अरहान्त र भावनाद्वारा उपाधि रक्षा



 

नेपाल समाचारपत्र
काठमाडौं
डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिंह र भावना सुनुवारले दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जित्दै आफ्नो उपाधिको रक्षा गरेका छन्।

पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१० र ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे। अरहान्तले १८ हजार र अमृतले १० हजार नगद पुरस्कार पाए। महिला सिंगल्सको उपाधि जोगाउन भावनाले फाइनलमा कृष्णा थापालाई ६–११, ११–७, ११–२ र ११–७ को सेटमा हराइन्। भावनाले ११ हजार कृष्णाले ६ हजार नगद पुरस्कार हात पारे।
जुनियर ब्वाइज यु–१५ सिंगल्समा गोपाल थापाले सलिम थापा मगरलाई ११–२, ८–११, ११–३ र ११–३ को सेटमा फाइनलमा पाखा लगाउँदै स्वर्ण चुमे। यसअघि जुनियर ब्वाइज यु–१९ सिंगल्समा अमिर ब्लोन पहिलो भएका थिए।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा इन्द्रबहादुर कार्कीले किशोर महर्जनलाई ११–७, ११–३ र ११–५ को सीधा सेटमा पन्छाए। मास्टर्स ४५ देखि ५४ वर्षको पुरुष सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले प्रज्ज्वलप्रकाश प्रधानलाई ११–५, ११–६ र ११–४ ले पराजित गर्दै पहिलो बने। पुरुष सिंगल्सको प्लेटमा आकाश सुनवारले बाजी मारे। उनले फाइनलमा रत्नकाजी शाक्यमाथि ११–१३, १२–१०, ११–८, ११–१३ र ११–५ को जित निकाले।

प्रतिक्रिया दिनुहोस्