आज सरकार विस्तार हुने



 

रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागवण्डा नमिलेको कारण हिजो मंगलबार मन्त्रिमण्डल विस्तार हुन सकेन। मन्त्री बनाउने विषयमा दुवै समूहभित्रै विवाद उत्पन्न भएको कारण मन्त्रिमण्डल विस्तार कार्य रोकिएको बताइएको छ।

खास गरी पौडेल समूहलाई दिएको चारवटा मन्त्रालयमध्ये बलबहादुर केसी, राजन केसी र रामकृष्ण यादवलाई पठाउने सहमति भए पनि सरिता प्रसाईं र कमला पन्तमध्ये कसलाई पठाउने भन्ने बारेमा विवाद उत्पन्न भएपछि मंगलबार अन्तिम अवस्थामा आएर मन्त्रिमण्डल विस्तार रोकिएको थियो। वरिष्ठ नेता पौडेलले पन्तलाई मन्त्री बनाउन चाहेका थिए भने महामन्त्री शशांक कोइराला प्रसाईंलाई मन्त्री बनाउन चाहन्थे। प्रधानमन्त्री देउवा बिहानैदेखि मन्त्रिमण्डल विस्तारमा जुटे पनि पौडेल समूहभित्रको आन्तरिक विवादले मंगलबार मन्त्रिमण्डल विस्तार हुन सकेन।

कांग्रेसभित्र पौडेल समूहमा विवादले उग्ररुप लिएपछि प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र मन्त्रिमण्डलमा सामेल गर्ने भन्दै मंगलबार साँझ मापदण्ड बनाउनुपर्ने कुरा उठेको थियो। पौडेल समूहबाट बलबहादुर केसी, कमला पन्त र सरिता प्रसाईं तीनै जनालाई हटाई साँझ अबेर यज्ञबहादुर थापा र सञ्जय गौतमलाई मन्त्री बनाउने निर्णय भएको थियो। थापा र गौतम दुवै महामन्त्री कोइराला गुटको भएको बताइएको छ। यो सँगै पौडेल समूहमा महामन्त्री कोइराला पक्षधर हावी भएको चर्चा पनि गरिएको छ। सभापति देउवाका कट्टर आलोचक बलबहादुर केसी सरकारमा नपरेपछि पौडेल समूहलाई धक्का पुग्ने बताइन्छ।

मन्त्रिमण्डल विस्तार गर्ने योजनाका साथ हिजो राष्ट्रपति कार्यालयमा साँझ ५ बजे शपथको तयारी गर्नसमेत भनिएको थियो। सत्ता साझेदार एकीकृत माओवादीले दिउँसो तीन बजे मन्त्री बन्नेको नाम औपचारिक रुपमा प्रधानमन्त्री देउवालाई उपलब्ध गराइसकेको स्रोतले जानकारी दिएको छ। यसअघि कांग्रेसभित्र पौडेल समूहले आफ्नो पक्षले पाउने मन्त्रालय पनि तोक्नुपर्ने र आफूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाहिने बताउनुभएको थियो। यसमा पनि महामन्त्री कोइरालाले असहमति राख्नुभएको थियो। महामन्त्रीले मन्त्रालय तोक्दा गलत सन्देश जाने बताउनुभएको थियो। पौडेल समूहभित्र विवाद बढिरहेका बेला महामन्त्री कोइराला र प्रधानमन्त्री देउवाबीच छुट्टै भेटवार्तासमेत भएको थियो।

आफ्नो पक्षको भागमा चारवटा मन्त्रालय आउने भएपछि वरिष्ठ नेता पौडेलले मंगलबार नै आफूले पाँचवटा मन्त्रालय पाउँदा तपाईंहरू तीनमध्ये एक मन्त्री बन्ने पक्का भन्दै नेताहरू जीवन परियार, धनराज गुरुङ र बद्री पाण्डेलाई समेत आश्वासन दिएको समाचार स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ। पौडेल पक्षले पाउने भनिएको चारवटा मन्त्रालयमध्ये राजन केसी प्रकाशमान सिंह गुटका हुन् भने सरिता प्रसाईं महामन्त्री कोइराला गुटका हुन्।

आज हुने मन्त्रिमण्डल विस्तारमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाको पक्षबाट अम्बिका बस्नेत, मीन विश्वकर्मा, अर्जुन जोशी र वीरबहादुर बलायर मन्त्री बन्ने बताइएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आज बुधबार मन्त्रिमण्डल विस्तार हुने बताउँदै शपथग्रहणको समय तालिकाका बारेमा छलफल भइरहेको बताउनुभएको छ। कांग्रेसभित्र तेस्रो गुटको नेतृत्व गरिरहनुभएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान र अर्का प्रभावशाली नेता खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्री हुने बताइएको छ।

कांग्रेसबाट एक उपप्रधानसहित तीन मन्त्री भइसकेका छन्। जसमध्ये कांग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधान एवं शिक्षा मन्त्रालय सम्हालेका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि हाल श्रेष्ठलाई नै दिइएको छ। ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालय सम्हालेका छन्। कांग्रेस नेता फरमुल्लाह मनसुरलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ। यी तीनै जना नेता प्रधानमन्त्री देउवा पक्षका हुन्।

कांग्रेस सभापति देउवाको नेतृत्वमा रहेको सरकारमा माओवादी केन्द्रले पनि तीन जना नेतालाई मन्त्रिमण्डलमा सामेल गरिसकेको छ। माओवादी नेता कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालय सम्हाल्नुभएको छ भने जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्नुभएको छ। माओवादी नेता प्रभु शाहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिएर देउवा नेतृत्वको सरकारमा सहभागी भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्