युरोपली संघ शिखर सम्मेलन, बेलायती प्रधानमन्त्री मेको कदम राम्रो भएको मर्केको प्रतिक्रिया



 

बर्लिन, (एजेन्सी)
जर्मन चान्सलर एन्जेला मर्केलले ब्रक्सिटपछि युरोपियन युनियनका नागरिकको अधिकारको सुरक्षाको पहल बेलायतको राम्रो कदम भएको बताइन्।

यद्यपि मर्केलले ब्रेक्जिटसँग जोडिएका अहिले पनि थुप्रै प्रश्नको जवाफ प्राप्त गर्न बाँकी नै रहेको बताएकी छिन्। यस मामिलामा अहिले नै धेरै काम गर्नुपर्ने बाँकी नै रहेको उनले बताइन्।
बिहीबार बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ब्रसेल्समा ईयू शिखर सम्मेलनका क्रममा ब्रेक्सिटसँग जोडिएका बेलायतको प्रस्ताव सार्वजनिक गरेकी थिइन्। प्रधानमन्त्री मेले विगत ५ वर्षदेखि बेलायतमा बस्दै आइरहेका युरोपेली संघका प्रवासीले बेलायती नागरिकको दर्जा पाउने बताएकी थिइन्। हालको अवस्थामा बेलायतमा रहेका ईयूका ३२ लाख नागरिकलाई यो दर्जा प्राप्त हुनेछ।

ती नागरिकले बेलायतमा बस्न पाउने, स्वास्थ्य सेवा हासिल गर्न सक्नेसहित शिक्षा तथा अन्य धेरै प्रकारको सुविधा पाउनेछ। प्रधानमन्त्री मेले विगत ५ वर्षदेखि बेलायतमा बस्दै आइरहेका युरोपेली संघका नागरिकले पूरा अधिकार पाउने प्रस्ट पारेकी छिन्। मर्केलले यो बेलायतको तर्फबाट राम्रो शुरुआत भएको प्रतिक्रिया दिएकी छिन्।

मर्केलले अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै वित्तीय मामिलामा र आयरल्यान्डसँगको सम्बन्ध कस्तो हुन्छ भन्ने विषयमा स्थिति प्रस्ट गर्नु आवश्यक रहेको बताइन्।

चान्सलरले अक्टोबर महिनासम्मका लागि अहिले धेरै कार्य गर्न बाँकी रहेको बताइन्। युरोपेली संघ शिखर सम्मेलनमा ब्रक्सिट मुख्य केन्द्रित विषय नभएको बताउँदै यस विषयमा अलग छलफल हुने बताइन्।

सम्मेलनमा ईयू देशहरूमा रहेका करिब १२ लाख बेलायती नागरिकको अधिकारमा पनि कुनै कटौती नहुने भनिएको छ। यस शिखर सम्मेलनमा बेलायती प्रधानमन्त्रीले ईयूका २७ देशलाई यस मामिलामा आश्वस्त पार्नुपर्नेछ। मेले कसैलाई पनि कुनै पनि ठाउँ छोडेर जान बाध्य नहोस् भन्ने आफूले चाहेको बताइन्।

बेलायतलाई सन् २०१९ मार्च ३० सम्ममा युरोपेली संघबाट अलग्ग हुनुपर्नेछ। ईयू शिखर सम्मेलनको अन्तिम दिन पलायन, सुरक्षा र आर्थिक मुद्दामा केन्द्रित रह्यो। यो सम्मेलनमा आतंकवाद पनि महत्त्वपूर्ण मद्दा रह्यो। हालैका दिनमा युरोपेली संघका थुप्रै देशमा कट्टरपन्थी आक्रमण भएका छन्।

प्रतिक्रिया दिनुहोस्