यांगुन,(एजेनसी)
पछिल्लो समयमा हिंसात्मक घटना बढ्दै गएपछि म्यान्मार सरकारले शुक्रबार थप सुरक्षा व्यवस्थाका लागि उत्तर पश्चिमी राखाइने राज्यमा सर्यौ संख्यामा सेना पठाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। सो क्षेत्रमा अझै अस्थिरता र हिंसा फैलिने आशंका बढेपछि यसरी फौज परिचालन गरिएको हो।
मुश्लिम बाहुल्य उत्तरी राखाइनेमा गत अक्टोबरमा रोहिंग्या मुश्लिम लडाकूले नौजना प्रहरीको हत्या गरेपछि तनाव शुरु भएको हो। सो क्षेत्रमा सरकारी फौजमाथि सर्वसाधारणलाई बलात्कार, हत्या र यातना दिने गरेको अभियोग लगाइएको थियो।
गत साता माउँगदा शहरनजिकको पहाडी क्षेत्रमा सातजना बौद्धमार्गीलाई घाँटी रेटेर मारिएपछि सुरक्षा व्यवस्था कडा पार्ने उद्देश्यले सेना परिचालन गरिएको हो। बंगलादेशको सिमानानजिकका बुथिदाउँग र माउँगदालगायत थुप्रै शहरमा बिहीबार करिब ५ सय फौज पठाइएको थियो।
म्यान्मारका प्रभावशाली नेतृ आङसाङ सुकीले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। संयुक्त राष्ट्र संघका अनुसन्धानकर्ताहरूले असुरक्षाको कारण म्यान्मारबाट बंगलादेशमा पलायन भएका करिब ७५ हजार व्यक्तिलाई उद्धृत गर्दै सो क्षेत्रका मुश्लिम समुदायमाथि सरकारी फौजले बलात्कार, हिंसा हत्यार र आगजनी जस्ता काम गर्दै आएको जनाएको छ।