जो पाँचै दिनमा बने सेलीब्रेटी



 

प्रशान्त वली, काठमाडौं
मान्छेको जीवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन। त्यस्तै भयो– ५ दिनका लागि दाङ काज खटिएका दुर्गाबहादुर राणाका हकमा पनि। जो काठमाडौंबाट त्यसतर्फ खटिँदा सामान्य हवल्दार थिए भने ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन्। कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार रानाको हो।

असार १४ गते दाङको तुल्सीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रलाई सुरक्षित तुल्याएर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर राना राजधानी फर्किएर आफ्नो नियमित काममा लागिसकेका छन्। उनी चुनावी प्रयोजनका लागि गत असार १० गते महानगरीय प्रहरी पहरागण सामाखुसी काठमाडौंबाट दाङको तुल्सीपुर खटिएका थिए। उनलाई गृहमन्त्री जनार्दन शर्माले फोनसम्पर्क गरी कामको मूल्याङ्कन गर्ने बचन दिएको खबर झन् चर्चामा आयो।

कसरी बम समातेर फाल्ने आँट गर्नुभयो? सोमबार राजधानीमा नेपाल समाचारपत्रले राखेको जिज्ञाशामा उनले भने– ‘प्रहरीले दिएको जिम्मेवारी पूरा गर्न मसहित ६७ जनाको टिम दाङ पुगेका थियौं। र, मलाई तुल्सीपुरस्थित अम्बास मतदान केन्द्रमा खटाइयो। बिहान ९ बजेसम्म केही पनि भएको थिएन। साढे ९ बजेतिर बुथ केन्द्रमै पुग्ने गरी पूर्व–दक्षिण भागबाट बम आयो। त्यस ठाउँमा हुस्सू लागेको थियो। कसले बम फाल्यो भन्ने थाहा हुनै सकेन। बम खस्न लागेको मात्रै देखें। मलाई बमसम्बन्धी सामान्य जानकारी थियो। त्यो सकेट बम रहेछ। जति टाढा फाल्यो उति सुरक्षित भइन्छ भनेर मेरो आत्माले सोच्यो। र, बम हातमा समात्नेबित्तिकै फाल्दिहालें। फालेको २⁄३ सेकेन्डमा निकै ठूलो आवाजले पड्कियो। र, सबैले सहज तरिकाले मतदान गर्नुभयो। समाचारमा सुतली बम डिस्पोज भयो भन्ने कुरा आयो तर त्यो गलत हो। मैले फालेको सकेट बम थियो।’ सुतली बम भन्नाले बाक्लो कपडामा बेरेर राखेको सामान्य प्रकृतिको बम हुन्छ भने सकेट बम फलाम हालेर फिट गरी राखेको कडा प्रकृतिको हुने रानाले बताए।

बम निस्क्रिय भएसँगै आफू निकै खुसी भएको रानाले बताए। गृहमन्त्रीले फोनमा के भने? भन्ने जिज्ञाशामा रानाको भनाइ थियो– ‘मैले बम फालिसकेपछि माओवादी पार्टीका कार्यकर्ताहरु निकै खुसी भएका थिए। र, मलाई हाम्रो पार्टीको नेता गृहमन्त्री हुनुहुन्छ। कुरा गर्ने भनेर सोध्नुभयो। मैले हुन्छ भनें। मेरो मोबाइल अफ थियो। र, उहाँहरुकै फोनबाट मैले गृहमन्त्रीसँग कुरा गरें। गृहमन्त्रीले मलाई ‘साहसी काम गर्यौ, तिम्रो उचित मूल्यांकन हुन्छ भन्नुभयो।’

रानाले थपे– ‘मूल्याङ्कन गर्नुपर्ने हो। गरिन्छ होला। पहिलेभन्दा अरूले मलाई हेर्ने दृष्टिकोणमै प्रहरी अधिकृतहरुमा फरकपन आएको छ। पहिले सामान्य नजरले हेर्नुहुन्थ्यो भने अहिले ए तिमी हौ दुर्गा भन्नुहुन्छ, खुसी लाग्छ।’ घरपरिवारले समेत फोन गरेर साहसी काम गरेको भन्दै बधाई दिएको रानाले बताए। उनले भने– ‘परिवारका तर्फबाट त्यस दिन बेलुकी फोन गर्नुभएको थियो। शुरूमा त झन्डै मर्ने थिइस् किन यस्तो गरेको भन्नुभयो। पछि सबै कुरा भनेपछि बुबा, आमा, पत्नी सबै खुसी हुनुभयो।’

२०३६ साल असार २२ गते सल्यान शारदा नगरपालिका–१ शान्तिनगरमा जन्मिएका राना २०६० सालमा नेपालगन्जबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। रानाका बाबु, आमा, पत्नी, दुई छोरा र एक छोरी छन्। राना जागिरको सिलसिलामा सुर्खेत, नेपालगन्ज, पोखरा, बाग्लुङ, बेनी हुँदै हाल महानगरीय प्रहरी पहरागण सामाखुसीमा कार्यरत छन्।

उनी एक वर्ष अघिसम्म प्रहरी जवान थिए। दाङ घटनापछि कसैले सम्मान गर्यो त भन्ने प्रश्नमा रानाले भने– ‘राम्रो कामको मूल्याङ्कन हुँदो रहेछ। क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जले १ हजार ५ सय रुपियाँ नगदसहित पुरस्कृत गर्ने भनेर जानकारी गराएको छ। प्रहरी पहरागणले गत आइतबार दोसल्ला ओढाएर सम्मान गर्यो।’

 

प्रतिक्रिया दिनुहोस्