हेटौंडा यसकारण प्रदेशको राजधानी !



हेटौंडा, (नेस) । मध्यक्षेत्रको एक प्रसिद्ध उपमहानगर हेटौंडालाई प्रदेश नम्बर–३ को राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामार्फत् पत्र पठाउँदै यस्तो माग गरिएको हो ।
मकवानपुरका प्रमुख राजनीतिक दलहरुको सहभागितामा जनदबाब समूहले प्रदेशको राजधानी हेटौंडा बनाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा प्रदेशको राजधानी हेटौंडा सबभन्दा उपयुक्त स्थान हुने प्रमाणहरु पेश गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक जिल्ला सभापति विष्णु लामिछाने, नेकपा एमालेका उपाध्यक्ष बद्री लम्साल, नेकपा माओबादी केन्द्र अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा  जिल्ला नेता सीताराम बर्तौला, नयाँशक्ति पार्टी नेपालका तर्फबाट युवा नेता राजन मैनाली र  जनदबाब समूहका संयोजनकर्ता अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले पत्र बुझाएका हुन् ।
देशको बदलिँदो परिस्थिति र देशलाई वर्तमान अवस्थाको संक्रमणकालबाट उन्मुक्ति दिएर निकास दिने र संघीयता कार्यान्वयनका क्रममा तत्काल गर्नुपर्ने प्रमुख कार्यहरुमध्ये एक ३ नम्बर प्रदेशको राजधानीका विषयमा हतारमा निर्णय गर्दा त्यसले नकारात्मक प्रभाव पार्ने उल्लेख छ । ‘हालको अवस्थामा आमजनताको हितमा हुने काम गर्नु नै उपयुक्त हुने हँुदा हेटौंडालाई प्रदेशको राजधानी बनाउनुपर्छ,’ पत्रमा हाल हेटौंडा ३ नम्बर प्रदेशको मुख्य स्थान भएको उल्लेख छ ।विश्वको नक्सा पल्टाएर हेरी अनि यथार्थतालाई हृदयंगम गरी हेटौंडालाई प्रदेशको राजधानी बनाउने निर्णय गर्नु उपयुक्त हुने कुराप्रति दलहरुले ध्यानाकर्षण गराएका छन् ।
जनताहरुको आन्दोलनको मुख्य माग केन्द्रमा रहेको अधिकार काठमाडौं केन्द्रित गर्नु भन्दा उपत्यकाबाहिर बिकेन्द्रित गर्नुपर्छ भन्ने मान्यतानुसार आन्दोलनहरुका भावनाविरुद्ध सबै पूर्वाधारहरु तयार भइसकेको र मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको हेटौंडामा १९ वटा क्षेत्रीय कार्यालय रहेको स्मरण गराइएको छ । र, भनिएको छ– प्रदेशको राजधानी अन्य ठाउँमा सार्ने कुराले बहुदल र गणतन्त्र प्राप्तिका लागि गरिएका आन्दोलनको भावनाविरुद्ध हुनेछ । जनभावना विपरीत हुने र परिवर्तनको आभास जनताले गर्न नसक्ने र नपाउने भएकाले पनि हेटौंडालाई प्रदेशको राजधानी बनाउनु उपयुक्त हुने ठहर गरिएको छ ।
काठमाडौंको बढ्दो जनसंख्या चाप र वातावरणीय प्रदुषण बढ्दो छ । ३ नम्बर प्रदेश अर्थात् सबभन्दा ठूलो प्रदेशको राजधानी बनाउँदा थपिने जनसंख्या चापले देशको राजधानीलाई अझै अस्तव्यस्त बनाउँदछ भने अर्कोतर्फ उपत्यकाबाहेक राजधानी बनाउन जल, जमिन र भौतिक पूर्वाधारहरु पूर्णरुपमा रहेको हेटौंडा नै उपयुक्त हुने पत्रमा उल्लेख छ ।
मकवानपुर प्रदेश नम्बर ३ को धादिङ, ललितपुर, काठमाडौं, काभ्रे, सिन्धुली र चितवन जिल्लासँग जोडिएको, मकवानपुर भएर पूर्वपश्चिम लोकमार्ग, एसियन राजमार्ग, हेटौंडा—धरान—चतरामार्ग, निर्माणाधीन निजगढ—काठमाडौं दु्रतमार्ग, कान्तिराजपथ राष्ट्रिय राजमार्गहरुले आवागमनमा सहज र पहुँच वृद्धि हुने तथा निजगढ—काठमाडौं दु्रतमार्गबाट डेढ घण्टामा काठमाडौं पुग्न सकिने, देशको आयातनिर्यात गर्ने प्रमुख नाका बीरगञ्ज हेटौंडाबाट निकट रहेको र राजधानी प्रवेशको मूलद्वारका रुपमा रहेको हेटौंडालाई उपेक्षा गर्नु भविष्यमा पनि गलत ठहर्ने हुँदा हेटौंडालाई प्रदेशको राजधानी बनाउन दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘प्रशासन र सुरक्षासँग सम्बन्धित कार्यालयहरु, शिक्षा, स्वास्थ्य, बन, नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर र प्रदेशस्तरीय प्रहरी प्रमुखको कार्यालयसमेत हेटौंडामा रहेकाले प्रदेशको राजधानी बनाउन आवश्यक छ भन्नेमा कसैको विमति हुँदैन र छैन,’ पत्रमा लेखिएको छ । यी कुराका अलावा मकवानपुरमा फराकिला समथर जग्गा, खानेपानीको पर्याप्त स्रोत, ढल निकासको समस्या नभएको र वातावरणीयरुपमा उपयुक्त भएकाले हेटौंडालाई प्रदेशको राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र प्रस्तुत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्