कान्ति लोकपथमा लापरबाही



सुरेश तामाङ ।
छोटो, भरपर्दो र वैकल्पिक मार्गको रूपमा प्रस्तुत गर्दै कान्ति लोकपथलाई पछिल्लो समय राज्यले बजेटको मात्रा बढाएर ध्यान पुर्याए जस्तो गरे पनि ठेकेदार कम्पनीको लापरबाहीले गर्दा तोकिएको समयमै काम सम्पन्न हुनेमा शंका उब्जेको छ।

ट्र्याक खोलेको ६० वर्ष बित्दा बल्ल बन्न लागेको जस्तो देखिने कान्ति लोकपथको विभिन्न सडक खण्डमा निर्माण व्यवसायीले आफूखुसी काम गर्न थाल्दा तोकिएको समयसीमाभित्र काम सम्पन्न हुनेमा शंका उब्जेको हो। कान्ति लोकपथ सडक योजनाले २०७५ भित्र यो सडक सम्पन्न गरेर सञ्चालनमा ल्याउने समयसीमा तोकेको थियो।

यो सडक बनेपछि दुई घण्टामा काठमाडौंबाट हेटौंडा पुग्ने अपेक्षा

सञ्चालनमा आएमा यस मार्गको प्रयोग गर्दै छिटो छरितो तरिकाले काठमाडौं–हेटौंडा आवत–जावत गर्न सकिने सडक योजनाले जनाएको छ। यदि २०७५ भित्र सडक बनेर सञ्चालनमा आयो भने कान्ति लोकपथ हुँदै काठमाडौंदेखि हेटौंडा २ घण्टामा पुग्न सकिनेछ।

विभिन्न १३ निर्माण व्यवसायी कम्पनीले कान्ति लोकपथमा हाल कालोपत्रे, सडक चौडा गर्ने, पर्खाल लगाउनेलगायतका कामहरु गरिरहेका छन्। तर, काममा भने निर्माण व्यवसायीको मनोमानी बढेको योजनाकै इन्जिनियरहरुले बताएका छन्।

योजनाका एक इन्जिनियरका अनुसार सडक कालोपत्रे गर्नुअघि राम्रोसँग पानी बग्ने कुलोको व्यवस्थान गरिकन कालोपत्रे गर्दा कालोपत्रे भइसकेका धेरैजसो सडकको बीच भागबाट पानी निस्केको देखिएको छ। ‘हामीले भनेकै मान्दैनन् ठेकेदारहरु’, ती इन्जिनियरले भने– ‘सडक कालोपत्रे गर्न असफाल्ट कंक्रिटको कामबाहेक सबै कामहरु आफूखुसी गरिरहेका छन्।’

कालोपत्रे गर्नुअघि पनिकम गुणस्तरको ग्राभेलहरु बिछ्याएको उनले बताए। जसले गर्दा ठाउँ–ठाउँमा कालोपत्रे गरिएको सडक भासिएको छ। उनका अनुसार ठेकेदार कम्पनीलाई समस्या देखिएको टीकाभैरब सडक खण्डमा १ सय मिटर सडक फेरी कालोपत्रे गर्न भनिएको छ। यस सडक खण्डमा गोरे तामाङले ठेक्का पाएका छन्।

योजनाले असारभित्र ललितपुरमा २ र मकवानपुरमा १३ गरी १५ किमि सडकखण्ड कालोपत्रे गर्ने भन्दै असारमै हतार–हतारमा काम थालेको थियो। तर, छिट्टै मनसुन शुरु भएपछि लक्ष्य पूरा हुन सकेन। ललितपुरमा १ र मकवानपुरमा ९ किमि सडक कालोपत्रे भएको छ।

कालोपत्रे भइसकेका अधिकांश सडक खण्डमा कालोपत्रे उप्केको, भासिएको, सडकको बीच भागबाटै पानी निस्केको देख्न सकिन्छ। सडकमा पर्खाल लगाउनुपर्ने ठाउँमा समेत ठेकेदार कम्पनीले ध्यान नदिँदा अधिकांश सडक खण्डमा पहिरो गएको छ।
योजना प्रमुख दवेन्द्र शाहले सडक खण्डमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तरमा सम्झौता हुन नसक्ने बताउनुभयो। उहाँले कान्ति लोकपथमा निर्माण व्यवसायीले मनोमानी गरेको खबर नभएको बताउनुभयो।

