के हो राजपाको पारा ?



 

राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुले सरकार र मुख्य दलले नै आफूहरुलाई निर्वाचनभन्दा बाहिर राखेको आरोप लगाएछन्। जुन दलका लागि पटक–पटक निर्वाचन सारेर हदैसम्मको लचकता अपनाइयो, उसैले बन्देज लगाए भन्दै हिँड्ने ? लाज पचेकाहरु। मलाई राजपाले मधेसी जनताको मतको अधिकारमा कुठाराघात गरेको जस्तो लागेको छ। मतदान गर्ने अधिकार वञ्चित गर्ने गरी राजपाले गरेको आफ्नो कार्यबारे ऊ गम्भीर हुनुपर्छ। अन्यथा राजपालाई मधेसी जनताले नै बहिष्कार गर्नेछन्। निर्वाचनमा आउन भनेको तर ढोकामा ताला लगाएर द्वैधचरित्र देखाएको बताउने उनीहरुको चरित्रमा नै शंका छ। अब मधेसी जनताले बुझिसकेका छन्। राजपा नेपालले यो विषयमा सोचोस्, नत्र एकादेशको कथामा सीमित हुन बेर छैन। राजपालाई मेरो व्यक्तिगत सुझाव।

– राजेश श्रेष्ठ, भक्तपुर

जंगल अतिक्रमणविरुद्ध भक्तपुरको अभियान
भक्तपुरमा राजनीतिक दलहरुको सहयोगमा प्रशासन, वन, प्रहरी, अन्य निकाय र स्थानीय जनताले वन संरक्षण, संवद्र्धन, व्यवस्थापनका लागि वन अतिक्रमण हटाउन गरेको कार्य एकदमै सराहनीय छ। होटल र रिसोर्टहरुले भक्तपुरको नगरकोटको जंगल अतिक्रमण गरेकोले सो हटाउने कार्य राष्ट्रप्रतिको अति राम्रो काम हो। राष्ट्रको प्राकृतिक स्रोत निजी व्यक्तिहरुले नोक्सान र हरण गरेकोमा उनीहरुलाई कानुनको दायरामा ल्याउनै पर्छ।

२०५० सालमा भक्तपुर र ललितपुरको सिमानामा होटल रिसोर्टका नाममा वन नोक्सान गर्नेलाई कडा कानुनी कारबाही गरिएको थियो। आजभन्दा २३ वर्षअघि २०५१ सालमा मकवानपुरको दामनमा पानोरोमा रिसोर्टले जंगल नोक्सान गरेको कसुरमा सो रिसोर्टलाई लगभग १३ लाख जरिबाना र सोही बमोजिम दण्डस्वरुप ६ महिना कैद सजाय भएको स्मरण छ।

राष्ट्रको सम्पत्ति जोगाउने प्रयासमा राष्ट्रसेवक, जनप्रतिनिधि र सर्वसाधारण अघि बढून्। मेरो विचारमा यस काममा बुद्धिजीवी, प्रशासन, प्राविधिज्ञ, सञ्चारमाध्यम र स्थानीयहरुको बढ्दो चासो नेपालका लागि अति सकारात्मक लक्षण हो। धन्यवाद ⁄
– डा. सुरज श्रेष्ठ (प्राकृतिक स्रोत विज्ञ)
नेपालगन्ज

हिमाली जिल्लालाई पनि हेर न
हिमाली र उच्च पहाडी ६ जिल्लाका तत्कालीन ४८ गाविस खाद्य असुरक्षाको उच्च जोखिममा देखिएको खबर समाचारमा आइरहेको छ। खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५, गोरखाका ११, कालिकोटका ३, मुगुका १०, हुम्लाका १० र बाजुराका ९ं गाविसलाई उच्चतम खाद्य असुरक्षित अवस्था (चरण–३) मा वर्गीकरण गरेको रहेछ। ती गाविसमा करिब ८७ हजार १०० मानिस उच्चतम खाद्य असुरक्षित अवस्थामा रहेका र खाद्य तथा गैरखाद्य आवश्यकता पूरा गर्न उनीहरुलाई बाह्य सहायताको आवश्यकता रहेको कुरा पनि बाहिर आएको छ। त्यहाँका स्थानीयले सरकार भएको महसुस गर्ने गरी खाद्य सुरक्षाको ग्यारेन्टी हुन जरुरी छ। भौगोलिक विकटताको सिकार भएको हिमाली जिल्लालाई सरकारले पनि सौतेनी व्यवहार गर्नुहुँदैन।

