शेयर ओरालोमा



 

रोबिन पौडेल, काठमाडौं
दोस्रो चरणमा हुन लागेको स्थानीय निकायको चुनावको अघिल्लो दिन नेप्से परिसुचकमा गिरावट आएको छ। लगातार तीन दिन बढेर सुधारको संकेत देखाएको नेप्से परिसूचक साताको तेस्रो दिन भने २ दशमलव ६३ अंकले घटेको हो।
परिसूचक गत साताको अन्तिम दुई दिन तथा आइतबार सकारात्मक देखिएको थियो। सार्वजनिक बिदा परेकाले सोमबार भने शेयर कारोबार भएको थिएन। मंगलबार शेयर बजार परिसूचक १ हजार ५ सय ६७ दशमलव ७२ बाट शुरू भई १ हजार ५ सय ६५ दशमलव शून्य ९ को बिन्दुमा आएर रोकिएको हो।

परिसूचक ओरालो लागेसँगै मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार शेयर बजारमा १ सय ५१ कम्पनीका १० लाख २८ हजार ७ सय ५० कित्ता शेयर ६१ करोड ९१ लाख ३४ हजार ६ सय ३९ रुपियाँमा कारोबार भए।
कारोबार रकम आइतबारभन्दा १६ दशमलव ३ प्रतिशतले कम हो। आइतबार बजारमा ७३ करोड ९४ लाख ४१
हजार ३ सय ३५ रुपियाँको कारोबार भएको थियो।

परिसूचक नकारात्मक हुँदा मंगलबार कारोबारमा आएका ८ मध्ये ५ समूहका परिसूचकमा रातो रङ पोतिए। घट्नेमा जलविद्युत समूह सर्वाधिक ९ दशमलब ७६ अंकले घट्यो। त्यस्तै वित्त समूह ६ दशमलब ७८, उत्पादनमूलक समूह ५ दशमलब शून्य ४, बैंकिङ समूह ३ दशमलब ४७ र होटल समूह ३ दशमलब ४ अंकको गिरावट आए।

मंगलबार बीमा समूहमा सबैभन्दा धेरै ५ दशमलब ४२ अंकको सुधार आयो। त्यस्तै विकास बैंक र अन्य समूह पनि क्रमशः शून्य दशमलब ५९ र शून्य दशमलब २९ अंकले बढे।

मंगलबार सबैभन्दा धेरै हिमालयन जनरल इन्स्योरेन्सको कारोबार भयो। कम्पनीका ३० हजार ५ सय ८२ कित्ता शेयर ५ करोड १४ लाख ५३ हजार ६ सय ८४ रुपियाँमा कारोबार भए। कारोबार रकमका आधारमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र स्ट्यान्डर्ड चार्टर्ड बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

आइतबारको कारोबारमा सबैभन्दा धेरै कमाउनेमा राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ता रहेका छन्। कम्पनीको शेयर मूल्य ६ दशमलव शून्य ९ प्रतिशतले बढ्दा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ६७ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्