एमालेलाई कसैले पनि घेराबन्दी गर्न सक्दैन: गौतम



 

काठमाडौँ, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ ।

दल दर्ताका लागि चाहिने आवश्यक कागजातसहित पार्टीका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गएको टोलीले आयोगमा पुगेर दल दर्ता गराएको हो । राजनीतिक दलले हरेक निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ । निर्वाचन आयोगले दल दर्ताका लागि यही भदौ ११ गतेसम्मको समयसीमा दिएको छ । हालसम्म आयोगमा ४४ राजनीतिक दलले दल दर्ता गराइसकेको आयोगले जनाएको छ । सो क्रममा उपाध्यक्ष गौतमको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग प्रदेश नं २ मा आउँदो असोज २ गते हुने स्थानीय तह र आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विषयमा पनि छलफल ग¥यो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले निर्वाचनका लागि आवश्यक विधेयक पारित गर्न पूर्णरुपमा सहयोग गर्न तयार छौं भन्नुभयो । सरकारलाई छिटोभन्दा निर्वाचनसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, “नेकपा(एमाले)आगामी असोज २ र मंसिरमा हुने दुवै निर्वाचनका लागि तयारी रुपमा छ, पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुने निर्णय भइसकेको छ ।”

सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले एमालेलाई कसैले पनि घेराबन्दी गर्न नसक्ने र त्यसो गर्नेहरु जनताबाट तिरस्कृत भएकाहरु मात्र हुने बताउनुभये । टोलीमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचिव प्रदीपकुमार ज्ञवली, पार्टी निर्वाचन फाँटका प्रमुख राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री अग्निप्रसाद खरेललगायत सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्