अमेरिका उत्तर कोरियाको शत्रु होइनः टिलरसन



 

वासिङ्टन, (एजेन्सी)
लगातार क्षेप्यास्त्र परीक्षणका कारण स्थिति तनावपूर्ण रहेका बेला अमेरिकाले आफूले उत्तर कोरियामा सत्ता परिवर्तनको उद्देश्य नराखेको जनाएको छ।

अमेरिकी विदेशमन्त्री टिलरसनले उनको देश उत्तर कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताए। उनले भने– ‘हामी तिम्रो (उत्तर कोरिया) शत्रु होइनौं।’

यसैबीच एक जना वरिष्ठ रिपब्लिकन सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको युद्धलाई एक विकल्पका रूपमा लिएको बताएका छन्। पछिल्लो पटक उत्तरकोरियाले परीक्षण गरेको अन्तरमहाद्विपीय क्षेप्यास्त्रले अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्षम रहेको आँकलन गरिएको छ।

टिलरसनले भने– ‘हामी सत्ता परिवर्तन चाहँदैनौं, हामीले त्यहाँको विद्यमान सरकार सत्ताच्यूत होस् भन्ने चाहेका छैनौं, हामी त्यहाँ आफ्नो सेना पठाउन कुनै बहाना बनाउन चाहँदैनौं।’

अमेरिकी विदेशमन्त्रीले भने– ‘हामी तिम्रो शत्रु होइनौं, हामी तिम्रा लागि खतरा पनि होइनौं, तर तिमी हाम्रा लागि अभूतपूर्व तरिकाले खतराका रूपमा देखिरहेका छौं। यसमा हामीले कारबाही गर्नुपर्ने हुन्छ।’

संयुक्त राष्ट्र संघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ। उत्तर कोरियाले गत हप्ता शुक्रबार अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरेको थियो। यो क्षेप्यास्त्रसहित उत्तर कोरियाले यो वर्ष अहिलेसम्म १४ वटा क्षेप्यास्त्र परीक्षण गरिसकेका छन्।

रिपब्लिकन सांसद लिन्डसे ग्राहमले राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरिया आफ्नो क्षेप्यास्त्र कार्यक्रम यसरी नै अगाडि बढिरहेमा दुई देश अमेरिका र उत्तर कोरिया बीच युद्ध छेडिन सक्ने बताएको प्रस्टाएका छन्।

प्रतिक्रिया दिनुहोस्