काभ्रेपलाञ्चोकमा पनि देखियो स्वाईनफ्लु,दुईको मृत्यु भएको पुष्टी



मोतीराम तिमल्सिना,काभ्रे ।

अन्य जिल्लाहरुमा स्वाईनफ्लुका कारण सर्वसाधारणको मृत्यु भएका खवर सार्वजनिक भएका बेला काभ्रेपलाञ्चोक जिल्लामा पनि स्वाईनफ्लुका कारण एक महिलाको मृत्यु भएको पुष्टी भएको छ ।

पनौती ७ की ४० बर्षीय चाँदनी नेवाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा उपचारार्थ नेवाको उपचारकै क्रममा मृत्यु भएको धुलिखेल अस्पतालको इन्टरनल मेडिसिनका प्रमुख डा. राम गुरुङले बताए । नेवाको स्वाईन फ्लुकै कारण मृत्यु भएको उनले पुष्टी गरे ।

रुघाखोकी र ज्वरो आएपछि गत भदौ २४ गते नेवा अस्पताल भर्ना भएकी थिईन् । डा. गुरुङका अनुसार नेवाको स्वास्थ्य स्थिती नाजुक भएका कारण सिधै सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको थियो । शंका लागेर प्रयोगशाला परिक्षण गर्दा स्वाइनफ्लु भएको पुष्टी भएको गुरुङले बताए ।

स्वाइनफ्लुका कारण मृत्यु भएको काभ्रेमा यो दोस्रो घटना हो । जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार, पहिलोपटक जिल्लामा पाँचखाल १२ की ठूली दनुवारको मृत्यु भएको थियो ।

खोक्दा, हाच्छ्यिु गर्दा हावाको माध्ययमबाट सर्ने यो रोगमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् । डा. सापकोटाले सामान्य रुघाखोकी भनेर हेल्चेक्राइ नगरी स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गर्न सल्लाह दिए । उनले रोग फैलन नदिन सतर्कता अपनाइसकेको जानकारी दिए ।

नेवा र दनुवारको मृत्यु पछि छानविन टोली गठन गरीएको छ । नेवाकी आमा चन्द्रलक्ष्मी ताम्राकारको पनि धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

चन्द्रलक्ष्मीलाई भने स्वाईनफ्लु नभएको डा. गुरुङ्गले बताए ।

 

प्रतिक्रिया दिनुहोस्