बढ्दो दुर्घटना रोकौं



 

नेपालमा दैनिकजसो दुर्घटनाका खबरहरु आइरहेका हुन्छन्। एक त दुर्घटना आफैंमा हृदयविदारक हुन्छ, साथै दिनहुँ धेरै नेपालीले दुःखद दुर्घटनामा परी अकालमा आफ्नो प्राणको आहुति गर्न बाध्य छन्। कतै चालकको लापरबाही त कतै साँघुरा सडक, दुर्घटनाको कारण जेसुकै भए पनि जसले आफन्त, नातागोता, इष्टमित्र, छोराछोरी, श्रीमान्⁄श्रीमती गुमाएको छ। त्यसको पीडा जीवनभरि नै उनीहरुको मनमा परिरहेको हुन्छ।

जसको काँधमा वृद्ध आमा, बुबा, श्रीमती र छोराछोरीहरुको भविष्यको जिम्मेवारी हुन सक्छ, ऊ त मरेर गयो, उसको परिवार पनि मरेतुल्य नै हुन्छ। जुन परिवारमा यी घटनाहरु घटेका छन्, उनीहरुको भयावह अवस्था हेर्दा पनि कहालीलाग्दो छ। एक त उनीहरु पीडामा हुन्छन्, त्यसमाथि थप पीडा दिने काम गर्छ यो घूसखोरी प्रशासनतन्त्र, पुलिस, कानुन अनि सरकारले। नेपालमा हुने अधिकांश सडक दुर्घटनामा कम उमेरमा सवारीचालक अनुमतिपत्र पाएका ट्यापे, झ्यापे र अत्यधिक मादक पदार्थ अनि लागूऔषध सेवन गरेर अनियन्त्रित ढंगले सवारी चलाउने युवा चालकहरुले गर्दा नै दुर्घटना दिनानुदिन बढ्दो क्रममा छ। मारे पनि के भो त ? भोलिपल्ट व्यवसायी आउँछन्, सेटिङ मिलाइहाल्छन् अनि पैसा पनि इन्सुरेन्स कम्पनीले तिर्ने हो, पुलिसलाई हल्का पैसा दिएपछि मुचुल्का नै बदलिन्छ। अनि, भोलि फेरि त्यो ड्राइभर निस्केर बाहिर गई अर्को परिवारको दियो ननिभाउला भनेर कसरी मान्ने ?

नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारण यही नै हो भने सहायक कारणहरु थोत्रा र चलाउँदा पूरै वातावरणलाई कालो बादलले ढाक्ने गरी धूवाँ आउने सवारीसाधनहरु, दशकौँदेखि स्तरोन्नति हुन नसकेका मिनी तालयुक्त खाल्डाखुल्डी भएका जर्जर सडक, सडकछेउमा बनाएका अव्यवस्थित भौतिक संरचनाहरु आदि हुन्। दुर्घटना आफैँमा दुःखद घटना हो। पीडित परिवार आफैँ पीडामा हुन्छ र ठूलो वज्रपात सहिरहेको हुन्छ। अपत्यारिलो घटनाले ठूला उथलपुथल ल्याएको हुन्छ। यस्तो संवेदनशील घडीमा प्रशासन आफैँ सक्रिय भएर पीडितलाई क्षतिपूर्ति दिलाउनुको सट्टामा आफैँ व्यवसायीसँग मिलेर पैसाको चलखेलमा मुद्दालाई निरीह बनाइदिन्छन्।

क्षतिपूर्ति रकमको लागि लासलाई बन्धक राखेर ढुंगामुढा र चक्काजाम गर्यो भने केही छिटो राहत पाइएला, होइन भने चक्कर लगाउँदा–लगाउँदा आफैँ थाकेर भयो चाहिएन भनी पन्छिनबाहेक अरु कुनै विकल्प रहँदैन। आखिर कहिलेसम्म यो सिलसिला दोहोरिने ? के पीडित परिवारप्रति राज्यको कुनै दायित्व हुँदैन ? हे सरकार। यदि तिमीमा अलिकति पनि मानवीयता छ भने यस्तो कानुन लिएर आऊ जहाँ दुर्घटना गराउने चालकहरुले पनि सजाय पाऊन्, ताकि भविष्यमा फेरि अर्को दुर्घटना नहोस्। पीडित परिवारलाई क्षतिपूर्ति मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारको पनि व्यवस्था होस्। सडक चौडा एवं गति मापन मेसिन लगाएर दुर्घटना न्यूनीकरणतर्फ लागियोस्। होइन भने, दुर्घटनाले अझै विकराल र भयावह अवस्था ल्याउने निश्चित छ।

