सिक्किमस्थित नाथुला पास नाकामा चीन–भारतबीच सैन्य तनाव



 

बेइजिङ, (एजेन्सी)
चीन र भारतबीच पुनः एकपटक सीमा विवाद उठेको छ। चीनले भारतमाथि सिक्किम र तिब्बत जोड्ने नाथुला पासमा आफ्नो भूमिमा घुसपैठ गरेको आरोप लगाएको छ।

चिनियाँ अधिकारीहरुले सीमामा तैनाथ भारतीय जवानहरुले चिनियाँ सीमामा हुने गरेका सामान्य गतिविधिहरुमा बाधा पुर्याएको बताएका छन्। अधिकारीहरुले भारतसँग आफ्नो सेना तत्काल नाथुला पासबाट फिर्ता गर्न भनेका छन्।

यसैबीच भारतले पनि हालैमात्र चिनियाँ सैन्य दस्ता घुसपैठ भएको आरोप लगाएको थियो। तिब्बतका हिन्दू तथा अन्य धार्मिकस्थलको यात्राका लागि भारतीय नाथुला पासको मार्ग प्रयोग हुँदै आइरहेको छ। यस इलाकामा दुवै देशबीच १९६७ मा झडप भएको थियो। त्यतिबेलादेखि नै यहाँ तनाव उत्पन्न भइरहन्छ।

ताजा घटनाक्रमलाई हालैका वर्षमा दुई देशबीच भएको सबैभन्दा गम्भीर विवादका रुपमा लिएको छ। चिनियाँ अधिकारीहरुले यसबाट शान्तिको वातावरण खतरामा पर्न सक्ने चेतावनी दिएको रोयटर्सले जनाएको छ।

चिनियाँ रक्षा मन्त्रालयले भारतमाथि एउटा सडक निर्माणमा बाधा पुर्याएको आरोप पनि लगाएको छ। चीनले उक्त सडक उसको सीमाभित्रै रहेको बताएको छ।

भारतीय सञ्चारमाध्यमले हालैका हप्तामा सीमामा दुवै देशका सैनिकबीच तनावको स्थिति रहेको, चिनियाँ सैनिक कथितरुपमा सिक्किममा सीमा पार गरी आएको र भारतीय सेनाका दुई अस्थायी बंकर ध्वस्त पारेको जनाएको छ।
यसअघि चीनले सिक्किम भएर कैलाश मानसरोवरको यात्रा गर्ने उक्त मार्ग बन्द गर्ने फैसला गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्