भारतीय सीमावर्ती बजारबाट खुलेआम प्रतिबन्धित कुखुरा तथा चल्ला भित्रिन थाले, निगरानी बढाईयो



भद्रपुर (ने.स) । झापासंग जोडिएको भारतीय सीमावर्ती बजारबाट खुलेआम नेपालमा प्रतिबन्धित कुखुरा तथा चल्ला भित्रिन थालेको छ । झापाको दक्षिणी सीमावर्ती क्षेत्रबाट पशुपक्षि भित्रिन थालेको सूचना पाएपछि सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको छ ।
यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय झापाले भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरको सिताचोकबाट २ सय केजी बोइलर कुखुरा बुधवार विहान बरामद गरेको छ । भारतको किशनगञ्ज जिल्लास्थित ठाकुरगञ्ज बजारबाट झापाको पाठामारी नाकाहुदै भित्राइएको ६६ वटा बोइलर कुखुरा बरामद गरेको सिमा सुरक्षा कार्यालय झापाले जनाएको छ । तीन वटा साईकलमा झोलामा राखेर भद्रपुर बजारतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको थियो ।

यता बरामद गरिएको बोइलर कुखुरालाई एलआरपी पोष्ट पृथ्वीनगर परिसरमा स्थानीयबासीको रोहबरमा नष्ट गरिएको छ । भारतीय बजारमा बोइलर कुखुराको मासु प्रति एक सय ६० रुपैया पर्ने र नेपाली बजारमा त्यही मासुलाई प्रति केजी ३ सय रुपैया पर्ने भएकोले नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी पुशपक्षिको चोरीतस्करी बढेको स्थानीयबासी बताउछन । केही दिनअघि पनि पृथ्वीनगर क्षेत्रबाटै गोरको मासु समेत बरामद गरिसकेको छ ।
चोरीतस्करी माध्यमबाट कुखुरा तथा चल्ला भित्रिन थालेपछि नेपाली कुखुरा पालन व्यवसायी मारमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्