भूकम्पपछि प्रभावकारी बन्दै राष्ट्रिय भवन संहिता



मधुसूदन रायमाझी

प्राकृतिक विपत्ति कहाँ र कतिखेर आउँछ भन्न सकिँदैन। नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ। २ वर्षअघि गएको विनाशकारी भूकम्पले ९ हजारभन्दा बढी मानिसले ज्यान गुमाउनुपर्यो। प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन। तर, मानव निर्मित भौतिक संरचना निर्माणमा ध्यान पुर्याउन सके केही मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ।

नेपालको सन्दर्भमा हरेक ८० देखि सय वर्षको अन्तरालमा विनाशकारी भूकम्प आउने गरेको पाइन्छ। वि.सं. १९९० सालमा ८.४ रेक्टर स्केलको भूकम्पले काठमाडौं उपत्यका र पूर्वी तराईमा ठूलो जनधनको क्षति पुर्यायो। त्यति बेलाको भूकम्पले नेपालमा झण्डै १ लाख ४ हजार घरलाई क्षति पुर्याएको थियो। वि.सं. २०४५ सालमा आएको ६.७ रेक्टर स्केलको भूकम्पले पूर्वीतराईका ६५ हजारभन्दा बढी घरहरु भत्काउनुको साथै ७ सयभन्दा बढी मानिसको ज्यान गएको थियो। त्यसै गरी एक वर्षअघि २०७२ वैशाख १२ गते आएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पले पनि ठूलो जनधनको क्षति पुर्यायो। सरकारको तथ्यांकअनुसार ६ लाखभन्दा बढी घर ध्वस्त भएका छन्।

यस्ता विनाशकारी प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न तर समयमा नै बुद्धि पुर्याइएमा यसबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। विनाशपछिको सतर्कता पश्चातापबाहेक केही नहुने भएकाले क्रमबद्धरूपमा पूर्वतयारी गर्नु आजको अपरिहार्य आवश्यकता हो। पूर्वतयारीको विभिन्न प्रकारहरुमध्ये भूकम्पप्रतिरोधी भवन निर्माण गर्नु सबैभन्दा राम्रो पूर्वतयारी हो। यो कुनै नौलो कुरो होइन। घर निर्माणसम्बन्धी हाम्रो चलनचल्तीमा रहको परम्परागत शैलीलाई परिवर्तन गर्न सकिएको अवस्थामा भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सकिन्छ। यस विषयमा आम नागरिकले चासो राख्न र सचेत हुनुपर्ने बताउँदै शहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशक मनिराम गेलालले सबैले भवनसहिता अनिवार्यरूपमा पालना गर्नुपर्ने बताउनुहुन्छ ।

शहरी विकास तथा भवन निर्माण विभागले विभिन्न समुदाय, निर्माणकर्मी, ठेकेदार, प्राविधिकलाई तालिम र नागरिक समाजलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि जनचतेनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। निर्माण भएका बस्तीहरुलाई सुरक्षित बनाउन र आगामी दिनमा निर्माण हुने घरलाई सुरक्षित बनाउन सरकारले भवन ऐन २०५५ र राष्ट्रिय भवन निर्माण संहिता २०६० लागू गरेको छ। २ वर्षअघि आएको भूकम्पले ठूलो मात्रामा भौतिक पूर्वाधारको क्षति पुर्याएपछि सरकारले भवनसहिता कडाइपूर्वक लागू गर्ने तयारी गरेको छ। विभागको उपमहानिर्देशक गेलालले भूकम्पपछि नागरिकमा घर निर्माणमा भवन संहिताको पालना गर्ने र सोहीअनुरूप घर निर्माण गर्ने चेतनामा वृद्धि भएको बताउनुभयो।

हाल विद्यमान निर्माण प्रणालीमा भएका कमी–कमजोरीहरुलाई हटाएर आर्थिक व्ययभार नबढाई नागरिकले भवन संहिताअनुसार घर निर्माण गर्नुपर्ने मापदण्ड सरकारले अगाडि बढाएको छ। प्राविधिकहरुसँग परामर्श लिई सुरक्षित र गुणस्तरीय भवनको निर्माण गरी भावी पुस्ताको सुन्दर भविष्यको सुनिश्चितताको गर्ने उद्देश्यले भवन संहिता लागू गरिएको हो।

भूकम्पको कारण हुने धनजनको विनाश कम गर्ने उद्देश्यले सरकारले भवन संहिता लागू गरेको छ। सरकारले भवन संहिता लागू गरे पनि मानिसको चेतनास्तरमा परिवर्तन आएको छ। हचुकै शैलीमा घर निर्माण गर्दा भूकम्पमा आफैंले निर्माण गरको घर नै ज्यान लिने कारण बनेपछि आम मानिस घर निर्माणप्रति सचेत र सजग भएका छन्। भवन संहिता पालना गर्नाले जीवनभरको कमाइबाट निर्माण गरिएको घर सुरक्षित र भरपर्दो हुने शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको भवन संहिता शाखाका प्रमुख सीडीई मनोज नकर्मी बताउनुहुन्छ। उहाँले सरकारले देशभर घर⁄भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिता लागू गर्ने नीति भूकम्पपछि झन् प्रभावकारी बन्दै गएको बताउनुभयो।

