आवश्यक परे हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने निर्णय



नेपाल समाचारपत्र, बैतडी ।
यही असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा सर्वपक्षीय बैठक आज सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत,निर्वाचन आयोगले खटाएको अनुगमन समितिका संयोजक, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बैठकमा चुनावको सुरक्षा व्यवस्था पूर्ण तयार भएको जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

यस्तै निर्वाचनको दिन सवारी व्यवस्थापनका लागि दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा मेयर, उपमेयरका उम्मेद्वारका साथै वडा अध्यक्षहरुलाई पनि सवारी पास दिने र अन्य स्थानीय तहको हकमा प्रमुख तथा उपप्रमुख पदका उम्मेद्वारहरुलाई मात्र सवारी पास दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

चुनावका दिन स्थानीय प्रशासनबाट सवारीपास लिएका सवारी साधन मात्रै सञ्चालनमा ल्याइने र सवारी पास नलिइ कसैले सवारी साधान सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइ कानुन अनुसार कारवाही गर्ने निर्णय समेत भएको छ । यस्तै मौन अवधि शुरु भएकाले मौन अवधिको पूर्ण पालनाका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । मौन अवधि तथा निर्वाचन आचारसंहितको पूर्ण कार्यान्वयनका लागि सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

यस्तै मतदान सम्पन्न भइसकेपछि केही स्थानका मतपेटिकाहरु हेलिकोप्टरबाट ढुवानी गर्ने अवस्था आएमा हेलिकोप्टरमा एजेण्टहरुका लागि ठाउँ नहुने भएकाले एजेण्टबिना हेलिकोप्टरबाट मतपेटिका ढुवानी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

झुलाघाट नाकामा आवतजावत बन्द

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आजदेखि भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा आवतजावत बन्द गरिएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सीमा नाकामा आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो ।

भारतसंग सीमा जोडिएको नाकाबाट चुनावी सुरक्षालाई प्रभाव पार्न सक्ने गतिविधि हुन सक्ने भन्दै सीमानाका बन्द गरिएको हो । आजदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्