चीनसँग तीन सझौता



 

टीका बन्धन, काठमाडौं
छिमेकी मुलुक चीन र नेपालबीच विभिन्न विषयमा सम्झौता र समझदारी भएको छ। चीनका उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणको दोस्रो दिन मंगलबार आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र भण्डारण साथै लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो।

आर्थिक र प्राविधिक सहयोग सडक र अन्य पूर्वाधार विकासमा केन्द्रित हुनेछ। नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उप–प्रधानमन्त्री वाङ र उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार तथा कृष्णबहादुर महराको उपस्थितिमा दुवै मुलुकका अधिकारीले उल्लेखित विषयमा हस्ताक्षर गरेका छन्। पेट्रोलियम, ग्यास र खानीको अन्वेषण तथा सर्वेक्षणका लागि चीनले करिब २ अर्ब रुपियाँको आर्थिक सहयोग गर्ने बताइएको छ।

‘इन्धन भण्डारण र सर्वेक्षणका लागि प्रारम्भिक सर्वेक्षण गर्न नीतिगत सहमति भएको छ, उच्च अधिकारी संलग्न द्विपक्षीय छलफल र सम्झौताबारे जानकारी दिँदै मन्त्री महराले भन्नुभयो– ‘नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्नेबारेमा समझदारी भएको छ।’ नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चीनका तर्फबाट वाणिज्य विषय हेर्ने उपमन्त्री यु जियानहुवाले सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो। द्विपक्षीय व्यापार, पर्यटन, लगानी, पूर्वाधार विकास, ऊर्जा, कनेक्टीभिटीलगायतका विषयमा दुवैतर्फबाट छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवैपक्ष बीच करिब डेढ घण्टा लामो छलफलमा नेपालले भूकम्पपछि अवरुद्ध रहेको तातोपानी नाका सुचारु, अरनिको राजमार्गको स्तरोन्नति गर्न र चीनसँग सीमा जोडिएका अन्य नाका खुलाउन चिनियाँ पक्षलाई आग्रह गरेको थियो। नेपालले गरेको आग्रहबारे चीन सकारात्मक रहेको बताउँदै मन्त्री महराले भन्नुभयो– ‘तातोपानी नाका दुवै देशका निम्ति महत्त्व छ भनेर हामीले भनेका छौं, हामी सकारात्मक रुपमा लिन्छौं भनेर चिनियाँ पक्षले भनेको छ।’ रसुवाको टिमुरेमा पुल निर्माण गर्न र केरुङलाई सुख्खा बन्दरगाहसहितको अन्तर्राष्ट्रिय नाका बनाउने बारेमा बैठकमा दुवै पक्षबीच छलफल भएको थियो। त्यसै गरी चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स्’लाई कार्यान्वयन तहमा लानेबारेमा समेत विस्तृत छलफल भएको बताइएको छ।
सो विषयलाई कार्यान्वयन चरणमा लान परराष्ट्र सचिवको नेतृत्वमा सरोकारवाला निकायबीचको समन्वयकारी संयन्त्र र अर्थ सचिवको नेतृत्वमा ठोस कार्ययोजना संकलन गर्ने समूह बनाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकलाई नियमित र प्रभावकारी बनाउन यसअघि गठित द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित गर्नेबारेमा दुवै पक्ष सहमत भएका छन्। दुवै मुलुकबीच परराष्ट्र र अर्थ सचिव स्तरमा संयन्त्र गठन भए पनि बैठक नियमित हुन सकेका छैनन्। मंगलबारको द्विपक्षीय छलफलमा केरुङ–काठमाडौं र काठमाडौं–लुम्बिनी रेल मार्ग विस्तार गर्ने विषयमा नेपालले प्रस्ताव राखेको थियो।

