राष्ट्रपतिको चासोपछि के होला पुनर्निर्माण



 

ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले आफैले शिलान्यास गर्नुभएको रानीपोखरी र अन्य सम्पदा पुनर्निर्माण हुन नसकेको विषयमा चासो व्यक्त गर्नुभएको छ। २०७३ साल माघ २ गते रानीपोखरीको पुनर्निर्माण शिलान्यास गर्नुभएकी भण्डारीले रानीपोखरी तत्काल पुनर्निर्माण गर्न आग्रह गर्नुभएको छ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भूकम्पबाट ध्वस्त भएका काष्ठमण्डप, धरहरा, रानीपोखरीलगायतका सम्पदाको निर्माण प्रक्रिया चाँडै थाल्न आग्रह गर्नुभएको थियो। भेटका क्रममा विभागका महानिर्देशक दाहालले २०७५ असारभित्र रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसक्ने जानकारी दिनुभएको थियो। उहाँले काण्ठमण्डप पुनर्निर्माणको विषयमा कामपाले निर्णय गर्ने बताउनुभएको थियो। जनप्रतिनिधि नहुँदा पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डप पुनर्निर्माण अभियानसँग सम्झौता गरेको थियो।

तर अहिले जनप्रतिनिधि निर्वाचित भएको अवस्थामा जनप्रतिनिधिले निर्णय गर्न सक्ने बताउनुभएको थियो। काण्ठमण्डप र रानीपोखरी पुनर्निर्माण गर्न नसकेर आलोचना खेपिरहेको पुरातत्त्व विभागलाई राष्ट्रपतिले कार्यालयमै बोलाएर जानकारी लिनुभएको थियो।

महानिर्देशक दाहालले विश्वसम्पदा सूचीबाट हटाउने तयारी गरेको उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीमा नराख्न नेपालले खेलेका भूमिकाको बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।

रानीपोखरी र काष्ठमण्डप पुनर्निर्माणमा विवाद हुँदै आएको छ। काठमाडौं महानगरपालिकाले रानीपोखरी बनाउने जिम्मा दिए तापनि ठेकेदारले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा मापदण्ड पूरा नगरेको भन्दै विभाग आफैले पुनर्निर्माण गर्न लागेको हो। कामपाले स्थानीयबासी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र विभिन्न सरोकारवालाको सहयोगमा धरहरा र काण्ठमण्डप पुनर्निर्माणको विषयमा छलफल जारी राखेको छ।

महानिर्देशक दाहालले धरहरा पुनर्निर्माण गर्न पुरातत्त्व विभागले ड्रइङ, डिजाइन तयार गरी सम्बन्धित निकायमा पेस गरिसकेको राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। उहाँले सञ्चार र संस्कृति मन्त्रालयमार्फत पुनर्निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी गराउनुभएको थियो।

भूकम्पले ध्वस्त भएका उपत्यकाका सम्पदा क्षेत्रमध्ये काठमाडौंमा सबैभन्दा बढी क्षति भएको थियो। हनुमानढोका दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण हुन ढिलाइ भएर विभागको समेत आलोचना भइरहेको अवस्थामा राष्ट्रपति भण्डारीले विभागका महानिर्देशकलाई बोलाएर जानकारी लिनुभएको हो। विभागले योजनाअनुसार निरन्तर कामकारबाही अघि बढिरहेको जानकारी गराएको थियो। विभागका महानिर्देशक दाहालले नियमित भेटघाटमा विभागले गरेको कामको विषयमा मात्रै छलफल भएको बताउनुभयो।

समय समयमा हुने भेटघाटमा सबै विषयमा छलफल हुनसक्ने उहाँको भनाइ थियो। भेटका क्रममा विभागले हालसम्म भएको प्रगतिको बारेमा जानकारी गराएको थियो। विभागले हालसम्म ४३, विदेशी दातृ निकायको सहयोगमा ६ र भक्तपुर नगरपालिकाले ४ वटा सम्पदा पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ। त्यस्तै ५६ वटा सम्पदा बहुवर्षीय योजनाअनुसार पुनर्निर्माण कार्य शुरु भइरहेको र ३ सय ६३ सम्पदाहरूको अर्को वर्ष पुनर्निर्माण शुरू गरिने जानकारी गराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्