ललिता र जानकी सेमिफाइनलमा



आर्मीका प्रेम चौधरी (रातो) र चितवनका अमिर गुरुङ । प्रेम चौधरीले अंकका आधारमा खेल जितेका थिए । तस्वीरः नेस

 

नेपाल समाचारपत्र
काठमाडौं
दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय स्तरको महिला तथा पुरुष खुला बक्सिङ प्रतियोगितामा आइतबारको खेलबाट सफलता हात पार्दै ललिता महर्जन र जानकी थापा मगरले सेमिफाइनलमा भेट पक्का गरेका छन्।

महिला ४८ केजी तौल समूहको क्वाटर फाइनल खेलमा आर्मीकी ललिताले एपीएफ क्लबकी साबित्री तामाङलाई अंकको आधारमा पराजित गरिन्। निर्धारित ४ राउन्डको प्रतिस्पर्धात्मक खेलमा निर्णयकले ललिताको पक्षमा निर्णय दिएका थिए। त्यस्तै दाङकी जानकीले पनि ४ राउन्डको प्रतिस्पर्धात्मक खेलमा अंकका आधारमा निर्मला केसीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्।

योगं स्टार क्लबको आयोजनामा बसन्तपुर डबलीमा भएको दोस्रो दिनको खेलमा पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी, डोलबहादुर चौधरी, टोटल फिजिकलका एजेन्द्र मैनाली र अल्फाका सिद्धार्थ रावल क्वाटर फाइनलमा प्रवेश गरेका छन्। प्रि–क्वाटर फाइनल खेलमा प्रेम चौधरीले चितावनका अमिर गुरुङलाई, डोलबहादुर चौधरीले नक्शालका निमार ग्याल्जेन शोर्पालाई, एजेन्द्र मैनालीले कास्कीका रोशन विष्टलाई र सिद्धार्थ रावलले आयोजक योगस्टारका विरस तामाङलाई हराएका थिए। प्रतियोगितामा पुरुषतर्फ १० स्वर्णका लागि १ सय ७ खेलाडी तथा महिलातर्फ ८ स्वर्णका लागि ४९ खेलाडीले प्रतिस्पर्धा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्