रोहिंग्या संकटमा सुकीले मुख खोलिन्, सबैलाई बचाउन सम्पूर्ण प्रयास गरिरहेको सुकीको दाबी



 

यांगुन, (एजेन्सी)
म्यान्मारका नेता आङ सान सुकीले देशको रखाइन प्रान्तमा बस्ने सबै नागरिकलाई बचाउने सम्पूर्ण प्रयास गरिरहेको बताएकी छिन्। रोहिंग्या संकटको पछिल्लो घटनापछि पहिलोपटक उनले उक्त विषयमा बोलेकी हुन्।

रोहिंग्या मुसलमानविरुद्ध म्यान्मारमा भइरहेको दमन तथा हिंसालाई लिएर अन्तर्राष्ट्रियस्तरमा आवाज उठेपछि प्रजातान्त्रिक नेता सुकीमाथि दबाब परिरहेको थियो। यद्यपि उनले यस मामिलामा कट्टरपन्थीले आफ्नो हित सोझइउनका लागि गलत खबर प्रचार गरिरहेको बताइन्।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको वार्तापछि सुकीको उक्त टिप्पणी आएको उनको कार्यालयले जनाएको छ। रोहिंग्या मुसलमान म्यान्मारको अल्पसंख्यक समुदाय हो। प्रायः म्यान्मारको रखाइन प्रान्तमा बस्दै आइरहेको यो मुस्लिम समुदायको समस्या मानवीय संकटका रूपमा अगाडि आइरहेको छ।

विगत दुई हप्तामा देशको उत्तरी रखाइन प्रान्तबाट करिब १ लाख २३ हजार रोहिंग्या मुसलमान बंगलादेश पलायन भएका छन्। यसअघि यस विषयमा कुनै प्रतिक्रिया नदिएकामा नोबेल शान्ति पुरस्कार विजेता सुकीको आलोचना भएको थियो।

सुकीले राष्ट्रपति एर्दोगानलाई ‘उसको देश रखाइनमा नागरिकको रक्षाका लागि हरसम्भव प्रयास गरिरहेको छ’ बताएको स्थानीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेको छ। उनले भनिन्– ‘हामी सबैलाई राम्रोसँग थाहा छ, मानवअधिकार बिना र लोकतन्त्रमा सुरक्षा नपाउनुको के अर्थ हुन्छ। त्यसैले हाम्रो देशमा रहेका सबै जनताको अधिकार रक्षा होस् र राजनीतिक, सामाजिक र मानवीयस्तरमा उनीहरूको अधिकार सुरक्षित होस् भन्ने सुनिश्चित गर्ने प्रयास गरिरहेको छ।’
सुकीको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोहिंग्या संकटका विषयमा गलत विवरण प्रचार भइरहेको र तिनीहरू ‘झुठो समाचार’ भएको उल्लखे गर्दै कट्टरपन्थीको स्वार्थका लागि फरक फरक समुदायबीच तनाव उत्पन्न गराइरहेको जनाएको छ।

रोहिंग्या लडाकूले कथितरूपमा प्रहरीको एक पोस्टमा आक्रमण गरेको घटनापछि अगस्ट २५मा रखाइनमा ताजा तनाव शुरू भएको हो। उक्त आक्रमणको जवाफमा त्यस क्षेत्रमा सैन्य कारबाही थालिएको हो। उक्त कारबाहीका कारण रोहिंग्या मुसलमान देश छोडरे बंगलादेशतर्फ पलायन हुन थाले।
पलायन हुनेहरूले सेनाको कारबाही र रखाइनका बौद्धबाट उनीहरूको गाउँमा भएको आक्रमण यसको कारण भएको बताए। तर सेनाले रोहिंग्या लडाकूले उनीहरूमाथि आक्रमण गरिरहेको र उनीहरू त्यसको विरुद्ध लडिरहेको बताएका छन्।

यसअघि रोहिंग्या मुसलमान मारिएको समाचार आइरहँदा नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले ट्विटरमा हिंसाको निन्दा गरेकी थिइन्। उनले भनिन्– ‘विगत केही वर्षदेखि मैले दुखद र लज्जास्पद व्यवहारको निन्दा गरेकी छु। म नोबेल पुरस्कार विजेता आङ सान सुकीबाट पनि यसको विरोध होस् भन्ने पर्खाइमा छु।’
यसअघि सुकीले रोहिंग्या मुसलमानमाथि अत्याचार र हिंसालाई लिएर म्यान्मारमा जातीय सफाया नभएको बताएकी थिइन्।