यस आवमा करिब ६० करोड योजनालाई छुट्याइसकिएको छ भने हालसम्म योजनाले ८६ करोड खर्च समेत गरिसकेको छ। लोकपथ विस्तार भई सञ्चालनमा आउन योजनाले ३ अर्ब ३७ करोड बजेट लाग्ने अनुमान गरेको छ। हालसम्म ४० प्रतिशत मात्रै काम सकेको योजनाले ललितपुरका दुर्गम दक्षिणीपूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैली परिवर्तन गर्ने विश्वास छ।

मुख्य व्यापारिक नाका वीरगन्जलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने भएकाले वीरगन्ज नाकाबाट नेपाल तथा भारतबीचको व्यापारिक वस्तु तथा सेवा विस्तारमा योगदान पुग्ने आशा छ। कृषि र पर्यटकीय क्षेत्रको विकास भई आर्थिक गतिविधिमा पनि यसले योगदान पुग्ने अनुमान छ।

उत्तर दक्षिण लिंक काठमाडौं निजगढ द्रूतमार्ग र ड्राइपोर्टमा बन्ने एकीकृत भन्सार जाँचस्थल बन्न सक्छ। पूर्व–पश्चिम रेलमार्ग, निजगढ विमानस्थल, सिमरानजिक बन्ने विशेष आर्थिक क्षेत्रमा सहयोग पुर्याउन सक्छ। वीरगन्ज बस टर्मिनललगायतमा यस मार्गले विशेष सहयोग पुर्याउँछ।

लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरब, तीनपाने भञ्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन र मकवानपुरको आलेभञ्ज्याङ, बुद्धचोकसम्म (९० किमि) ३ घण्टामा पुग्ने योजनाको दाबी छ।

कसरी भइरहेको छ काम ?

– हेटौंडाको बुद्धचोकलाई यो सडकखण्डको शुरुआत बिन्दु मानिएको छ भने अन्तिम बिन्दु ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोलाई मानिएको छ।- मकवानपुरतर्फ (कुल ५१ किमि) बुद्धचोक–चुच्चेखोला (७ किमि), चुच्चेखोला–जितपुर (१५ किमि), जितपुर–आलेभञ्ज्याङ (१८ किमि) र आलेभञ्ज्याङ–बाग्मती बगुवापुलसम्म (११ किमि) गरी ४ खण्ड बनाई काम धमाधम भइरहेको छ।

– त्यस्तै, ललितपुरतर्फ बाग्मती बगुवापुल–मासखोला (९ किमि), मास खोला–तीनपाने भञ्ज्याङ (११ किमि), तीनपाने भञ्ज्याङ–टीकाभैरब पुलसम्म (८ किमि) र टीकाभैरब पुल–सातदोबाटोस्थित चापागाउँ दोबाटो गरी चार खण्डमा बाँडेर काम भइरहेको छ।

समस्या उस्तै

– स्थानीयको अवरोध र विवाद कायमै छ।

– जग्गा अधिग्रहण नभएको र अधिकांश सडकखण्डमा अतिक्रमण गरी घर–टहरा बनिसकेका छन्।

– खानेपानीको पाइप, धारा, ट्यांकी, पानीको स्रोत, बिजुली र टेलिफोनको पोल स्थानान्तरण गर्न सकिएको छैन।

– पानीको निकास व्यवस्थापन गर्न सकिएको छैन।- समयमै विस्फोटक पदार्थ पाउन सकिएको छैन।

– चौडा सडक मापदण्डविपरीत- सातदोबाटोदेखि ढोलाहिटीसम्म डेढ किमिमा सडक चौडा गर्दा मापदण्डविपरीत भएको छ। यस सडकखण्डको सडक विस्तार हेर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय ललितपुरको हो।

– सरकारी नियमअनुसार सहरी सडक २२ मिटर चौडा हुनुपर्ने अनिवार्य नियम सरकारले बनाएको छ। तर, यहाँ १७ दशमलव २ मिटर चौडा कायम गर्दै सडक विस्तार गरियो।

– यसअघि निर्माणको ठेक्का पाएको युनाइटेड बिल्डर्स निर्माण कम्पनीले १७ दशमलव २ मिटर कायम गरी सडक चौडाइको काम सकेको थियो।

– केही समयअघि मात्रै यो सडक विस्तार मापदण्डविपरीत भएको भन्दै सडक विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय ललितपुरलाई पत्राचार गर्दै सो सडकखण्डलाई २२ मिटर कायम गरेर चौडाइमा विस्तार गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्