जर्मनीमा समलिंगी विवाहलाई मान्यता



म्युनिख, (एजेन्सी)
जर्मनीका विधायकहरूले समलिंगी विवाहलाई मान्यता दिने पक्षमा शुक्रवार स्पष्ट बहुमत देखिने गरी मतदान गरेका छन्। केही दिनअघि मात्र चान्सलर एन्जेला मर्केलले उक्त विषयमा मतदान नगर्ने अडान त्यागेकी थिइन्।

यस नयाँ कानुनअनुसार अबदेखि समलिंगी जोडीले सम्पूर्ण वैवाहिक अधिकार प्राप्त गर्ने र तिनीहरूलाई सन्तान ग्रहण गर्ने अनुमतिसमेत हुने भएको छ। विशेष गरी मर्केलका राजनीतिक विपक्षहरूले यस मामिलामा पूर्ण समर्थन जनाएका छन्।

मर्केलले सोमबार मात्र यस मतदानका लागि सहमति जनाएकी थिइन्। संसद्मा भएको मतदानमा पक्षमा ३ सय ९३ र विपक्षमा २ सय २६ मत खसेको थियो भने ४ जना विधायक अनुपस्थित रहेका थिए। मर्केलले आफूलाई विवाह भनेको पुरुष र महिलाबीच हुनुपर्ने लागेको तर हिजोको मतदानको नतिजाले समाजमा अझै बढी सहिष्णुता र शान्ति बढ्ने आशा गरेको बताएकी छिन्।

सन् २०१३ को चुनावी अभियान दौरान मर्केलले बालबालिकाको हितमा ध्यानमा राखेर समलिंगी विवाहविरुद्ध धारणा राखेकी थिइन्। तर २६ जुनमा विमिन्स म्यागाजिन ब्रिजिटलाई अन्तर्वार्ता दिने क्रममा उनले अन्य पार्टीहरूले यस विषयको समर्थन गर्ने गरेको पाइएकाले यसमाथि मतदान गराउने बताएर सबैलाई आश्चर्यचकित पारेकी थिइन्।

साथै उनले आफ्नै गृहनगरमा एक महिला समलिंगी दम्पती र तिनका आठ जना धर्म सन्तानसँग रात्रिभोज खाएयता आफ्नो जीवन अनुभवमै परिवर्तन आएको पनि बताएकी छिन्। जर्मनीमा हालै गरिएको एक मत सर्भेक्षणले ८३ प्रतिशत जनताले समलिंगी विवाहको पक्षमा रहेको देखाएको छ।

प्रतिक्रिया दिनुहोस्