मानवअधिकार संगठनहरूले त्यहाँ जातीय सफाया भइरहेको आरोप लगाएका छन्। मानवअधिकारका लागि संयुक्त राष्ट्र संघका विशेष दूतले सुकी रोहिंग्या अल्पसंख्यकका अधिकारको रक्षा गर्न असमर्थ रहेको आरोप लगाएका छन्। रखाइन संकट गहिरिँदै गएको र उनले यसमा हस्तक्षेप गर्नु जरुरी भइसकेको उनले बताएका थिए।

को हुन् अशिन विराथु?
म्यान्मारमा रोहिंग्या मुसलमानमाथिको दमन र हिंसाको समाचारसँग पुनः एकपटक कट्टरपन्थी बौद्ध भिक्षु अशिन विराथु चर्चामा आएका छन्। यसबीच इन्डोनेसियामा म्यान्मार दूतावासबाहिर रोहिंग्या संकटलाई लिएर विरोध प्रदर्शन भएको जनाइएको छ।

दूतावासबाहिर भेला भएका प्रदर्शनकारीले बोकेको ब्यानरमा अशिन विराथुको तस्वीरसँगै कट्टरपन्थी लेखिएको थियो। म्यान्मारका कट्टरपन्थी बौद्ध भिक्षु अशिन विराथु उनको अतिवादी भाषणका लागि चिनिन्छन्। विराथुमाथि आफ्नो भाषणको माध्यमबाट मुस्लिम अल्पसंख्यकविरुद्ध लाग्ने वातावरण बनाएको आरोप लागेको छ।

सन् २०१५ जनवरीमा विराथुले म्यान्मारमा संयुक्त राष्ट्रका विशेष प्रतिनिधि यांग लीलाई ‘कुकर’ र ‘वेश्या’ भनेर सम्बोधन गरेका थिए। एक दशक पहिलासम्म मान्डलेका ती बौद्ध भिक्षुका बारेमा थारैले मात्र सुनेका थिए। सन् १९६८ मा जन्मेका विराथुले १४ वर्षको उमेरमा स्कुल छोडेका थिए र बौद्ध भिक्षु बने।
सन् २००१ मा राष्ट्रवादी तथा मुस्लिम विरोधी समूह ‘९६९’मा आबद्ध भएपछि नै विराथु चिनिन थालेका हुन्। म्यान्मारमा यो संगठनलाई कट्टरपन्थीका रूपमा लिइन्छ।
सन् २००३ मा उनलाई २५ वर्षको जेल सजाय सुनाइयो तर सन् २०१० मा उनलाई अन्य राजनीतिक बन्दीसँगै रिहा गरियो।

सन् २०१२ मा रखाइन प्रान्तमा रोहिंग्या मुसलमान र बौद्धबीचको हिंसा भड्केपछि आफ्नो उत्तेजक भाषणबाट उनी जनताको नजिक बने। उनको प्रवचन विशेष शैलीबाट शुरू हुन्छ– ‘तपाईं जे पनि गर्नुहुन्छ, एक राष्ट्रवादीका रूपमा गर्नुस्।’

उनलाई ‘के तपाईं म्यान्मारको बिन लादेन हो?’ भन्ने प्रश्न गर्दा जवाफमा उनले त्यसलाई अस्वीकार नगर्ने बताएका थिए। केही समाचारमा भने उनले आफू शान्तिका लागि काम गरिरहेको बताएको उल्लेख गरेको छ।

सन् २०१३ जुलाईको टाइम अखबारले उनलाई कभर पेजमा स्थान दिँदै शीर्षकमा ‘दि फेस अफ बुद्धिस्ट टेरर’ अर्थात् ‘बौद्धको आतंक अनुहार’ छापिएको थियो। उनको उपदेशमा वैमनस्यताको कुरा हुने गर्छ र उनको निशानामा मुस्लिम समुदाय, विशेष गरी रोहिंग्या मुसलमान हुने गर्छन्।

आफूले नेतृत्व गरेका र्यालीमा उनले रोहिंग्यालाई अर्को देशमा पठाउने कुरा गर्थे। उनले झडपका लागि मुसलमानलाई जिम्मेवार ठहर्याए र उनीहरूको प्रजनन दरलाई लिएर निराधार दाबी गरे। उनले बौद्ध महिलालाई जबरजस्ती धर्मान्तरण गराइएको दाबी पनि गरेका छन्।

बौद्ध भिक्षुको समुदायमा उनलाई कति समर्थन छ भन्ने प्रस्ट छैन तर उनको आलोचनामा आवाजहरू भन्ने उठ्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्