हाल महानगरपालिका, उप–महानगरपालिका नगरपालिकामा भवन संहिता लागू भइरहेको छ। साथै अब गाउँपालिकामा समेत अनिवार्यरूपमा भवन संहिता लागू गर्ने तयारी सरकारले गरेको छ। भवन संहितालाई देशभर निर्माण हुने घर निर्माणको क्रममा कार्यान्वयन गर्न घरधनी डकर्मी, सिकर्मीलगायतलाई प्रेरित गर्नुपर्ने आवश्यकता रहेको छ। भूकम्पले पुर्याउने क्षतिभन्दा मानवनिर्मित भौतिक संरचनाले बढी क्षति पुर्याउने गरेको दृष्टान्त छ। भूकम्पबाट हुन सक्ने सम्भावित विपद्लाई न्यूनीकरण गर्नका लागि सबै नागरिकले सावधानी अपनाउनुका लागि अनिवार्यरूपमा भवन संहिताअनुसार घर निर्माण गर्नुपर्ने भवन संहिता शाखाका इन्जिनियर रामचन्द्र थापा बताउनुहुन्छ। भूकम्पपछि हाल भूकम्प प्रभावित १४ जिल्लामा निमाणाधीन घर निर्माणमा सरकारले प्राविधिको प्रत्यक्ष निगरानीमा भूकम्प प्रतिरोधी घर निर्माणको काम अगाडि बढाएको छ।

भूकम्प गएको २ वर्षको अवधिमा सरकारले घर एवं सरकारी भवन निर्माणका लागि अनिवार्यरूपमा भवन संहिता लागू गरेको छ। मापदण्ड नपुगेको घर तथा भवनको नक्सा नै पास नहुने प्रावधान बनाएपछि घरधनी पनि मापदण्डको अनुशरण गर्न थालेका छन्। विनाशकारी भूकम्पबाट पाठ सिक्दै सबै नागरिकले अनिवार्यरूपमा भवन संहिता पालना गरेर घर निर्माण गर्दा नै आफू बस्ने घर सुरक्षित हुने संहिता शाखाका प्रमुख नकर्मी बताउनुहुन्छ।

भूकम्पले हुनसक्ने सम्भावित विपद्लाई न्यूनीकरण गर्नका लागि शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागकाले अनिवार्यरूपमा भवन संहिता लागू गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। विभागले सरकारले अगाडि सारेको भवन संहितालाई प्रभावकारी बनाउनको लागि निरन्तररूपमा कार्यक्रमहरु सञ्चालन गर्दै आए पनि यसलाई आम नागरिकको सरोकार र चासोको विषय बनाउने काम गर्दै आएको विभागले बताएको छ। आम नागरिकमा जनचेतनाको कमीले गर्दा सरकारले अगाडि सारेको भूकम्पसम्बन्धी संहितामा भूकम्प गएपछि भने नागरिकमा चेतनाको स्तर निकै बढेको उहाँले बताउनुभयो।

अर्कातिर आवासिय तथा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका गंगनचुम्बी भवनहरु पनि पछिल्लो समयमा देशका विभिन्न क्षेत्रमा बढ्दै गएका छन्। यसरी निर्माण भएका कतिपय घर तथा भौतिक संरचनाहरु भवन संहिताविपरीत मनलाग्दी ढंगबाट निर्माण भइहरेका छन्। नयाँ भवन तथा भौतिक संरचना निर्माण गर्दा अपनाउनुपर्ने सावधानीलाई बेवास्था गदै निर्माण भएका भवनले थप जोखिम निम्त्याइरहेको हुन्छ। शहरी विकास तथा भवन निर्माण विभागले भूकम्पसम्बन्धी सञ्चालन गरेका क्रियाकलापहरुले गर्दा पछिल्लो समयमा निर्माण हुने भवनहरु भवन संहिताभित्र रहेर निर्माण हुनेक्रम पनि शुरु भएको विभागले बताएको छ।

विभागले भवन निर्माण संहिता लागू गराउनका लागि विभिन्न सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ। संहिताविपरीत निर्माण गरिएका भौतिक संरचनाहरुबाट आगामी दिनमा पनि भूकम्पको समयमा ठूलो जनधनको क्षति नहोला भन्न सकिन्न। आम नगरिकहरुले आफू बस्ने भौतिक संरचना निर्माण गर्दा परम्परागत शैलीलाई परिवर्तन गर्दै नयाँ प्रविधिबाट घर निर्माण गर्ने क्रम बढेको छ। भवन संहितासम्बन्धी जानकारी भए पनि कतिपय अवस्थामा प्राविधिक दृष्टिकोणले झन्झटिलो मान्ने र हचुवाकै भरमा समेत घर निर्माण परम्परमा धेरै परिवर्तन आएको संहिता शाखाका इन्जिनिर थापा बताउनुहुन्छ।

