ताप्लेजुङमा ७१.१ प्रतिशत मत खस्यो



मतपेटिका बोकेर फुङ्लिङ नगरपालिकाको केन्द्रमा ल्याईदै । तस्विर – रविन भट्टराई

रविन भट्टराई, ताप्लेजुङ ।

एक नगरपालिका सहित आठ गाउँपालिका रहेको ताप्लेजुङमा ७१.१ प्रतिशत मतदान भएको छ ।

 

७३ मतदान स्थलका १ सय ५ मतदान केन्द्रमा भएको शान्तिपुर्ण मतदानमा उत्साहजनक मतदान भएको मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले बताउनुभयो । अधिकाँस मतदान केन्द्रमा विहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो भने केहि मतदान केन्द्रमा वर्षाका कारण ८ बजेबाट मात्र मतदान सुरु भएको थियो ।

 

विहानै देखि मतदाता मतदान केन्द्रमा पुगेकाले समयमानै मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बस्नेतको भनाई छ । नौ वटा स्थानिय तहको केन्द्रमा मतगणना हुने भएकाले सबै केन्द्रबाट मतपेटिका गणना केन्द्रमा ल्याउने क्रम भोली सम्म रहने भएकाले बुधबार बेलुका बाटनै सबै स्थनमा मतगणना सुरु हुन नसक्ने उहाँले बताउनुभयो ।

 

चिन सँग सिमाना जोटिएको विकट मानिएको फक्ताङ्लुङ गाउँपालीकाको ओलाङ्चुङगोला, याङ्मा, घुन्सा र ग्याब्लाको मतपेटिका बुधबारनै हेलीकोप्टरबाट ल्याउने प्रयास भए पनि मौषम खराविका कारण याङ्मा केन्द्रको मतपेटिका ल्याउन नसकिएको र बाँकि स्थानको मतपेटिका हेलीकोप्टरबाट तापेथोक केन्द्रमा ल्याईएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताउनुभयो ।

 

हेलीकोप्टर ताप्लेजुङमानै रहेकाले विहिबार विहान मौषमले साथ दिए सो केन्द्रको पनि मतपेटिका ल्याईने उहाँको भनाई छ । ती स्थानमा पनि उत्साहजनक मतदान भएको पाईएको छ ।

ओलाङचुगोलामा १३१, याङ्मा २६, घुन्सामा ६६, र ग्याब्ला २९ जनाले मतदान गरेको निर्वाचन कार्यालयले बताएको छ ।

 

अतिसंबेदनसिल क्षेत्रमा पनि शाक्तिपुर्ण मतदान
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले घोषणा गरेको निषेधित क्षेत्रमा समेत शान्तिपूर्ण रुपमा मतदान भएको प्रमूख जिल्ला अधिकारी नर वहादुर खड्काले जानकारी दिनुभयो ।

 

जिल्लाको ३१ वटा मतदान केन्द्र अतिसंवेदनशिल र २८ वटा मतदान केन्द्रलाई संवेदनशिल क्षेत्रको रुपमा पहिचान गरि सुरक्षा सतर्कता अपनाइएको थियो ।

 

बुधबार भएको मतदानमा महिला÷पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था र जेष्ठ नागरिक, अपाङ, दृश्टिविहीन र गर्मभवती महिलालाई पहिलो प्राथमिकता दिइएकाले मतदानमा समस्या नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यद्यपी अपाङमैत्रि संरचना नभएकाले कतिपय मतदान केन्द्रमा सामान्य समस्या भएपनि सहज तरिकाले व्यवस्थापन गरिएको थियो ।

 

जेष्ठ नागरीकको उत्साह
जिल्लाका अधिकाँश मतदान केन्द्रमा ज्येष्ठ नागरिकको चुनाव मोह उत्साहजनक पाइएको छ । फुङलिङ नगरपालिका–७ का १०२ वर्षीय रत्न बहादुर गुरुङ मतदानका लागि विहानै मतदान केन्द्रमा पुगेर मत दिनुभयो । नाती दीपक गुरुङको साथमा यूवा वर्ष माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गर्नुभयो ।

 

मतदानस्थलमा भेटिएका फुङलिङ नगरपालिका–९ हाङदेवाकी ९३ वर्षीया भिमादेवी कार्कीले मौसम राम्रो भएकाले विहानै मतदान गर्न पाएकोमा खूसी प्रकट गर्नुभयो ।

अर्का ९१ वर्षीय रन बहादुर मादेनले जेष्ठ नागरिकलाई सहज तरिकाले मतदानको व्यवस्था गरेकोमा खूसी लागेको बताउनुभयो । ७० हजार ७ सय ७८ मतदाता रहेको ताप्लेजुङमा ३ सय २३ पदका लागि १ हजार ७ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्