अमेजनमा आदिवासीहरु मारिएको दाबी



ब्रासिलिया, (एजेन्सी)
ब्राजिलको अमेजन नदीको किनारामा गत महिना कम्तीमा दशजना सम्पर्कविहीन हुनपुगेका आदिवासीलाई अवैध ढंगले सुन निकाल्ने व्यक्तिहरुले मारेको हुनुपर्ने मंगलबार सर्भाइभल इन्टरनेसनलले जनाएको छ।

आदिवासीहरुको अधिकारका लागि वकालत गर्दै आएको उक्त संस्थाले यसरी आमहत्या गरिनेमा महिला तथा बालबालिका पनि रहेको हुनुपर्ने र सो क्षेत्रमा २० प्रतिशत आदिवासीलाई सफाया गरिइसकेको दाबी गरेको छ।

दि न्युयोर्क टाइम्सले ब्राजिलको विकट पश्चिमी क्षेत्रको जाभारी उपत्यकामा नदीको छेउमा अण्डा संकलन गरिरहेको बेला ती आदिवासीहरुको सुनखानी व्यवसायीहरुसँग जम्काभेट भएको जनाएको छ।

ती व्यवसायीहरुले पछि नजिकको एउटा बारमा बसेर मदिरा पिउने क्रममा आदिवासीहरुलाई मारेर एउटा हातले कुदिएको प्याडलसमेत हासिल गरेको बताउँदै गरेको बुझिएको छ।

सम्पर्कमा नआएका तथा हालै सम्पर्कमा आएका केही आदिवासीहरुको खोजीकार्य टोली फुनाइका संयोजक लैला सिल्भिया बर्गर सोटो माइयोरले तिनीहरूले फुर्ती लगाउँदै मारिएका मानिसको शव टुक्राटुक्रा पारेर नदीमा फालेको बताउँदै गरेको सुनिएको पनि टाइम्सलाई जानकारी दिएकी छिन्।

फुनाइले ब्राजिलको आदिवासी मामिलालाई लामो समयदेखि हेर्दै आएको थियो। हालै मात्र राष्ट्रपति मिचेल टेमरको सरकारले फुनाइका लागि छुट्याइएको बजेटमा कटौती गरेको थियो।

सर्भाइभल इन्टरनेसनलले टेमरको सरकारले आदिवासी विरोधी कृषिजन्य व्यवसायका साझेदारसंग निकट सम्बन्ध राखेर आदिवासी विरुद्ध निर्मम कदम चलाएको जनाएको छ। साथै सर्भाइभल इन्टरनेसनलले यस आक्रमण र आम हत्याका लागि सरकार स्वयम् जिम्मेवार रहेको पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्