्य हुन्। सन् २०१२ मा भाजपामा आबद्ध भएकी बेनजिरले उक्त पार्टीको टिकटबाट सन् २०१६मा असम विधानसभा चुनाव लडेकी थिइन्।

केही दिनअगाडि मात्र बेनजिरले आफ्नो फेसबुकमा एक पोस्ट अपलोड गरकी थिइन्। उक्त पोस्टमा उनले म्यान्मार सरकारद्वारा रोहिंग्यामाथि गरिएको कथित अत्याचारको विरोध गर्न अनुरोध गरेका थिइन्।

उनले आफूलाई विनाकारण भाजपाको प्रदेश अध्यक्ष रञ्जित दासले पार्टीबाट निलम्बित गरेको बताइन्। आफ्नो गल्ती रोहिंग्या मुसलमान लिएर एउटा पोस्ट फेसबुकमा राख्नु मात्र भएको उनले बताइन्। तर पछि आफूले त्यसलाई मेटेको र माफी पनि मागेको बताइन्। आफूलाई स्पष्टीकरण दिने अवसर पनि नदिएकोमा उनले गुनासो गरकी छिन्।

प्रतिक्रिया दिनुहोस्