संहिता कार्यान्वयन गरेर घर नर्माण गर्दा भूकम्पको समयमा हुन सक्ने ठूलो मानवीय क्षतिको रोक्न सहयोग पुर्याउँछ। ‘घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउनका लागि दक्ष प्राविधिकको सहयोग लिई गुणस्तरीय सामग्रीहरुको प्रयोग गरी भवन संहिताको नियमलाई पालना गरी घर तथा संरचना निर्माण गर्नुपर्दछ’ –उहँँले भन्नुभयो। भू–बनावटलाई मध्यनजर गर्दै घर निर्माण गर्दा भूकम्प जोखिम न्यूनीकरण गर्नका लागि भूकम्प प्रतिरोधी संरचनाहरु मात्र निर्माण गर्नु आजको आवश्यकता भएको इन्जिनियर थापाले बताउनभुयो।

विभागले घर निर्माणका लागि आवश्यक पर्ने दक्ष कामदारलाई लागि भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्ति तालिमसमेत प्रदान गर्दै आएको छ। तालिमप्राप्त डकर्मी र सिकर्मीको सहभागिता निर्माण हुने घरबाट पनि राष्ट्रिय भवन संहिता अनिवार्यरूपमा पालना हुने विभागले बताएको छ।

भवन संहितालाई प्रभावकारीरूपमा देशभर लागू गर्न घरधनी, सिकर्मी, डकर्मीलगायतलाई प्रेरित गर्नुपर्छ। सरकारको एक्लो कारणले मात्र भवन संहिता लागू गर्न सकिँदैन त्यसैले नागरिकले पनि सहयोगको खाँचो रहेको विभागले बताएको छ। अझै पनि आम नागरिकलाई भवन संहिता बुझाउन नसक्नु, नक्सापास गर्दा चर्को शुल्क हुनु, स्थानीय निकायमा पर्याप्त प्राविधिक जनशक्ति नहुनु, मानिसमा भवन संहिताअनुसार घर निर्माण गर्दा धेरै खर्च लाग्ने भ्रम हटाउन नसक्नेलगायतका चुनौती रहेका छ। भवन संहिता कार्यान्वयन गर्नका लागि नीतिगत र प्राविधिकसँगै सामाजिक र आर्थिक पक्षलाई पनि ध्यान दिनुपर्ने देखिन्छ।

इन्जिनियर थापा भन्नुहुन्छ– ‘भूकम्प प्रतिरोधी घर निर्माण गर्दा दक्ष प्राविधिकको साथै तालिम प्राप्त डकर्मी र सिकर्मीको प्रयाग गर्नुपर्छ, परम्परागतरूपमा निर्माण हुने घरलाई अब विस्थापित गर्नुपर्छ, डिजाइन जति राम्रो भए पनि घर निर्माण गर्ने भनेको तालिमप्राप्त डकर्मी र सिकर्मी भएन भने राम्रो घर निर्माण हुन सक्दैन।’

‘घर निर्माण गर्दा घरधनी सचेत हुनुपर्छ’

मणिराम गेलाल
उप–महानिर्देशक, शहरी विकास तथा
भवन निर्माण विभाग

भूकम्पपछि नागरिकमा भूकम्प प्रतिरोधी घर निर्माण गर्नुपर्ने चेतनाको विकास भएको छ। राष्ट्रिय भवन संहिता ठूल्ठूला घर निर्माण गर्दा मात्र होइन गाउँघरमा निर्माण हुने घरका लागि पनि हो। गाउँघरमा मात्र एक तलाको घर निर्माण गर्दा पनि राष्ट्रिय भवन संहिता अनिवार्यरूपमा पालना गर्नुपर्छ। भूकम्पपछि भूकम्प प्रभावित जिल्लाहरुमा निर्माणाधीन घरमा अनिवार्यरूपमा भूकम्प प्रतिरोधी प्रविधिअनुसार निर्माण गरेको छ। घर निर्माणमा अनिवार्य रूपमा प्राविधिहरुले निगरानी र अनुगमन गरका छन्। मापदण्डविपरीत निर्माण हुने घरका लागि किस्ता नै निकास हुँदैन। अहिले नागरिकले भूकम्प प्रतिरोधी घर निर्माण गर्दा सुरक्षित हुन गहिरोसँग मनन गरेका छन्। घर निर्माण गर्दा अपनाउनुपर्ने विधिलाई पालना गरेका छन्। भूकम्प प्रतिरोधी घर निर्माण नगरे नक्सा नै पास नहुने बाध्यकारी नीति लागू गरेका छौं। सबै नगरपालिकामा अनिवार्यरूपमा नक्सापास गर्नुपर्ने प्रावधान छ। अब स्थानीय तहमा पनि क्रमशः यो नियम लागू होला। विभागले घर निर्माणका लागि ग्रामिण क्षेत्रको लागि १७ वटा र शहरी क्षेत्रका लागि १४ वटा गरी ३१ घरको नमुना डिजाइन पनि सम्बन्धित निकायमा पठाएको छ। घरधनीहरुले नमुना नक्सा र सोअनुरूपको घर निर्माण गर्न सक्छन्। घर निर्माण गर्दा स्वयं घरधनीहरु पनि सचेत हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्