औपचारिक रुपमा दुई भएपछि भत्कीयो रुकुमको पहिचान



धनवीर दाहाल, रुकुम ।
साविकको पोखरा गाँउविकास समितीकी सुनिता खड्काले २०६८ सालमा लोकसेवाको परिक्षा दिँदा ५२ पोखरी ५३ टाकुरीको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? भन्ने प्रश्नको उत्तर आँखा चिम्लीएर रुकुम भन्नेमा टिक लगाइन् ।

उनी हाल महिला वालवालिका कार्यालय रुकुममा कार्यरत छिन् । सुनिता मात्र होइन उनी जस्ता धेरै परिक्षार्थीहरुले रुकुमको सिस्ने हिमाल, कमल ताल, स्यार्पुताल, पुथा हिमाल, ढोरपाटन शिकार आरक्ष लगाएतका पहिचानको बिषयमा पढे । उनीहरु मात्र होइन नेपालीको मानसपटलमा यहि शब्द थियो । देशभर चिनाउने रुकुमको पहिचानको रुपमा रहेको ५२ पोखरी ५३ टाकुरी अव इतिहास भइसकेको छ ।

पश्चिम रुकुममा स्यार्पुताल, डिग्रे शाईकुमारी, मुसिकोट, सानीभेरी लगाएतका पर्यटकिय नामहरु छन् भने पुर्वी रुकुममा ५२ पोखरी ५३ टाकुरी, सिस्ने हिमाल, पुथा हिमाल, ढोरपाटन लगाएतका पर्यटकिय नाम रहेका छन् । दुवै जिल्ला एक हुँदा रहेको पहिचान इतिहास भएको हो ।

नेपालको संबिधानमा रुकुम जिल्लालाई २ भागमा बिभाजन गरेपछि जिल्ला रुकुमलाई टुक्र्याउन नपाइने भन्दै रुकुममा धेरै आन्दोलन भए । त्यति मात्र होइन पुर्वी रुकुमलाई छुट्टै जिल्ला बनाइनुपर्छ भन्ने आन्दोलनहरु उत्तिकै भए । अन्ततः औपचारिक रुपमा रुकुम जिल्ला बिभाजन भयो । ७५ जिल्लाको देशमा ७७ जिल्ला भएसँगै रुकुम पनि पुर्वी र पश्चिम गरी दुई जिल्ला भएरै छाड्यो ।

निबार्चन आयोगले पनि दुई जिल्लाको लागी मान्यता दिएसँगै यतिबेला नयाँ जिल्ला भएको पुर्वी रुकुममा सरकारी संरचना देखी लिएर बिभिन्न पार्टी तथा संघ संगठनका कमिटीहरु अलग अलग निमार्ण भइरहेका छन् । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा हुने भएपछि रुकुमकोटलाई आधार बनाएर सरकारी कामकाजहरु तथा बिभिन्न पार्टीका पार्टीगत कामहरु रुकुमकोटबाटै हुन थालेका छन् । भौगोलिक हिसावले पनि धेरै दुख्ख पाइरहेका पुर्वी रुकुमेलीका लागी अव सहज भएको पुर्वी रुकुमबासीको भनाई छ ।

पुर्वी रुकुमका दलित अधिकारकर्मी रणजित परियारले अव पुर्वी रुकुममा अलग्गै कमिटीहरु निमार्ण हुने बताए । उनले भने “कमिटीहरु अलग्गै भएपनि हामी दुई वटै रुकुमेलीको भावनात्मक एकता कायम रहने छ ।” यस्तै पुर्वी रुकुमका एमाले नेता भिउमान घर्तीले जनताको भावानाको कदर भएको र अव विकासले गति लिनेमा बिश्वास व्यक्त गरे ।

पश्चिम रुकुममा पनि उतिकै चराटो छ । आधा हिस्सा पुर्वी रुकुममा गएपछि पार्टीका पार्टी कमिटीहरु तथा संघसंगठनका कमिटीहरु नयाँ ढंगले निमार्ण हुन थालेका छन् । औपचारिक रुपमा जिल्ला बिभाजन भएपछि स्वभाविक रुपमा नयाँ ढंगले काम भइरहेको पश्चिम रुकुमका जनप्रतिनिधिहरुको भनाई छ । त्रिबेणी गाँउपालिका जनप्रतिनिधि टेकबहादुर ओलीले संबिधानमा नै स्पष्ट व्यवस्था भएकोले स्वभाविक रुपमा नयाँ जिल्लामा नयाँ ढंगले काम हुने बताए ।

यस्तै चौरजहारी नगरपालिकाका युवा नेता खुम भण्डारीले जिल्ला २ वटा भएपनि युवाका मुद्धामा दुवै रुकुमेली युवाहरु एक हुनुपर्ने बताए । रुकुम जिल्ला दुई वटा भएसँगै पुर्वी रुकुममा प्रतिनिधि सभाको लागी १ र प्रदेश सभाको लागी दुई निबार्चन क्षेत्र कायम हुने भएको छ । यसै गरी पश्चिम रुकुममा पनि प्रतिनिधि सभाको लागी १ र प्रदेश सभाको लागी २ निबार्चन क्षेत्र निर्धारण भएका छन् । रुकुम २ भागमा बिभाजन भएपनि रुकुमको पहिचान, संस्कृति र मौलिकतामा भने पक्कै एक हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्