सो विषयमा चीन सकारात्मक रहेको बताउँदै मन्त्री महराले भन्नुभयो– ‘पूर्वाधारका सबै सेक्टरमा हामी सहयोग गर्न तयार छौं भनेर उहाँहरूले प्रतिबद्धता जनाउनुभएको छ, हाम्रो राष्ट्रिय विकासका प्राथमिकताका विषयमा उहाँहरू सकारात्मक हुनुहुन्छ।’

त्यसैगरी नेपालको पर्यटन प्रवद्र्धनमा चीनले सघाउने भएको छ। सो द्विपक्षीय छलफलका क्रममा उप–प्रधानमन्त्रीद्वय महरा र गच्छदारले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे चिनियाँ पक्षलाई अवगत गराउनुभएको थियो। भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचन, २ नम्बर प्रदेशमा हुने निर्वाचन र प्रदेश तथा केन्द्रीय तहको निर्वाचनको तयारीबारे चिनियाँ टोलीलाई उहाँहरूले अवगत गराउनुभएको थियो। सो छलफलमा भारत–चीनबीच भुटानको दोक्लमलाई लिएर बढेको तनाबका बारेमा भने दुवै पक्षबाट कुनै प्रसंग नजोडिएको बैठकमा सहभागी परराष्ट्रका एक अधिकारीले बताए।

द्विपक्षीय छलफल पनि चिनियाँ उप–प्रधानमन्त्री वाङ राजनीतिक भेटवार्तामा व्यस्त बन्नुभएको थियो। उहाँले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुटाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

यसअघि दुवै मुलुकका तर्फबाट भएका सहमति⁄सम्झौता कार्यान्वयन चरणमा लाने र चीनसँग सीमा जोडिएका तातोपानीसहित अन्य उत्तरी नाका खुलाउने बारेमा छलफल भएको थियो। त्यसै गरी चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’मा नेपालको भूमिका, नेपालको आर्थिक विकासमा कनेक्टिभिटी, अन्तरसीमा रेलमार्ग र अन्य पूर्वाधार विस्तार जस्ता विषयमा छलफल भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। जवाफमा उप–प्रधानमन्त्री वाङले नेपालको आर्थिक विकासमा सघाउन चीन सधैं सकारात्मक रहेको बताउनुभएको थियो।

‘चीन जतिसुकै शक्तिशाली भए पनि नेपाललाई सहयोग गर्ने नीतिमा कहिले परिवर्तन नहुने, नेपालका लागि चीन चुनौतीको विषय नबन्ने, मित्रतापूर्ण व्यवहार रहने उहाँले विश्वास दिलाउनुभयो’ –सो भेटवार्ताबारे जानकारी दिँदै ज्ञवालीले भन्नुभयो।

त्यसै गरी माओवादी अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका क्रममा दुवै मुलुकबीचको आपसी हित र चासोका बारेमा छलफल भएको बताइएको छ। सो छलफलमा प्रचण्डले नेपालको दिगो विकासमा चीनले देखाएको चासो र सहयोगको प्रशंसा गर्दै चीनको पहलमा रेलमार्ग विस्तार भएको नेपालीहरू हेर्न आतुर रहेको बताउनुभएको थियो।

जवाफमा उपप्रधानमन्त्री वाङले बेल्ट एन्ड रोड इनिसिएटिभ्स्मा नेपालले लिएको चासो सकारात्मक रहेको बताउँदै त्यसले छिट्टै साकार रूप लिने वार्ता टोलीलाई विश्वास दिलाउनुभएको थियो। माओवादी केन्द्र र चिनियाँ पार्टीबीच आगामी दिनमा राजनीतिक सहकार्य बढाउने बारेमा पनि छलफल भएको बताइएको छ।

आफ्नो भ्रमणका क्रममा उपप्रधानमन्त्री वाङले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपालका उद्योग–व्यावसायीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। नेपालमा चिनियाँ लगानीको सम्भावनाबारे नेपाली उद्योगी व्यवसायी र चिनियाँ टोलीबीच छलफल हुने बताइएको छ। त्यसै गरी उपप्रधानमन्त्री वाङ टोलीसहित आजै कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्