– राकेश महर्जन, काठमाडौं

राइनो ताल बचाऔं
भरतपुर उपमहानगरपालिका वडा नं. १२ स्थित रामवेल सामुदायिक वन उपभोक्ता समूहको वनको बीचमा राइनो ताल छ। जुन तालको प्रचारप्रसार नहुनु दुःखको कुरा हो। उक्त तालको भरतपुर उपमहानगरपालिकाले प्रचारप्रसार गरेको भए उक्त ताल स्वदेशी तथा विदेशीको नजरमा आस्थाको केन्द्रविन्दु बन्थ्यो। तर, हाल उक्त तालले आफ्नो अस्तित्व खोजिरहेको छ। उक्त तालको साँध–सिमाना कति छ, पर्खाल लगाएर नघेर्नु, तालको बीचका सुकेका रुखहरु नहटाउनु, तालको पूरै भाग जलकुम्भीले ढाक्नु, घाँसैघाँस उम्रनुले ताल हो भनेर जो–कोहीले विश्वास नै गर्दैनन्।

त्यसैले उक्त ताल यहाँका जनता तथा सामुदायिक वन उपभोक्ता समूहसँग असाध्य रिसाएको छ। जिङ्ग्रिङ्ग बूढो हुँदै अब मलाई कसले उपचार गरिदेला र म तन्नेरीरुपमा निरोगी भई सबैलाई आफ्नो चिनारी चिनाउन पाऊँला भनी प्रतीक्षामा बसेको पनि कैयौँ वर्ष भइसक्यो। तर दुःखको कुरा, उक्त बूढो राइनो तालका बारेमा कसैको आँखा पुग्न सकेको छैन। देखेर पनि नदेखेको जस्तो गर्नु, त्योभन्दा दुःखको कुरा अरु के हुन सक्छ र ?

भरतपुरमा विभिन्न संघसंस्था, एनजीओ⁄आईएनजीओ लगायत धेरै सरकारी संघसंस्थाहरु छन्। त्यसमाथि, रामवेल सामुदायिक वन उपभोक्ता समूहले त विशेष गरी संरक्षण गर्नु दायित्व नै थियो। तर त्यस्तो गर्न नसक्नु उसको कमजोरी हो जस्तो लाग्छ। किनकि, उचित संरक्षण गरेको भए उक्त ताल अवलोकन गर्न आउनेहरुको घुइँचो लाग्थ्यो र बर्सेनि लाखौँको आम्दानी गर्न सकिन्थ्यो। अझ, विदेशी पर्यटकहरुलाई निम्त्याउन सके त लाखौँ डलर नेपाल भित्र्याउन सकिन्थ्यो। हाल उक्त ताल व्यवस्थित नभए पनि पिकनिक मनाउनेहरु र सुटिङ गर्न आउनेहरुको त्यहाँ घुइँचो लाग्ने गर्छ।

धेरै वर्षअगाडि ३⁄४ जना मानिस डुंगाबाट खस्दा मृत्यु भएको भनी मलाई स्थानीयले बताएका थिए। म वर्षको एकचोटि काठमाडौँबाट चितवन घुम्न आउँछु। घुम्दै जाँदा यस्तो महत्वपूर्ण ठाउँ ओझेलमा परेको देख्दा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने गरेको छु। आजभन्दा धेरै वर्षअगाडि बीसहजारी ताल घुम्न गएको थिएँ। त्यसबारे ४⁄५ वटा पत्रिकामा लेख पनि छापिएका थिए। हाल बीसहजारी तालको मुहार फेरिएको थाहा पाएँ, सारै खुशी लाग्यो। बीसहजारी तालजस्तै राइनो तालका बारेमा सम्बन्धित निकायले बेलैमा सोचेर काम गर्न नितान्त आवश्यक भैसकेको छ। सम्बन्धित निकायले यसबारे छिट्टै पहल गरोस्।
– सुदीप तिमल्सिना, भरतपुर, चितवन

प्रतिक्रिया दिनुहोस्