मेसीले नेयमारलाई मनाउन सकेनन्



 

लन्डन, (एजेन्सी)
नेयमारलाई बार्सिलोनामै राख्न लियोनल मेसीले धेरै कोसिस गरेको स्पेनको डायरियो स्पोर्टले जनाएको छ। डायरियो स्पोर्टले जनाएअनुसार मेसीले नेयमारलाई बार्सिलोना नछोड्नको लागि भनेका थिए– ‘म तिमीलाई बेलन डिअर विजेता बनाउनेछु।’

जुलाईमा न्यु जर्सीमा बार्सिलोनाको प्रिसिजन टुरमा युभेन्टसविरुद्ध खेल्नअगाडि शेराटन पार्सीपपेनी होटलमा बस्दा पनि मेसी र लुइस स्वारेजले नेयमारलाई एकातिर लगेर क्लब नछाड्न आग्रह गरेका थिए। स्पोर्टको इभान सान एन्टोनीयोका अनुसार मेसीले नेयमारलाई यसो भनेका थिए– ‘तिमी के चाहन्छौं? बेलन डिअर विजेता बन्न चाहन्छौ तिमी? म तिमीलाई बेलन डिअर विजेता बनाउनेछु।’
यो नै मेसीको नेयमारलाई क्लबमा राख्न गरेको अन्तिम आग्रह थियो। यसैले पनि युभेन्टसविरुद्धको खेलमा मेसीले नेयमारलाई खुलेर खेल्न दिएका थिए। सो खेलमा मेसी साइड लागेपछि नेयमारले युभेन्टसविरुद्धको खेलमा दुई गोल गरेका थिए। तेस्रो गोल पनि गर्न लागेका थिए तर उनले किपर गियानलुइगी बफनलाई बिट गर्न सकेनन्।

मेसीले बेलन डिअर अवार्ड पाँचपटक जितेका छन्। क्रिस्टियानो रोनाल्डोले यो अवार्ड यसै वर्ष जित्नेछन्। नेयमारले यसका लागि सन् २०१८मा कोसिस गर्नुपर्ने हुन्छ। यस वर्ष रसियामा विश्वकप हुँदै छ। उनले कतिको राम्रो खेल्छन् विश्वकपमा त्यसैअनुसार नेयमार बेलन डीअरको उपाधि दौडमा हुनेछन्।

यसअगाडि मेसीको बिहेमै नेयमार र डेनी अल्भेस दुबैजना पेरिस सेन्ट जर्मेनमा जाने पक्का गरिसकेको अल्भेसले अहिले खुलासा गरेका थिए। मेसीले जुलाई १ मा अर्जेन्टिनामा बिहे गरेका थिए। अल्भेस र नेयमार दुबै जना मेसीको बिहे समारोहमा भए पनि लिग वानमा जान छलफलसमेत गरेको अल्भेसले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्