वैकल्पिक सडकमार्गको आवश्यकता



 

मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध भई नियमितरुपमा यातायात सञ्चालन हुन नसक्दा सो मार्ग भएर आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । साथै सो मार्ग अवरुद्ध हुँदा चितवनको पर्यटकीय क्षेत्र सौराहामा समेत असर परेको छ । काठमाडौंबाट जाने आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि चितवन पुग्ने अन्य वैकल्पिक मार्गहरु त्यति सहज देखिँदैनन् । त्यसैले अन्य मार्ग प्रयोग गरी आवतजावत गर्नेहरुले पनि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसैले मुग्लिन–नारायणगढ खण्डको विकल्पमा सरकारले अन्य मार्गको पहिचान एवं सुदृढीकरण गर्नुपर्ने टड्कारो आवश्यकता भएको छ । यात्रुहरुलाई सुलभ र सहज यात्रा गराउने सरकारको कर्तव्य मात्र नभएर दायित्व पनि हो ।

नारायणगढ जाने वा सो स्थान भएर अन्यत्र जाने यात्रुहरुको समस्यालाई मध्यनजर गरी बुद्ध एयरले काठमाडौं–भरतपुर दैनिक ८–९ र यति एयरलाइन्सले दैनिक ५–६ उडान गर्दै आएको समाचार छ । साथै सेप्टेम्बर १५ देखि भरतपुर–पोखराबीचको पनि उडान थाल्ने समाचारमा जनाइएको छ । तर हाम्रो जस्तो गरिब मुलुकका धेरैजसो यात्रुका लागि हवाईजहाजको यात्रा पहुँचबाहिरको कुरा हो । आकस्मिकरुपमा एकपटक यात्रा गर्नेहरुले जसोतसो हवाईभाडा जुटाऊलान् तर आवतजावत गरिरहनुपर्ने धेरैजसो यात्रुका लागि हवाई मार्ग ‘आकाशको फल आँखा तरी मर्’ जस्तै हो । हवाई सेवाप्रदायक कम्पनीहरुले जति उडान थपिएको र थप्ने कुरा गरे पनि सर्वसाधारणले काठमाडौं–भरतपुरको हवाई टिकट पाउन नसकेको गुनासो आइरहेको छ । त्यसैले सरकारले सक्दो छिटो सहज वैकल्पिक स्थलमार्गको पहिचान गरी सो मार्गको सुदृढीकरण गर्न थालिहाल्नुपर्छ ।

मुग्लिन–नारायणगढ सडक स्तरोन्नति गर्दा काठमाडौंबाहिरको पर्यटकीय क्षेत्रमा पर्यटनको सम्भावना घटेसँगै त्यहाँको पर्यटन व्यवसाय धराशयी बन्दै गएकोमा सरोकारवालाले समेत आक्रोश पोखेका छन् । हाल सो सडक प्रयोग भएर जाने पोखरा, लुम्बिनी, सौराहा, नेपालगन्जलगायतका पर्यटकीय स्थलमा पर्यटकको गिरावट आएको छ । त्यसैले पनि मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नति सम्पन्न नभएसम्म वैकल्पिक राजमार्ग फर्पिङ–हेटौंडा र हेटौंडा दक्षिणकाली राजमार्गलाई एकतर्फीरुपमा सञ्चालन गर्न सकिन्छ । साथै कान्ति लोकमार्ग, त्रिभुवन राजपथ तथा मलेखु–भण्डारा भएर जाने सडकको प्रयोग गर्न पनि सकिन्छ । सरकारले जति सक्दो चाँडो यस्ता वैकल्पिक मार्गको पहिचान गर्नु नितान्त जरुरी भइसकेको छ । पहिचान भएका मार्गको तुरुन्तै सुदृढीकरण गरी त्यहाँ चल्ने सवारीसाधनलाई समेत व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्