– रोशन पाठक, भक्तपुर

सडकको वैकल्पिक व्यवस्था गर्नुपर्यो
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा पटक–पटक पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको छ। यो विषयमा सबै जानकार छन्। ठूला–बडा नेताहरु जहाजमा यात्रा गर्छन्। उनीहरुले दुःख झेल्नुपर्दैन। हामीलाई भने पहिरोले निकै तनाव दिएको छ। बिरामी भएर उपचारका लागि काठमाडौं जाँदा बीचबाटोमै मर्ने अवस्था छ। वैकल्पिक बाटोको अभावमा हामीले सास्ती बेहोर्नुपरेको छ।

यो सडकमा सरकारी निकायले झरा टार्ने तरिकाको मात्रै काम गरेको देखिन्छ। बाटो अवरुद्ध हुँदा जाममा परेर हामीले धेरै बिरामीलाई सधैँका लागि बिदा गर्नुपरेको तितो सत्य पनि छ। बर्सेनि करोडौं करोड रकम खन्याए पनि यो सडक सुधार भएको छैन। यस विषयमा नयाँ खालको दिगो योजना ल्याएर काम थाल्नु जरुरी छ। यासमा छिट्टै ध्यान जाओस्।

– सोहम सुनार, बर्दिया

प्रहरी प्रशासन सुधारियोस्
नेपाल प्रहरीले आफ्नो काम आफ्नै पाराले गर्न नपाउँदा अराजकता बढेको छ। सुरक्षा व्यवस्थालाई आन्तरिकरूपमै बलियो बनाउन आवश्यक पर्ने सुरक्षा प्रणालीको विकासमा भन्दा प्रहरी सेवाको फैलावट र दंगदंगीलाई दुरुपयोग गरी अस्वाभाविक शक्ति आर्जन गर्ने दुराशययुक्त भावनाबाट प्रेरित भएको छ अहिलेको प्रहरी सेवा। प्रहरीको हित र संरक्षणभन्दा अपराधीको हित र संरक्षणमा आफ्नो हित जोडिएकाले नै प्रहरी प्रशासन चलाउने मौका पाउँदा यो समस्या सिर्जना भएको छ।

निष्पक्षरुपमा प्रहरीले काम गर्न नपाउनु अर्को समस्याको रुपमा छ। प्रहरी संगठनमा व्यवसायीकरणको मुद्दालाई प्राथमिकतापूर्वक स्थापित नै नगरिएका कारण यो क्षेत्र कमजोर बनेको छ। इमानदार प्रहरीहरु पटक–पटक आन्तरिक कारबाहीमा पर्ने र सरुवाको सिकार हुने गरेका छन्। यस विषयमा मेरो धारणा यति मात्रै हो कि प्रहरीको प्रशासन सुधार्नु जरुरी छ।
– ऋषिराम पन्थी, बनेपा

अब यही देशमा केही गर्ने हो

मैले दुईवटा विषयमा डिग्री हासिल गरेको छु। मलाई अहिले जागिरको आवश्यकता छ। म निकै दुःख पाएको मान्छे पनि हुँ। मलाई मेरो पढाइको दयासमेत लागेर आएको छ। यतिका वर्षको लगानी खेर गएको देखेर म एक्लै टोलाउने समेत गर्दछु। मलाई मेरो रहरले पिरोल्छ, राम्रो जागिर खाने। म मध्यम परिवारको मान्छे भए पनि मेरो घरमा खेती किसानीले वर्षभरि खाएर अन्य खर्च बचाउन पुग्छ। तैपनि मलाई यो देशमा कुनै जागिर खाने रहरले साह्रै सतायो।

केही समयपछि यी सबै कुराले मोड लियो। यहाँ त केही हुँदैन, अब त विदेश गएर पो पैसा कमाइन्छ भन्ने भयो। मैले विदेश जाने सुर गरें। केही समयपछि एकजना विदेश गएर कुकुरले नपाउने दुःख पाएर फर्केको साथीसँग भेट भएपछि मात्र मैले आफैं केही गर्ने सोच बनाएँ। अहिले मैले आफ्नै व्यवसाय सञ्चालन गरेको छु। पाँचजना कर्मचारी पालेको छु। परम्परागत खेती किसानीलाई आधुनिकीकरण गरेर मैले यति प्रगति गर्न सफल भएको हुँ। मैले आधुनिक ढंगले पशुपालनलाई समेत स्थान दिएको छु। मै सबै य्ुवालाई यही देशमा केही न केही गरेर स्वरोजगार हुन अनुरोध गर्छु।
– यज्ञ शर्मा, स्याङ्जा

प्रतिक्रिया दिनुहोस्